शौचालय जान घण्टौं लाइन

ताप्लेजुङ कारागार
कारागार क्षमता २५ जना, कैदीबन्दी १३८
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ कारागारमा स्थापना पछिकै सबैभन्दा धेरै कैदीबन्दी यसपालि भएका छन्  । कारागारको क्षमता २५ जना भएको मंगलबारसम्म १ सय ३८ कैदीबन्दी भएको जेलर धनीराम चौधरीले बताए  ।

चौधरीका अनुसार अहिलेसम्मको तथ्यांकले यो संख्यालाई जेल स्थापनापछिकै सबैभन्दा बढी देखाएको छ । यो १९९२ सालमा बनेको कारागार हो । अहिले कैदी ८९ र थुनुवा ४९ जना छन । कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, डाका, चोरी, लागुऔषध खैरो हिरोइन, जिउ मास्ने बेच्ने, बैदेसिक रोजगार, सवारी ज्यान अंगभंगमा जेल सजाय तोकिएका र अभियोग लागेका छन् ।

हाडनाता करणी, हातहतियार खरखजाना, विस्फोटक पदार्थ, सार्वजनिक अपराध मुद्दामा बैंकिङ कसुर, बहुविवाह, आगजनी, ठगी, गौवध अभद्र ब्यवहार, अपहरण तथा शरीरबन्धक मुद्दाका पनि छन् । सबैभन्दा बढी जबरजस्ती करणीका छन् । यो मुद्दाअन्तर्गत ४० जना रहेको कारागार शाखाले जनाएको छ । २१ जना कैदी र १९ थुनुवा यो मुद्दा अन्तर्गतका छन् ।


कारागार शाखाका अनुसार असोजदेखि कैदी र थुनुवाको संख्या अत्यधिक बढेको हो । ‘डिएसपी (प्रहरी नायव उपरीक्षक) सञ्जयसिंह थापा सरुवा भएर आएपछि भरिन थालेको कारागारमा अहिले त इतिहासै कायम भयो,’ धनिरामले थपे, ‘भित्र त हिडडुल गर्न पनि कठिन जस्तै छ ।’

संख्या बृद्धि भएपछि खाटहरू थपिदिएको र सुत्ने ठाउँ केही फराकिलो बनाइदिएको चौधरी बताउँछन् । खानेपानी, शौचालय र खेलमैदानको भने समस्या रहेको छ ।


‘पहिला जस्तो सहज हुने त कुरै भएन,’ चौधरीले भने, ‘शौचालयका लागि लाइन लागेर पालो मिलाएर गर्नुपर्छ पानी पर्याप्त मात्रामा छैन र खेलमैदान साँघुरो भएको छ ।’ संख्या ठुलो भएर पनि कारागार भित्रको वातावरणभने शान्तपूर्ण रहेको उनले दाबी गरे । ‘झै–झगडा केही पनि छैन, उहाँहरूले पाउने सुविधा सबै हामीले उपलब्ध गराएका छौं,’ चौधरीले थपे, औषधिभने बजेटले नपुगेर बाँकी चलाउनु परेको छ ।’


कारागारमा अहिले अदालतबाट मुद्दा फैसलापछि फरार भएकाहरू आएका छन् । प्रहरीले ज्यान मारेर १० वर्षदेखि फरार रहेकालाई पनि पक्राउ गरेको छ । फरारको संख्या अझै धेरै रहेको अदालतको तथ्यांकले देखाउँछ । यहि अनुपातमा पक्राउ परिरहे यहाबाट बाहिर पठाउनै पर्ने अवस्था आउने कारागार शाखाको बुझाइ छ । महिलाका लागि राख्ने ठाउँ नभएकाले ताप्लेजुङमा मुद्दा चलेका ५ जना पाँचथरको फिदिम कारागारमा छन ।


यो संख्या घट्ने सम्भावना कम रहेको चौधरी बताउँछन् । प्रकृयागत रुपमा जेठ महिनामा छुट्ने एकजना मात्रै छन । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिने माफी मिनाहाका लागि ४ जनाको सिफारिस गरिएको छ । यही संख्यालाइ आधार मानेर ५ जना छुटे जेठ महिनाभरी कारागारमा १ सय ३३ जना हुनेछन । तर जिल्ला प्रहरी कार्यालयका अनुसार हिरासत अहिले पनि भरिभराउ छ । तीमध्ये कतिपयको कारागार चलानको सम्भावना रहेकाले संख्या अझै बड्ने देखिएको छ । कर्तब्य ज्यानका ३६ जना छन् ।


३० जना कैदी र ६ जना थुनुवा । कारागारभित्र तीनवटा मात्रै शौचालय छ । बिहान ५ बजेदेखि १० बज्दासम्मै शौचालयमा लाइनमा बस्नुपर्ने कैदीबन्दीको गुनासो छ । उनीहरूलाई राती बाहिरबाट ताला लगाएर कारागार भित्रको भवनमा राखिन्छ र बिहान उज्यालो भएपछि मात्रै ढोका खुला हुन्छ । एकजना सुत्ने खाटमा तीन जनासम्म सुत्ने गरेको कैदीहरू बताउँछन् ।


त्यसमा नअटाएर भुइमा ओछ्यान लगाएर धेरैले सुत्ने गरेका छन । मानव अधिकारवादी तथा सरकारी निकायबाट पनि बेलाबेला कारागारको अनुगमन हुनेगरेको छ । यस्लाइ सुधार्न उनीहरूले सुझव दिने गरेका छन । तर सुधारभने भएको छैन । ताप्लेजुङा फुङलिङ नगरपालिका २ मा कारागारको साढे ७ रोपनी जमिन रहेको छ । तर अहिलेसम्म बनाउने विषयमा कुनै जानकारी प्राप्त नभएको कारागार शाखाले जनाएको छ । कैदीबन्दीलाई कडा गर्ने ब्यवस्थापनको विषयमा सरकारको ध्यान नपुगेको अधिकारकर्मीहरू बताउँछन् ।


यहाँको पर्खालपनि जिर्ण बनेको छ । वैशाख १२ गतेको भूकम्पपछि यो कारागारको पर्खाल २ पटक भत्किसकेको छ । ४० मिटर लामो पर्खाल भत्किएपछि काँडा लगाएर कैदीबन्दीलाई राखिएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

ढुवानी महँगो

कान्तिपुर संवाददाता

संखुवासभा — अरुण नदीमा पुल नहुँदा उपभोग्य सामान ढुवानीमा समस्या भएको छ  । यसले गर्दा महंगो भाडा तिरेर ढुवानी गर्नुपरेको व्यवसायीले बताएका छन्  ।

ढुवानी गरिएका सामान पुल वारपार गर्न भरियालाई महंगो मूल्य तिर्नुपरेको भोजपुर बुम्लिङटारका होटल व्यवसायी तारा थापाले बताइन् । ‘महँगो त छँदै छ, उनले भनिन्, ‘मनपरी भाडाले ढाड सेकेको छ ।’


पक्की पुल हुने हो भने घरमै सामान आइपुग्ने अवस्था छ । अहिले नदी तार्न मात्र खाँदबारीदेखि हेलुवाबेसीसम्मको दोहोरो भाडा तिर्नुपर्ने बाध्यता छ । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र संखुवासभाका सर्वसाधरणले सास्ती भोग्दै आएका छन् ।

संखुवासभाको हेलुवाबेसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुादा समस्या भएको हो । झोलुंगे पुलको सहायतामा दुई जिल्लाका स्थानीय आउजाउ गर्छन् । सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका दैनिक उपभोग्य सामग्री भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन् ।


झोलुंगे पुलको वारीपारी सडक समेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ । भोजपुरको बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर, पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिाडेका यात्रुहरू पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नुपर्ने बाध्यता छ । संखुवासभाको सिलिचोङ गाउापालिकाका स्थानीय पनि यहीँ पुलबाट हिँड्नुपर्छ । अरुण पारिको गाउँपालिका भनेर चिनिने साबिक बाला, शिसुवा, ताम्कु, माङ्तेवा र याफु गाबिसका स्थानीय सडक सञ्जालले जोडिए पनि पक्की पुल नहुँदा समस्या उस्तै छ ।


अध्ययनको क्रममा खाँदबारी बस्दै आएका शिसुवाकी कल्पना राई घर जाँदा हेलुवाबेशीमा अलपत्र पर्ने गरेकी बताउँछिन् । ‘खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेशी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउादा हेलुवाबेशीमा नै बस्नु पर्छ’ उनले भनिन्, ‘पुल बनेको भए घरैसम्म पुगिने थियो ।’


माङ्तेवाका जयकुमार राई सदरमुकाम खाँदबारीबाट गाउँसम्म जाने सडक जोड्न ३ बर्षअघि कम्मर कसेर लागिपरेको सम्झन्छन् । स्थानीयको श्रमदान र स्थानीय निकायको सहयोगमा उनीहरूले ७ किमि सडक पनि खन्ने काम गरेको बताए ।

तर, सडक खनेको ३ बर्ष भइसक्दा पनि उनको मोटर चढ्ने रहर पुरा भएको छैन । ‘घरछेउमै सडक खनेर त लगियो तर, पुल नभएपछि यातायातका साधन ल्याउन सकिरहेका छैनौ’ उनले भने, ‘सडकमा लगानी गरेको श्रम र पसिना त्यसै खेर गयो ।’ उनीहरूले ३ बर्षअघि ७ किमि सडक खनेका थिए । सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक खनिए पनि अरुण नदीमा झोलुंगे पुल भएकाले प्रयोग विहीन भएको उनले बताए ।


शिसुवाखोला, बाला, ताम्कु र माङ्तेवा तथा भोजपुरको कुलुङ, चौकीडाँडा, खाटम्मा हुँदै सदरमुकाम जोड्ने सडक खनिएको हो । पक्कि पुल निर्माण नभएसम्म सडकमा गाडी कुदाउन नपाउने भयौ, उनले भने, पक्की पुल निर्माणका लागि सदरमुकाम धाएको धायै छौ ।


तीन वर्षअघि नै हेलुवाबोशीदेखि माङ्तेवा हुँदै ताम्कुसम्म जाने सडक खन्न थालिएको र अघिल्लो बर्ष नै माङ्तेवासम्म सडक पुगिसके पनि त्यसको कुनै प्रयोग हुन नसकेको उनले बताए । ‘सडक आफ्नै गाउँसम्म आईपुगे पनि सवारी साधन ल्याउन अरुण नदी बाधक बन्यो’ उनले भने, ‘पुल बनाउन सके यहाँ उत्पादीत कृषि उपजले बजार पाउने थियो ।’


‘खाँदबारी बजारसम्म यहाँका सामग्री लगेर बेच्ने हाम्रो सपना अधुरै भयो,’ माङ्तेवा जौलेटोलका कृषक पार्वती कुलुङले भनिन्, ‘स्थानीय निकाय र सडक विभागले छिट्टै पुल निर्माण गरिदिनु पर्‍यो ।’ सडक निर्माण गरिए पनि अरुणमा अनिवार्य पुल बनाउनुपर्ने हुँदा स्थानीय राजनीतिक दलले महत्वपुर्ण भुमिका खेल्नुपर्ने हेलुवाबेसी–ताम्कु सडक निर्माण समितिका पूर्वअध्यक्ष बालकिशोर कुलुङले बताए ।

‘यो बर्ष सडक ताम्कु गाविससमेत पुग्ने छ,’ उनले भने, ‘सडक निर्माण गरेर मात्रै के गर्ने ? अरुणमा पुल बन्ने टुङ्गो छैन ।’ स्थानीयको मागलाई ध्यानमा राखेर अरुणमा पक्की पुल निर्माणको योजना समेत ल्याइएको छैन । पुल बनाउने कुरामा योजना नहुँदा अस्थायी विकल्पको रूपमा फेरी सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको भोजपुर साल्पाशिलिछो गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्