३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जस्ता पाता किन्न अनुदान

गाउँलाई खरको छानो मुक्त बनाउन छथर गाउँपालिकाले निःशुल्क जस्तापाता दिँदै 

तेह्रथुम — छथर गाउँपालिकाले खरको छाना मुक्त बनाउने भन्दै महत्त्वाकांक्षी योजना अघि सारेको छ । गापाले खर तथा परालको छाना भएकाहरूलाई जस्ता पाता किन्नका लागि अनुदान दिन थालेको छ ।

जस्ता पाता किन्न अनुदान

‘खरको छानो हटाउने अभियान सुरु गरेका छौं,’ गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले भने, ‘यसका लागि यो वर्ष मात्र २० लाख रुपैयाँ बजेट छुट्याएका छौं ।’

खरको छाना मुक्त अभियान पहिलो चरणमा सुक्खा क्षेत्रका बस्तीबाट सुरु गरिएको उनले बताए । यस्ता बस्ती आगलागीको उच्च जोखिममा समेत रहेकाले खर हटाएर जस्ता पाता लगाउन थालिएको अध्यक्ष लिम्बूले बताए । पहिलो चरणमा ७० परिवारलाई जस्ता पाता वितरण थालिएको छ । जस्ता पाता वितरणको सुरुवात स्थानीयवासी समेत रहेका कानुन मन्त्री भानुभक्त ढकालले गरे ।

मन्त्री ढकालले छथर गाउँपालिका २ हमरजुङकी गीता देवी दमाईलाई जस्ता पाता हस्तान्तरण गरेर खरको छानामुक्त गाउँपालिका अभियानको शुभारम्भ गरेका हुन् । जस्ता पाता वितरण गर्दै मन्त्री ढकालले स्थानीय तहले सुरु गरेको यो अभियानमा रकम अभाव भए केन्द्र सरकारले समेत सहयोग गर्ने वचन दिए ।

विपन्न परिवारलाई वितरण गरिएका जस्ता पाताको रंग नीलो छ । यसअघि नै गाउँपालिकाले सबै घर एकै रंगका बनाउने अभियान सुरु गरेको थियो ।

गाउँपालिकाले गरिब, दलित, अपांग, पिछडिएका समुदायका घरको छानालाई प्राथमिकतामा राखेको छ । घरका छानामा एकै रंगका जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्य समेत बढ्ने र परबाट हेर्दा धनी र गरिबको अवस्था समेत नछुट्टिने अध्यक्ष लिम्बूले बताए ।

जस्ता पाता खरिदका लागि सम्बन्धित व्यक्तिले एक रुपैयाँ खर्च पनि व्यहोर्नु पर्दैन । मिस्त्री र काठ भने सम्बन्धित व्यक्तिले नै ब्यहोर्नु पर्ने छ । मिस्त्री खर्च र काठपात पनि खरिद गर्न नसक्ने अवस्थाका गरिबलाई भने गापाले दिने भएको छ ।

विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार फेर्ने अभियानले गाउँलेहरू भने दंग परेका छन् । खरको छानोमुक्त अभियानका लागि अलग्यै कार्यविधि बनाई विपन्न परिवार पहिचान गरेर जस्ता पाता वितरण गरेको जनाएको छ । घर निर्माण गरी छाउनका लागि ठिक्क भए पछि मात्रै वडा कार्यालयमा निवेदन दिएपश्चात् जस्ता

पाता पाइनेछ ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?