कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आठ वर्षमा पनि बनेन कोल्ड स्टोरेज

बिर्तामोड — १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने भद्रपुर नगरपालिकास्थित कोल्ड स्टोरेज -शीत भण्डार) ८ वर्ष बित्नलाग्दासम्म अधुरै छ । ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न नभएको कोल्ड स्टोरेज अहिले अलपत्र अवस्थामा छोडिएको छ । 

आठ वर्षमा पनि बनेन कोल्ड स्टोरेज

कोल्ड स्टोरेज भारतीय दूतावासको सहयोगमा निर्माण थालिएको हो । स्थानीय बासिन्दाको माग र दुई राष्ट्रबीचको सुमधुर सम्बन्धका कारण छिमेकी मुलुक भारतले कोल्ड स्टोरेज निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको थियो । दूतावासले बजेट निकासा गरेपछि भद्रपुर नगरपालिकाले टेन्डर आव्हान गरी कोल्ड स्टोरेज निर्माण कार्य अघि बढाएको थियो । तर, निर्माण कार्य अधुरै छोडी ठेकेदार सम्पर्कविहीन बन्दा जिल्लाको दक्षिण-पूर्वी क्षेत्रका कृषकको कोल्ड स्टोरेजको आवश्यकता अझै पूर्ति हुन सकेको छैन ।


स्टोरेज निर्माणका लागि नगरपालिकाले ०६७ पुसमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता मितिले १५ महिना अर्थात् ०६८ चैतमा कोल्ड स्टोरेज निर्माण सम्पन्न गर्नुपर्ने थियो । स्टोरेज निर्माणको ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले लिएको हो । निर्माण कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपैयाँमा ठेक्का पाएको हो । ठेकेदारले साढे ३ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको भद्रपुरका इन्जिनियर योगेन्द्र रन्जितकारले जानकारी दिए । सम्झौताअनुसार ठेकेदारले अब ६० लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।


ठेकेदारले कोल्ड स्टोरेजका लागि भवन निर्माण गरिसकेको छ । वरिपरी कम्पाउन्ड वाल, आवश्यक टहरालगायतका निर्माण कार्य गरिसकेको छ । कोल्ड स्टोरेजका लागि आवश्यक पर्ने थर्मोकुलर पनि जडान गरिएको छ । तर, थर्मोकुलरमा ग्यास भर्न बाँकी छ । ट्रान्सर्फमर, जेनेरेटर, विद्युत् जडानका साथै आवश्यक अन्य केही मेसिनरी सामग्रीहरू जडान गर्न बाँकी रहेको इन्जिनियर रन्जितकारले बताए । भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि कृषक समूह गठन गरिएको थियो । समूहमा ५३ जना कृषक आवद्ध छन् । उनीहरूले जनही ५० हजारका दरले सेयर लगानी गरेका छन् । कोल्ड स्टोरेज निर्माणका लागि समूहले भद्रपुरमा १४ कट्ठा पौने ११ धुर जमिन खरिद गरेको थियो ।


कृषक समूहका अध्यक्ष भारतेन्द्र मल्लिकले लामो समयसम्म कोल्ड स्टोरेज निर्माण सम्पन्न हुन नसक्नु भद्रपुरबासीको लागि दुर्भाग्य भएको बताए । उनले ठेकेदारको चरमलापरको सिकारमा आफूहरू परेको बताए । उनले नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कोल्ड स्टोरेज निर्माण प्रक्रियाले पूर्णता पाउने भन्ने आशा पनि पूरा हुन नसकेको दुखेसो पोखे । 'जनप्रतिनिधि नभएको फाइदा उठाउदै ठेकेदारले निर्माण कार्यमा ढिलाइ गर्‍यो । तर, जनप्रतिनिधि आइसकेपछि पनि यो कामले पूर्णता पाउन नसक्नु दुखद् हो,' मल्लिकले भने, 'कोल्ड स्टोरेज निर्माणमा भएको लापरबाहीकै कारण भद्रपुरका लागि भारतीय दूतावासबाट थप योजना मागेर ल्याउन सकेका छैनौं ।'

प्रकाशित : वैशाख ४, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?