आधा दर्जन पुल अलपत्र

पुलकै कारण जिल्लाको विकासमा असर परेकाले ठेक्का लिएर काम नगर्नेलाई कानुनी कारबाही गर्न पहल थालिने भएको छ
डम्बरसिं राई

खोटाङ — जिल्लास्थित अधिकांश सडक पुलहरू अलपत्र परेका छन्  । राष्ट्रिय गौरवका आयोजना लगायत अन्य सडक पुल अलपत्र परेका हुन्  ।

आधा दर्जन पुल अलपत्र

सगरमाथा लोकमार्गकै फोक्सिङटारस्थित सुनकोसी पुलको काम अझै सकिएको छैन । गौरी पार्वती कन्स्ट्रक्सनले २०७१ चैतमा चार वर्षभित्र सक्ने गरी सम्झौता गरेको थियो ।


करिब १८ करोडको लागतमा सकिनु पर्ने उक्त पुलका फाउन्डेसनको काम पनि सकिएको छैन । उक्त निर्माण कम्पनीका अध्यक्ष रामकुमार थापाले भने डिजाइन स्वीकृत गर्नै ढिलाइ भएकाले काममा पनि ढिलो भएको दाबी छ । थापाले अर्को चैत–वैशाखभित्र काम सक्ने बताए ।


‘डिजाइन स्वीकृतिमै समय लाग्यो’ थापाले भने ‘त्यसमाथि पनि गहिरो नदी, चट्टान फेला पर्नुका साथै भनेको बेला प्राविधिक उपलब्ध नहुँदा समस्या भएको हो ।’ थापाले थपे–‘तै पनि आउने चैत–बैशाखसम्ममा काम सकिन्छ ।’

त्यस्तै उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित सडक पुलको काम पनि अपूरै छ । उक्त पुलको अवधि आगामी असारमा सकिने भए पनि करिब १५ प्रतिशत मात्र काम भएको छ । अहिले यो पुल निर्माणको काम रोकिएको छ । करिब २२ करोडको लागतमा सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण सेवा कम्पनीले सम्झौता गरेको थियो । उक्त सडक पुल अब अझै डेढ वर्ष लाग्ने निर्माण कम्पनी सम्बद्ध जयराम लामिछानेले बताए ।


साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बीचमा पर्ने तावाखोलास्थित सडक पुलको काम वर्षादो मुखैमा भर्खरै सुरु भएको छ । पूर्वाधार विकास विभागको करिब साढे चार करोडको लागतमा बन्नुपर्ने पुल भर्खरमात्र सुरु भएको हो । २०७५ बैशाख २१ गते १८ महिनामा सक्ने गरी नेश्नल महावीर सिद्धिसाई जेबी कम्पनीले संझौता गरेको थियो । अब यो पुल निर्माणको अवधि छ महिना मात्र बाँकी छ ।

यसबारेमा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदा समेत अटेर गरेको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले सुनाए । अब पनि काम नगरे ठेक्का लिने कम्पनीलाई कारबाहीको प्रक्रियाका लागि सरकारलाई अनुरोध गर्ने अध्यक्ष खडाले बताए । पुल निर्माणको पेटी ठेक्का लिएका खोटाङका निर्माण व्यवसायी कर्ण खत्रीले भने बेलामा सम्झौता नहुँदा काममा ढिलाई भएको दाबी गरेका छन् । संझौताको एक वर्ष बित्दा काम सुरु गरिएकाले बहाना मात्र भएको साकेला गाउँपालिका अध्यक्ष खडकाको भनाइ छ ।


मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डमा पनि सडक पुलहरू अलपत्रै छन् । यस सडक खण्डमा आठ वटा पुलमध्ये दुईवटा मात्र सकिएको छ । आठमध्ये चारवटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । चारमध्ये कालिखोला र लप्से खोलाको सकिएको छ । दाम्दे र साप्सुखोलाको पुल पनि अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । यो सडक खण्डमै पर्ने भुल्के खोला पुलको ठेक्का लागे पनि काम हुन सकेको छैन ।

धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भन्दै केही तल्तिर सार्न स्थानीयले माग गरेपछि ढिलाइ भएको निर्माणमा संलग्न कृष्णप्रसाद घिमिरेले बताए । उक्त पुलको ठेक्का सगरमाथा घिमिरे निर्माण सेवाले लिएको हो । यो पुल निर्माणअवधिभित्रै सकिने घिमिरेले सुनाए । यो सडक खण्डमै पर्ने भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन । फोक्सिङटार, धाप्लाङघाट लगायतका अन्य पुलहरू नबन्दा जिल्लाको विकासले समेत गति नलिएको स्थानीयको गुनासो छ ।


जिल्लामा हुने विकास निर्माणका लागि तराईबाट सामग्री ल्याउन समस्या भएकाले सगरमाथा लोकमार्गमा पर्ने सडक पुल विकासको बाधक बनेको हो । स्थानीयले भने ठेक्का लिएर योजनाहरू अलपत्र छाडिएकाले त्यसले पारेको असर सहित असुल गर्नुपर्ने माग राखेका छन् । सडक पुलकै कारण जिल्लाको विकासमा असर परेकाले ठेक्का लिएर काम नगर्नेहरूलाई कानुनी कारबाही गर्न पहल गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?