कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सम्भावनाको केन्द्र बन्दै दोभान बजार

आनन्द गौतम

ताप्लेजुङ — सडक सञ्जाल जोडिएसँगै फुङलिङ नगरपालिका २ को दोभान बजारमा चहलपहल वढेको छ । यो बजार तीनवटा सडकले जोडिएको एकमात्र केन्द्र बन्न पुगेको छ ।

सम्भावनाको केन्द्र बन्दै दोभान बजार

तमोर करिडोर, इटहरी, धरान, धनकुटा, वसन्तपुर गुफा बजार हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी राजमार्ग र चीनको तिब्बतबाट जोडिने उत्तर–दक्षिण लोकमार्गको केन्द्रविन्दु बनेसँगै यहाँको व्यापार–व्यवसाय पनि बढेको छ ।

‘तीनैवटा सडक भएर आउने यहाँ जोडिएपछि मात्रै गन्तव्यतर्फ लाग्न सक्छन्, त्यसैले पनि अहिले दोभान वजारको महत्व बड्यो,’ दोभान नजिकै घरभएका पत्रकार सिताराम गुरगाइले भने, ‘यहाँको जग्गा खोज्न अहिले तराईदेखिका मान्छे आउन थालेका छन् ।’ फुङलिङ नगरपालिका २ का वडाध्यक्ष मोहन न्यौपाने यो बजार पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताउँछन् । तमोर नदीबाट र्‍याफटिङ गर्न प्रत्येक वर्ष विदेशी तथा स्वदेशी आउने गरेका छन् । यहाँबाट सुरु गर्नेहरू धनकुटाको लेगुवाघाट हुँदै सुनसरी निस्कन्छन् ।

जिल्ला समन्वय समितिका पूर्व योजना अधिकृत मनमणि काफ्ले यो क्षेत्रको थप विकासका लागि योजना बनाएर लाग्नुपर्ने बताउँछन् । ‘अहिले पूर्वका नौ जिल्लाको चक्रपथ बनेको छ,’ उनले भने, ‘यसलाई उपयोग र विकास गर्ने कुरामा स्थानीयवासी र सरकार लाग्नु जरुरी छ ।’ जमिन भएकाले जग्गा बिक्री नै गर्दिनँ भने पनि विकास सम्भव नभएको काफ्ले बताउँछन् । यसका लागि समयमै विस्तृत योजना बनाउन जरुरी रहेको उनको बुझाइ छ ।

सदरमुकामबाट नजिक, मैवाखोला, मेरिङदेन, आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिकाको केन्द्र पनि यही बजार हो । यी चारवटै गाउँपालिकाबाट दोभान बजार भएर मात्रै सदरमुकाम प्रवेश गर्न सकिन्छ ।

दोभान उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद पौडेल अहिलेसम्म नभएको तर कस्तो योजना बनाउने भनेर सोच भइरहेको बताउँछन् । उनले बस्तीको संरक्षण गर्ने किसिमको तटबन्ध पनि बन्नुपर्ने बताए । ‘हामीलाई २०७२ जेठ २७ गते रातिको बाढीले दिएको पीडा सेलाएको छैन,’ उनले भने, ‘खोलालाइ दिगो गरी व्यवस्थित गरेर पर्यटकीय योजना बनाउनुपर्छ ।’ मैवाखोलामा आएको बाढीले यहाँको पश्चिमपट्टिको केही भाग कटान गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?