सिटी रिक्सा चलाउँदै जनआन्दोलनका घाइते

पर्वत पोर्तेल

धुलाबारी, झापा — जनआन्दोलन २०६२/०६३ का घाइते गोपाल श्रेष्ठ बिहान ६ बजेतिर एक कप चिया पिउँछन् । आँगनमै पार्किङ गरेको सिटी रिक्सा पुछपाछ गर्छन् । झट्ट स्टार्ट गर्छन् अनि लाग्छन् खुट्टेडागी चोकतिर । मेचीनगर ९ को खुट्टेडागी चोक सिटी रिक्साको ‘स्टेसन’ जस्तै हो ।

प्रायः यात्रुको पर्खाइमा यही चोकवरिपरि टहलिरहेका भेटिन्छन्, ४५ वर्षीय गोपाल । दिउँसो ११ बजेतिर खाना खान घर पस्छन् । बेलुकी सबेरै घर पुगिसक्छन् ।


‘धुलाबारी बजारमा यात्रु छाडेर भर्खरै आएको’, गोपालले मंगलबार पहिलो भेटमै भने, ‘के गर्ने गुजारा गर्नै पर्‍यो ।’ सिटी रिक्सा चलाएरै पाँच जनाको परिवार पाल्ने जिम्मेवारी यिनको घाइते काँधमा छ । गोपाल सिटी रिक्सा चालक भएको २ वर्षजति हुदै छ । त्यसअघि घरैअघिल्तिर सडकको मुखमा सानो पसल थापे । तर, सोचेजस्तो चलेन, छाडिदिए । त्यसपछि अलि कम श्रम गर्नुपर्ने काम खोज्दै जादा सिटी रिक्सा चलाउने निष्कर्षमा पुगे ।

‘आफूसँग एक पैसा थिएन’, गोपालले सुनाए, ‘तर रिक्सा जसरी पनि किन्नु थियो ।’ त्यसपछि स्थानीय एक सहकारी संस्थामा घर धरौटी राखे । २ लाख ऋण काडे । अनि २ लाख ३० हजार नगद खर्चिएर रिक्सा किने । यसबाट दैनिक ३/४ सय कमाउँछन् । ‘५ जनाको परिवार रिक्साले पालिरहेको छ’, गोपाल सुनाउँछन्, ‘यसले जसोतसो परिवार धानेको छ ।’ महिनामा १० हजार रुपैयाँ त ऋणको किस्ता नै तिर्नुपर्छ । बाँचेको रकम नानी पढाउन र परिवार पाल्न खर्चन्छन् ।


मेचीनगर नगरपालिकाबाट ५ हजार र स्थानीय धुलावारी खानेपानी कार्यालयले दिने १५ सय मासिक भत्ताले पनि उनलाई केही राहत पुगेको छ । ‘भत्ताले राहत पुगेको छ’, उनी भन्छन्, ‘तर, यो अस्थायी हो । मैले आजीवन पाउनुपर्छ भनेर अनुरोध गरेको छु ।’

जनआन्दोलनका अन्य घाइतेलाई सरकारले विभिन्न समयमा मोटो आर्थिक सहयोग गर्‍यो तर श्रेष्ठ सधैं उपेक्षामा
परे । ‘राजनीतिक पहुच भएकाहरूले आर्थिक अनुदान लिएको सुनियो’, उनले गुनासो पोखे, ‘पहुचवालाहरूले लिए होलान् तर मेरो कोही छैन पहुचमा अनि कसरी पाउन सक्छु र ?’


करिब ११ वर्षअघि स्थानीय राजनीतिक दल र संघसंस्थाको पहलमा गोपालको घर निर्माण गरिएको थियो । ५ वर्षअघि तिनै दलले चन्दा उठाएर बिहे पनि गरिदिए । नेताहरूले दिएको सहज खालको जागिर लगाइदिने आश्वासन भने पूरा भएन । त्यसैले रिक्सा चलाउन थालेका हुन् ।


नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उनलाई घरमै भेटेर पार्टीको सरकार आएपछि उपचार खर्च उपलब्ध गराइदिने वचन दिएका थिए । तर, कोइराला प्रधानमन्त्री भएपछि त्यो वचन भुसुक्कै बिर्सिए । ‘कांग्रेस सरकारमा हुँदा सहयोगको धेरै आशा गरें’, गोपालले सम्झिए ,‘आसैआसमा सरकार ढल्यो ।’

यसरी लाग्यो गोली
२०६३ वैशाख ६ । सदरमुकाम चन्द्रगढीमा हजारौं सर्वसाधारण ‘राजतन्त्र मुर्दावाद’ को नारा उरालिरहेका थिए । उत्तेजित आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि सुरक्षाकर्मीले गोलाबारी सुरु गरे । साँझ परिसकेको थियो । गोपाल आन्दोलनकारी साथीहरूसँग घर फर्कने तरखर गर्दै थिए । भाग्दाभाग्दै उनको देब्रे तिघ्रा गोलीले छेड्यो । ‘चट्याङ परेझैं आएको गोलीले म ढलेछु,’ गोपालले सम्झिए । त्यसपछि होस खुल्दा उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा थिए । त्यस दिन सदरमुकाम पूरै आन्दोलनकारीको कब्जामा थियो । त्यही क्रममा भद्रपुरका सुरज विश्वास र लक्ष्मीपुरका राजन गिरी घटनास्थलमै ढले । गोपालसहित करिब अढाई सय आन्दोलनकारी घाइते भए ।


उनको घाउ अझै निको भएको छैन । चिकित्सकले मेजर अपरेसन गर्नुपर्छ भनेका थिए । तर, आर्थिक अभावले गर्न सकेनन् । ‘नेताहरूलाई पनि कति भन्नेजस्तो लाग्यो, त्यही भएर अप्रेसन नै गरेको छैन’, गोपालले भने । अप्रेसन नगरेका कारण दुखाइ बल्झिरहन्छ । मज्जाले टेक्न हुँदैन । उठ्न–बस्न अझै समस्या नै छ । ‘चिसो याममा त दुखेर खपिसक्नै हुदैन,’ गोपाल पीडा सुनाउँछन्, ‘अहिले पनि सिटी रिक्साले थर्काएका कारण बेलुका सधैं दुख्छ ।’

प्रकाशित : वैशाख ११, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

‘हिरासतमा मृत्यु त्रुटिपूर्ण’

कान्तिपुर संवाददाता

विर्तामोड — झापा मेचीनगर ६ काकडभिट्टाका १५ वर्षीय बालक किरण कार्कीढोली (दर्जी) को हिरासतमा मृत्यु भएको १० दिनपछि झापाका राजनीतिक नेतृत्वले मुख खोलेका छन्  । राजनीतिक दलका अगुवाले मंगलबार हिरासतमा मृत्यु हुनु नै त्रुटिपूर्ण रहेको बताए  ।

नेपाली कांग्रेसका नेता देउमान थेबेले हिरासतमा बालकको मृत्यु हुनु दुःखद् रहेको बताउँदै सिंगो पार्टी संवेदनशील बनेको बताए । उनले पत्रकारहरूले सम्प्रेषण गरेको सूचनाका कारण हिंसा भड्किन सक्ने भन्दै समाचार नलेख्न पत्रकारलाई निर्देशन दिएका थिए । तर, छलफलमा सहभागी पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले थेबेको भनाइप्रति आपत्ति जनाउदै पत्रकारलाई समाचार लेख्नै रोक लगाउने अधिकार दलका नेताहरूलाई नभएको बताएका थिए ।


कांग्रेसका सभापति उद्धव थापाले पनि हिरासत मृत्यु घटनालाई पार्टीले गम्भीरताका साथ लिएको भन्दै बालक हिरासतमा किन मर्न बाध्य भयो, छानबिनबाट सत्यतथ्य बाहिर आउने जनाए । नेकपाका नेता देवेन्द्र दाहालले हिरासतमा मान्छे मारिनु राम्रो नभएको भन्दै कसरी घटना भयो, प्रहरीको त्रुटि कहाँ भयो भनेर खोजी गरिनुपर्ने बताए । नेकपाका जिल्ला सचिव विजय साम्पाङले घटना ज्यादै संवेदनशील रहेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गर्न नहुने बताए । अधिकारकर्मी टीका मग्रातीले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुवास खडकालाई निलम्बन, दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति लगायतका माग राखेका थिए । तर, त्यसबारेमा दलहरूले चासो दिएनन् । बरु प्रहरीकै पक्षमा कुरा राखे । अधिकारकर्मी विष्णु खरेल, रूपक खनाल, वीरु दर्नाल, छविलाल विश्वकर्मालगायतले प्रहरीका विभिन्न गतिविधिले घटना शंकास्पद देखिएको बताएका थिए ।

मानव अधिकार आयोग आएन
घटना भएको १० दिन बित्दा पनि राष्ट्रिय मानव अधिकार आयोगको कुनै प्रतिनिधि नआएको भन्दै अधिकारकर्मीहरूले आपत्ति जनाए । दलित अधिकारकर्मी टीका मग्रातीले यस्तो गम्भीर घटनाको अध्ययनका लागि आयोग गम्भीर नबनेको बताए । घटनालगत्तै स्थलगत अवलोकन गर्न सक्दा सत्य तथ्य कुरा बाहिर ल्याउन सघाउन पुग्ने मग्रातीले बताए । आयोगको प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले भने प्रहरीसँग कागजात मगाएर अध्यनन सुरु गरेको जनाए ।

‘हामी फिल्ड मात्रै आउन नसकेको हो, अध्ययन सुरु भइसकेको छ,’ उनले भने । यसैबीच नया“ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संंग्रौलाले घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्