‘हिरासतमा मृत्यु त्रुटिपूर्ण’

विर्तामोड — झापा मेचीनगर ६ काकडभिट्टाका १५ वर्षीय बालक किरण कार्कीढोली (दर्जी) को हिरासतमा मृत्यु भएको १० दिनपछि झापाका राजनीतिक नेतृत्वले मुख खोलेका छन्  । राजनीतिक दलका अगुवाले मंगलबार हिरासतमा मृत्यु हुनु नै त्रुटिपूर्ण रहेको बताए  ।

नेपाली कांग्रेसका नेता देउमान थेबेले हिरासतमा बालकको मृत्यु हुनु दुःखद् रहेको बताउँदै सिंगो पार्टी संवेदनशील बनेको बताए । उनले पत्रकारहरूले सम्प्रेषण गरेको सूचनाका कारण हिंसा भड्किन सक्ने भन्दै समाचार नलेख्न पत्रकारलाई निर्देशन दिएका थिए । तर, छलफलमा सहभागी पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले थेबेको भनाइप्रति आपत्ति जनाउदै पत्रकारलाई समाचार लेख्नै रोक लगाउने अधिकार दलका नेताहरूलाई नभएको बताएका थिए ।


कांग्रेसका सभापति उद्धव थापाले पनि हिरासत मृत्यु घटनालाई पार्टीले गम्भीरताका साथ लिएको भन्दै बालक हिरासतमा किन मर्न बाध्य भयो, छानबिनबाट सत्यतथ्य बाहिर आउने जनाए । नेकपाका नेता देवेन्द्र दाहालले हिरासतमा मान्छे मारिनु राम्रो नभएको भन्दै कसरी घटना भयो, प्रहरीको त्रुटि कहाँ भयो भनेर खोजी गरिनुपर्ने बताए । नेकपाका जिल्ला सचिव विजय साम्पाङले घटना ज्यादै संवेदनशील रहेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गर्न नहुने बताए । अधिकारकर्मी टीका मग्रातीले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुवास खडकालाई निलम्बन, दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति लगायतका माग राखेका थिए । तर, त्यसबारेमा दलहरूले चासो दिएनन् । बरु प्रहरीकै पक्षमा कुरा राखे । अधिकारकर्मी विष्णु खरेल, रूपक खनाल, वीरु दर्नाल, छविलाल विश्वकर्मालगायतले प्रहरीका विभिन्न गतिविधिले घटना शंकास्पद देखिएको बताएका थिए ।

मानव अधिकार आयोग आएन
घटना भएको १० दिन बित्दा पनि राष्ट्रिय मानव अधिकार आयोगको कुनै प्रतिनिधि नआएको भन्दै अधिकारकर्मीहरूले आपत्ति जनाए । दलित अधिकारकर्मी टीका मग्रातीले यस्तो गम्भीर घटनाको अध्ययनका लागि आयोग गम्भीर नबनेको बताए । घटनालगत्तै स्थलगत अवलोकन गर्न सक्दा सत्य तथ्य कुरा बाहिर ल्याउन सघाउन पुग्ने मग्रातीले बताए । आयोगको प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले भने प्रहरीसँग कागजात मगाएर अध्यनन सुरु गरेको जनाए ।

‘हामी फिल्ड मात्रै आउन नसकेको हो, अध्ययन सुरु भइसकेको छ,’ उनले भने । यसैबीच नया“ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संंग्रौलाले घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?