१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हतियार संकलनमा अन्योल

विराटनगर — प्रदेश प्रहरी कार्यालयसँग इजाजत प्राप्त हतियारको विवरण नहुँदा हतियार बुझाउन गृह मन्त्रालयले गरेको निर्देशन प्रभावकारी बन्न सकेन् ।

गृहको निर्देशन अनुसार इजाजत नलिएका वा नवीकरण नगरिएका हतियार संकलन गर्न अभियान चलाएको प्रहरीले प्रदेश १ बाट ९५ थान मात्र हतियार संकलन गरेको छ ।


प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार इजाजत प्राप्त ७१ थान र इजाजत नलिई अवैध रूपमा राखिएका २४ थान हतियार विभिन्न जिल्लाबाट संकलन गरिएको छ ।


गृह मन्क्रालयले इजाजत नलिएका वा इजाजत लिएर नवीकरण नगरिएको र इजाजत लिने व्यत्तिको मृत्युपछि नामसारी नभएको हतियार ३५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । तर प्रदेश प्रहरी कार्यालयसँग नवीकरण नभएको र नामसारी नभएका हतियारको कुनै विवरण छैन ।


जसले गर्दा गृहको निर्देशन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन । प्रदेश प्रहरी कार्यालयसँग १४ जिल्लामा कति इजाजत प्राप्त हतियार छन् भन्नेसमेत जानकारी छैन् ।


प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) केदार रिजालले इजाजत प्राप्त हतियारको विवरण आफुसंग नभएको बताए । उनले भने ‘हतियारको विवरण जिल्ला प्रशासन कार्यालयसंग हुन्छ, हामीसंग त्यो विवरण छैन ।’ हतियार बुझाउने नियमित प्रक्रिया भएको भन्दै उनले तोकिएको म्याद भित्र नबुझाउनेलाइ प्रचलित कानुन बमोजिम कारवाहि गरिने बताए ।


मोरङमा मात्रै इजाजात प्राप्त हतियार राख्नेको सङ्ख्या ७ सय ७२ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कायार्यलयका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १ सय ७८ वटा र ०७४/०७५ मा १ सय ४४ वटा मात्र हतियार नविकरण भएको छ । इजाजत लिएर हतियार राखेको एक नाले १२ बोरे बन्दुक २ सय ७२ थान, २ नाले १२ बोरे बन्दुक १ सय ४४ थान, २२ बोरे राइफल ४३ थान, हवाई बुन्दुक १५ थान, २५ बोरे पेस्तोल २१ थान, ३२ बोरे रिभल्भर ५ थान र ३२ बोरे पेस्तोल ७ थान रहेको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा देखिन्छ ।


तर मोरङमा १७ थान मात्र हतियार बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबारसम्मा सानाठूला गरी इजाजतप्राप्त नगरेको २ थान र इजाजत प्राप्त गरेको तर नविकरण नभएको १५ थान हतियार बुझाएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ९४ सि नम्बरको एयर गनदेखि ३५ बोरे बन्धकहरू बुझाइएको उनले बताए ।


जिल्ला प्रहरी कार्यालयमा बुझाइएको अवैध हतियार मध्ये सबैभन्दा बढी १ नाले टोटावाल बन्दुक रहेको छ । कार्यालयका अनुनसार ६ थान १ नाले टोटावला बन्दुक, १२ बोरे २ नाले टोटावले बन्दुक, २५ बोरे १ नाले, ३५ बोरको सानो बन्दुक, ९४ सी नम्बरको एयर गन, १ नाले भरुवा बन्दुक, जोर नाले टोटावाल बन्दुक बुझाइएको छ । सुनसरीमा भने एउटा पनि हतियार बझाइएको छैन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयालले सुनसरीमा एउटा पनि हतियार नबुझाइएको जानकारी दिए । हतियार राख्ने अनुमति लिने व्यक्तिले ५ वर्षसम्म नविकरण नगरे स्वतः अवैध हुने प्रावधान छ । अवैध हतियार राख्नेलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय वा ६० हजारदेखि १ लाखसम्म जरिवान वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?