२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

प्रदेश सरकार ६२ पुल बनाउँदै

विराटनगर — संघीय सरकारले ठेक्कामा लगाएका अधिकांश पुल निर्माण पूरा नभइरहेका बेला प्रदेश १ सरकारले भने आफुले निर्माण गर्न लागेका पुल समयमै सम्पन्न गर्ने  दाबी गरेको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६२ पुल निर्माण गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार मोरङको उर्लाबारी र मिक्लाजुंगको सिमानामा पर्ने मिक्लु खोलाको शिलान्यासका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले यस्तो दाबी गरेका हुन् ।


प्रदेश सरकारले पहिलो पटक पुल निर्माणको काम सुरु गरेको बताउँदै उनले पप्पु कन्स्ट्रक्सनले जस्तो ठेक्का लिएर जुठो हाल्दै छाड्दै गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने बताए । उनले विकास निर्माणका काम समयमै सम्पन्न नहुनुमा स्थानीय अवरोध, समयमा भुक्तानी नहुनु र ठेकेदारको लापरबाही भएको बताए ।


स्थानीय समस्या समाधानको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने, भुक्तानीको समस्या भए त्यसको जिम्मा प्रदेश सरकारले लिने र समयमै निर्माण सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनिले लिनेगरी प्रदेश सरकारले समन्वय गर्ने बताए ।


‘स्थानीयको असहयोग हुनु, भुक्तानीमा ढिलाइ हुनु र ठेकेदारले लापरबाही गर्नु नै विकास निर्माण समयमै सम्पन्न नहुनु हो,’ मन्त्री आङ्बोले भने, ‘हामीले स्थानीय समस्या हल गर्न स्थानीय तहलाई नै जिम्मा दिने भनेका छौं, भुक्तानीको समस्या प्रदेश सरकारले हल गर्ने र त्यति गर्दा पनि ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने गरी अघि बढ्छौं, ठेकेदारहरूले भने जतापनि ठेक्कामा लिएर जुठो बनाएर छोड्ने काम गर्न हामी दिँदैनौं ।’


प्रदेश सरकारले स्वीस सरकारको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा अरुण, तमोर, सुनकोसीलगायतका ठूला तथा साना ६२ वटा पुल निर्माण गर्ने घोषणा गरेको थियो । ‘५ वटा पुलको ठेक्का लागिसकेको छ, ८० प्रतिशतको हाराहारीमा सर्भे डिजाइनको काम सम्पन्न भएको छ,’ भौतिक पूर्वाधार मन्त्रालय सडक तथा पुल निर्माण विभागका उपसचिव रेवती पराजुलीले भने, ‘आर्थिक वर्षभित्रैमा हामीले ६२ वटै पुलको ठेक्का लगाएर काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’


ती पुल निर्माणका लागि स्वीस सरकारले प्राविधिक सहयोग गरिरहेको छ । इटहरीमा रहेको स्थानीय सडक पुल सहयोग इकाइबाट डिजाइन स्वीकृत गरेपछि ठेक्काको प्रक्रिया सुरु हुने मन्त्रालयका विभाग प्रमुख पराजुलीले बताए ।


उर्लाबारी र मिक्लाजुङको सिमानामा पर्ने मिक्लु खोलाको पुल ७ करोड २५ लाख ४९ हजार ७ सय ६० रुपैयाँ लागतमा निर्माण गर्नेगरी महाविर किराँतेश्वर जेभिले ठेक्का पाएको छ । २४ महिनाभित्र सक्ने लक्ष्यका साथ सुरु भएको मिक्लु खोलाको पुल स्थानीयको सहयोग पाए २० महिनाभित्रै हस्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ ।


८६ दशमलव ६० मिटर लामो उक्त बस्क बृज निर्माण भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको हो । लामो समयदेखि स्थानीयले उक्त खोलामा पुल निर्माण हुनुपर्ने माग गर्दै आएका थिए ।


– विनु तिम्सिना

प्रकाशित : वैशाख १५, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?