तमोर पुलमा कमसल सामग्री प्रयोग

चन्द्र कार्की

तेह्रथुम — पाँचथर र तेह्रथुम जोड्न तमोर नदीमाथि निर्माणाधीन पक्की पुलमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । जनप्रतिनिधिले स्थलगत अनुगमनपछि लुम्बुघाटमा निर्माणाधीन पुलमा गुणस्तरीय सामान प्रयोग गर्न निर्देशन दिएका थिए ।

स्वच्छन्द निर्माण सेवाले पुलमा कमसल सामग्री प्रयोग गरेको गुनासोपछि दुवै जिल्लाका जनप्रतिनिधिले स्थलगत अनुगमन गरेका हुन् । उनीहरूले सामग्रीको ल्याब टेस्ट रिपोर्ट नआउन्जेल काम रोक्न निर्देशन दिएका थिए । तर कम्पनीले ल्याब टेस्टको रिपोर्ट बुझाउनै ढिलाइ गरिरहेको छ ।


निर्माणमा प्रयोग भइरहेका सामग्रीको परीक्षण रिपोर्ट आएपछि मात्र काम अघि बढाउन भनिएको पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वसन्तकुमार नेम्बाङले बताए । पाँचथरबाट नेम्बाङसहितको जनप्रतिनिधि र तेह्रथुमबाट म्याङलुङ नगरपालिकाका मेयर सञ्जय तुम्बाहाम्फेसहितको जनप्रतिनिधिको टोलीले स्थलगत अनुगमन गरेको थियो ।


कम्पनीले पुल निर्माणमा ढिलाइ गरेको र सामग्रीसमेत कमसल रहेको गुनासो आएपछि स्थलगत अनुगमन गरिएको मेयर तुम्बाहाम्फेले बताए । प्रयोग भएका सामग्री कमसल भेटिएपछि त्यसबारे थप परीक्षण गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको पाँचथरका सांसद नेम्बाङले जनाए ।


पाँचथरकै कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहितका जनप्रतिनिधिले पनि पुल निर्माणको काम चाँडै सक्न माग गर्दै आएका छन् । सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंसँग ३ वर्षमा काम सम्पन्न गर्ने गरी ७ वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४० प्रतिशत पनि काम पूरा नभएको डिभिजनका इन्जिनियर अनुप सावदेनले बताए ।


सुरुका वर्ष भारतीय नाकाबन्दी, बाढीपहिरो, सामान ढुवानीमा समस्यालगायतका कारण देखाउँदै कम्पनीले पुल निर्माणमा ढिलाइ गर्दै आएको थियो । डिभिजनका अनुसार पुलमा ९२ मिटर ढलान हुनेछ भने बाँकी ५७ मिटर स्टिलको ट्रस्ट राखिनेछ । पुलको १५ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।


निर्माण कम्पनीले पटकपटक म्याद थपे पनि अहिलेसम्म ५० प्रतिशत कामसमेत नसकेको डिभिजन कार्यालयले जनाएको छ । 'पुलमा प्रयोग गरिएका निर्माण सामग्री कमसल भएको गुनासो आएपछि परीक्षणमा पठाएका छौं,' कार्यालयका एक कर्मचारीले भने । पुल निर्माणको काम रोकिएपछि यहाँ कार्यरत मजदुर घर फर्किएका छन् ।


निर्माण कम्पनीका इन्जिनियर प्रमोद न्यौपानेले तोकेबमोजिमकै निर्माण सामग्री प्रयोग गरिएको दाबी गरे । ढुंगा, बालुवा, गिट्टी, सिमेन्टलगायत सबै सामान ल्याब टेस्ट गरेर मात्र प्रयोग गरिएको उनले बताए । यी सामान ल्याब टेस्टका लागि पुनः प्रयोगशाला पठाइएको र रिपोर्ट आएपछि काम सुरु हुने उनको भनाइ छ ।


यो पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ । पाँचथरको सदरमुकाम फिदिम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दूरीको यो पुल निर्माणपछि मेची र कोसी राजमार्ग पनि जोडिनेछन् ।

प्रकाशित : वैशाख २९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?