कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टोलटोलमा स्ट्रेचर

संखुवासभा — सिलिचोङ गाउँपालिका मांतेवाका जयकुमार राई गाउँमै बिरामी बोक्ने स्ट्रेचर राख्न पाउँदा खुसी छन् । आफन्त बिरामी परे सदरमुकामसम्म डोकामा ल्याएर उपचार गरिरहेका यहाँका स्थानीय अहिले ढुक्क बनेका छन् । 

टोलटोलमा स्ट्रेचर

दुर्गम सिलिचोङमा जनस्तरबाट रकम संकलन गरेर १ सय ३८ स्ट्रेचर खरिद गरी वितरण गरिएको छ । ‘प्राथमिक उपचार गर्नसमेत एक दिन धाएर ताम्कु केन्द्र आउनुपर्ने बाध्यता थियो,’ जयकुमारले भने, ‘डोकामा बोकाएर बिरामी लैजानु परिरहेको थियो । हातखुट्टा भाँच्चिएका बिरामीलाई डोकामा लैजान समस्या थियो ।’ सदरमुकाम खाँदबारीसम्म पुग्नलाई अर्को एक दिन हिँड्नुपर्छ । सीधा सडक सञ्जाल जोडिएको छैन । यही समस्या देखर स्थानीय युवाले रकम संकलन गरेर स्ट्रेचर संकलन गरेका हुन् ।


बुधबारे बजारमा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्ट्रेचर वितरण गरे । सिलिचोङमा स्वास्थ्यसेवा पुर्‍याउन उनले सहयोग गरेका थिए । नैतिक, भौतिक र सकेको आर्थिक सहयोग गरेको पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङले बताए । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु भए पनि गाउँपालिकाभित्रका पाँचवटै वडाका सर्वसाधारणलाई पायक पर्ने बुधबारे बजारमा कार्यक्रमको आयोजना गरेर वितरण गरिएको हो ।


गाउँपालिकाभित्रका पाँच वडाअन्तर्गत प्रत्येक टोलमा एक–एकवटा स्ट्रेचर वितरण गरिएको बृहत् स्ट्रेचर अभियानका अध्यक्ष संयोगान्त कुलुङले बताए। तीन महिनाको अवधिमा संकलन भएको साढे आठ लाखबाट स्ट्रेचर खरिद गरेर गाउँमा वितरण गरेका हौं, उनले भने, सडक सञ्जाल नहुँदा बिरामीलाई उपचारका लागि सहरका अस्पतालसम्म लैजान असहज थियो ।


अब स्ट्रेचरमा राखेर गाउँलेले सहजै स्वास्थ्य केन्द्र लैजान सक्ने छन् । बृहत् स्ट्रेचर अभियान वितरण कार्यक्रममा समितिको तर्फबाट १ सय २३ थान र पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको विशेष पहलमा स्वास्थ्य मन्त्रालयबाट १५ थान संकलन भएको थियो । गुरुङले दश हजार १ सय १५ रुपैयाँ व्यक्तिगत सहयोग गरे ।


गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले काठमाडौं बस्दै आएकासँग अभियान सञ्चालन गर्ने विषयमा छलफल सुरु भएपछि अभियानले सफलता पाएको बताए । २० हजारभन्दा बढी जनसंख्या रहेको सिलिचोङको ताम्कुमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर, कहिले औषधि त कहिले उपकरण अभाव हुन्छ ।


उपचारका लागि स्थानीयहरू खाँदबारी नै आउनुपर्छ । अरुण–३ जलविद्युत् परियोजनाले प्रभावित क्षेत्रलाई एम्बुलेन्स दिने भने पनि सडक नभएकाले सिलिचोङ गाउँपालिका यो अवसरबाट वञ्चित भयो ।

प्रकाशित : वैशाख ५, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?