१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सामुदायिक विद्यालय : अंग्रेजी माध्यमका नाममा शुल्क असुल्दै

विराटनगर र इटहरी — सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउने नाममा अभिभावकबाट शुल्क लिन थालेको छ । शिक्षा ऐन र नियमावलीअनुसार सामुदायिकका विद्यार्थीले शुल्क तिर्नुपर्दैन । सामुदायिकमा पढ्ने बालबालिकालाई सरकारले पूर्वप्राथामिकदेखि माध्यामिक कक्षासम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।

विराटनगरका नाम चलेका आधा दर्जन सामुदायिक विद्यालयले शुल्क लिँदै आएका छन । कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकसँग वाषिर्क न्यूनतम ११ देखि १५ हजार रुपैयाँसम्म शूल्क लिने गरिएको छ ।


पोखरिया मावि, सत्यनारायण मावि, आदर्श मावि, गोग्राहा मावि, सरस्वती मावि र राधाकृष्ण माविले कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउने नाममा अतिरिक्त शिक्षकलाई तलब खुवाउन र विद्यालय व्यवस्थापनका नाममा शुल्क लिने गरेका छन् । यसको अभिभावक संघ मोरङले विरोध गरेको छ ।


पोखरिया माविको कक्षा ६ मा ५२, कक्षा ७ मा सय कक्षा ८ मा २ सय कक्षा ९ मा २ सय ६० र कक्षा १० मा २ सय ६० विद्यार्थी यसपालि भर्ना भएका छन् । विद्यालयले ६ देखि कक्षा ८ सम्मका प्रत्येक विद्यार्थीका अभिभावकबाट वाषिर्क जनही ११ हजार ५ सय र कक्षा ९ र १० का विद्यार्थीका अभिभावकवाट जनही १३ हजार ५ सय रुपैयाँ विद्यालय व्यवस्थापन सहयोगका नाममा लिँदै आएको छ ।


'उपलब्ध जनशक्ति र व्यवस्थापनले नियमित रूपमा भइरहेको नेपाली माध्यमको पढाईमात्र सम्भव छ' विद्यालयका प्राचार्य खेमराज भट्टराईले भने, 'त्यही जनशक्तीले मात्र अंग्रेजी माध्यमबाट अलग्गै कक्षा सञ्चालन गर्न सक्ने स्थिति छैन ।' विद्यालयले अंग्रेजी माध्यमवाट पढाउन २० जना निजी स्रोतमा शिक्षक राखेको छ । तिनै शिक्षकलाई तलब र कक्षा व्यवस्थापनका लागि अभिभावकहरूले स्वस्फुर्त विद्यालयलाई उक्त रकम आर्थिक सहयोग गरेको उनको दाबी छ ।


सत्यनारायण माविले अंग्रेजी माध्यमको पढाइका नाममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका अभिभावकसँग जनही वाषिर्क १२ हजार र कक्षा ९ र १० कासँग जनही वाषिर्क १५ हजार शुल्क लिँदै आएको प्राचार्य धर्म खरेलले स्वीकारे । 'अंग्रेजी माध्यमको पढाइका लागि सरकारले सम्पूर्ण खर्च ब्यहोर्ने हो भने हामी विद्यार्थीका अविभावकसँग पाँच पैसा पनि शुल्क लिँदैनाैं,' खरेलले भने 'अंग्रेजी माध्यमबाट पढाउन सरकारले एक पैसा पनि सहयोग नगर्ने अनि न्यूनतम शुल्क लिएर पढाउँदा पनि विरोध गर्नुको तुक छैन ।'


गोग्राहा माध्यामिक विद्यालयले पनि अंग्रेजी माध्यममा कक्षा ६ र ७ मा पढ्ने विद्यार्थीसँग जनही वाषिर्क १० हजार, कक्षा ८ मा ११ हजार र कक्षा ९ र १० मा पढ्ने प्रत्येक विद्यार्थीवाट वाषिर्क १२ हजार रुपैयाँ शुल्क लिँदै आएको छ । चालु शैक्षिक वर्ष यो विद्यालयमा कक्षा ६, ७, ८ र १० मा समान ३० जना र कक्ष्ाा ९ मा ४० जना विद्यार्थी अंग्रेजी माध्यममा भर्ना भएको प्राचार्य बेदुकुमार खतिवडाले बताए ।


उनले पनि अविभावकसँग लिने शूल्क अतिरिक्त शिक्षकलाई तलब खुवाउन प्रयोग हुने दाबी गरे । त्यसैगरी सरस्वती माविको कक्षा ६ देखि कक्षा १० सम्म १ सय ६५ विद्यार्थी भर्ना भएका छन् । उनीहरू प्रत्येकलाई विद्यालयले वाषिर्क १० हजार शुल्क तोकेको छ । विद्यालयको आन्तरिक श्रोतले मात्र अंग्रेजी माध्यमबाट अलग्गै कक्षा सञ्चालन गर्न असम्भव भएपछि उक्त शुल्क लिइएको प्राचार्य योगेन्द्र कार्कीको भनाई छ ।


'शुल्क किस्ता बन्दी रुपमा लिने गरिएको छ' कार्कीले भने, 'कोही अभिभावकले तिर्छन् कसैले तिर्दैनन् । यहीको आदर्श मावि र राधाकृष्ण माविले पनि अंग्रेजी माध्यमबाट अलग्गै कक्षा सञ्चालन गरेर अन्य विद्यालयझै वाषिर्क शुल्क लिँदै आएका छन् । अंग्रेजी माध्यमबाट पढाउन अलग्गै कक्षा सञ्चालन गर्दा जनशक्ति थप गर्नुपर्ने बाध्यता र त्यो जनशक्तिलाई पारिश्रमीक दिनकालागि केही सामुदायिक विद्यालयले अविभावकको स्वेच्छामा वाषिर्क शुल्क लिनु स्वाभाविक भएको महानगरपालिका शिक्षा शाखा प्रमुख रुद्र दुलालको भनाइ छ ।


'अंग्रेजी माध्यमबाट पढाउन अलग्गै कक्षा सञ्चालनका लागि राज्यले विद्यालयलाई सहयोग गरेको छैन,' दुलालले भने, 'सामुदायिक विद्यालयमा पूर्ण छात्रबृत्ति भनिए पनि जुन जुन विद्यालयले अंग्रेजी माध्यमबाट पढाई सुरु गरेका छन ती विद्यालयले अभिभावकबाट स्वेच्छाले शुल्क लिएर आन्तरिक खर्च धान्नु सामान्य हो ।


सुनसरीमा पनि

सरकारले विद्यालय शिक्षालाई निःशुल्क गर्ने घोषणा गरे पनि सरकारी विद्यालयले अंग्रेजी माध्यममा भर्ना लिदै विद्यार्थीसँग चर्काे शुल्क असुल्न गर्न थालेका छन् । इटहरीको जेठो विद्यालय जनता माविले कक्षा ४ बाट कक्षा ९ सम्मका विद्यार्थीबाट १९ हजार ७ सय ५० का दरले शुल्क लिएको छ ।


संविधानको धारा ३१ को २ मा प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने ब्यवस्था छ । तर विद्यालय सञ्चालक समिति र शिक्षकहरूको मिलेमतोमा शुल्क नभनी सहयोग रसिदका नाममा निजी विद्यालयसरह चर्काे शुल्क असुल गरिएको छ ।


कक्षा ४ देखि ९ सम्म अंग्रेजी माध्यममा पढाउन २ सय ४० कोटामा भर्ना दिइएको थियो । प्रत्येक विद्यार्थीबाट समान रुपले बर्षको १९ हजार ७ सय ५० का दरले असुल गरिएको छ । अंग्रेजी माध्यमका लागि विद्यार्थीबाट एक वर्षको ४७ लाख ४० हजार रकम विद्यालयले अभिभावकबाट असुल गरेको छ ।


कोसी सेन्टजेम्सबाट छोरी निकालेर कक्षा ५ मा जनतामा भर्ना गराएका अभिभावक निलहरी निरौला छोरीको पढाइ शुल्कको रसिद देखेर छक्क परे । अतिरिक्त क्रियाकलाप शुन्य र यातायातको सुविधामा एउटा खानेपानीले दिएको गाडीको भरमा रहेको विद्यालयले सहयोगका नाममा १९ हजार ७ सय ५० प्रत्येक विद्यार्थीबाट असुल गरेकोमा आफू आश्चर्यमा परेको उनले बताए ।


संविधान र सरकारले नै प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क भने पनि विद्यालयहरूले अंग्रेजीमाध्यमका नाममा लुट मच्चाइरहेको उनले आरोप लगाए । बोर्डिङ जस्तो सुविधा दिन नसक्ने तर बोर्डिङकै जस्तो शुल्क असुल्न गर्न नमिल्ने उनले बताए । बोर्डिङमा भर्ना गर्दा प्रवेश परिक्षा लिँदा शुल्क बुझाउनु नपर्ने तर सरकारी विद्यालयले २ सय भर्ना शुल्क लिएको उनले गुनासो गरे ।


जनता माविका प्रधानाध्यापक छत्रपति ढंुगेलले अंग्रजी माध्ययमबाट अध्यापन गराउन अतिरिक्त शिक्षकको ब्यबस्था गर्नु पर्ने भएकाले विद्यार्थीबाट सहयोगका रूपमा रकम लिएको बताए । उनले भने 'ब्यवस्थापन समितिबाट निर्णय गराएर शुल्क लिएका हौं, अभिभावकले खोजे हिसाब देखाउँछौं ।' नमुना विद्यालयका रूपमा यो वर्ष जनता माविले डेढ करोड रुपैयाँ अनुदान सरकारबाट पाएको छ ।

प्रकाशित : वैशाख १९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?