मोरङका गाउँमा दादुरा फैलियो

विराटनगर — पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको वर्ष दिन पनि नपुग्दै मोरङमा दादुराको प्रकोप फैलिएको छ  । मोरङको सुनवर्सी नगरपालिका ७ बरडंगा र डाइनियाको मुस्लीम बस्तीमा दादुराको प्रकोप फैलिएको हो  ।

सुनबर्सी नगरपालिकामा अहिलेसम्म १९ जनामा दादुरा देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

चैत ११ गते बरडंगामा ४ जनामा दादुरा देखिएपछि १४ गते डाइनियाका ८ बालबालिकाको रगत परीक्षण गर्दा दादुरा फेला परेको कार्यालयले थियो । एकजनामा देखा परेको दादुरा विस्तारै बस्तीमाझ फैलिएर १९ बालबालिका प्रभावित भएको कार्यालयका खोप अधिकृत रामानन्द यादवले बताए ।

भारतसँगको सिमानजिकै रहेको डाइनिया र वरडंगाको मुस्लीम बस्तीमा फैलिएको दादुराको समयमै उपचार नगर्दा प्रकोपका रूपमा फैलिएको उनको भनाइ छ । गत चैतमा हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमअन्तर्गत उक्त स्थानमा गएका स्वास्थ्यकर्मीले उपचार नगरी देउता आएको भन्दै घरमा लुकाएर राखेको अवस्थामा दादुराको बिरामी फेला परेको उनले बताए ।

‘हात्तीपाइलेको औषधि ख्वाउन घरघरमा जाँदा दादराको बिरामी देखा परेको थियो ।’ उनले भने, ‘अझै पनि केही मधेसी तथा मुस्लिम समुदायको वस्तीमा दादुरालाइ गोसाई (देउता) आएको भन्दै लुकाउने चलनछ त्यसैले डाइनिया र बरडंगामा यसले महामारीको रूप लियो ।’ बिरामीलाई घरभित्रै लुकाएर राखेको अवस्थामा आफुहरूले राजनैतिक दलका प्रतिनिधि, स्थानिय स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरी उनिहरूको उपचार गराइएको उनले बताए ।

दादुरालाई गोसाई आएको भनेर उनिहरूले घरबाट बाहिर निस्कन नहुने भन्दै उपचार नगरी बस्दा वरडंगाका ४ वर्षीय मोनिकरण मण्डल र ३ वर्षीया निरु खातुन दुइजना बालकको अवस्था निकै नाजुक भएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा उनीहरूको रंगेली अस्पतालमा उपचार गराइएको उनले जानकारी दिए ।

२०७५ असारमा मोरङलाइ पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । भारतीय सीमा नजिकैको बस्तीमा बसोबार गर्ने भएकालेउनिहरू नेपाल र भारतमा आउनेजाने क्रम चलिरहने हुँदा खोप लगाउन छुटेको हुन सक्ने यादवले बताउनुभयो । चेतनाका अभावमा विरामीलाई घरमित्रै लुकाएर राख्दा थप महामारीको रूप लिएको उनले बताए ।

उपचार पश्चात दादुराका बिरामीलाइ ठिए भए पनि दादुराको सूक्ष्म जिवाणु पुनः फैलन सक्ने खतरा रहेकाले प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा आइतबारदेखि डाइनिया र बरडंगाामा तीनदिने मास क्याम्पेन सुरु गरिएको छ । क्याम्पमा ९ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाइ खाोप लगाउने कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?