कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्ने भए गरिबका घर

विप्लव भट्टराई

इलाम — विपन्नका लागि घर बनाउन इलाममा पानि जनता आवास कार्यक्रम सुरु भएको छ । दलित, विपन्न, मुस्लिम, लोपोन्मुख र अति सिमान्तकृतका लागि निःशुल्क घर बनाउने जनता आवास कार्यक्रमको प्रक्रिया थालिएको हो ।

२ वर्ष अघिदेखि नै बजेट विनियोजन भए पनि कार्यक्रम सुरु हुन सकेको थिएन । प्रदेश १ का अन्य केही जिल्लामा कार्यक्रम सञ्चालित भएको अवस्थामा सहरी विकास तथा भवन कार्यालयले इलाममा पनि सुरु गरेको हो ।


कार्यक्रमअन्तर्गत १ सय वटा घर यसै आर्थिक वर्षमा सम्पन्न हुने छन् । कार्यक्रमअन्तर्गत २ वटा कोठासहित भान्सा घर निर्माण हुनेछ । प्रतिघर निर्माणमा कार्यालय ३ लाख ५० रुपैयाँ खर्च गरिनेछ ।


प्रदेश सरकारअन्तर्गत जिल्लाका १० स्थानीय तहमा ५ वटाका दरले घर निर्माण हुने छन् । यो वर्ष प्रदेश सरकारबाट ९० लाख र संघबाट १८ लाख २१ हजार प्राप्त भएको छ । यति रकमले सवै काम पूरा नहुने भएकाले थप बजेट माग गरेर भए पनि काम पूरा गरिने कार्यालयको भनाइ छ ।


त्यस्तै केन्द्र सरकारमार्फत आवश्यकताअनुसार ५० वटा घर निर्माण हुने कार्यालय प्रमुख सुमनकुमार मिश्रले जनाए । ‘प्रदेशसभा निर्वाचन क्षेत्र जनता आवास समन्वय समितिले लक्षित समुदायबाट घर निर्माणका लागि छनौट गर्नेछ,’ उनले भने, ‘छनौटका लागि १० दिनको सूचना प्रकाशन भएकाले लगक्तै काम सुरु हुनेछ ।’


यसअघि सम्बन्धित कार्यालयले चासो नदिएका कारण यो कार्यत्रम २ वर्ष थन्किएको थियो । ‘सरकारले बजेट फठाएको अवस्थामा काम नगरी बस्न ठीक नलागेर यो क्रार्यत्रम कार्यान्वयनमा चासो दिइएको हो,’ उनले थपे ।


जिल्लाका प्रदेशसभा अन्तर्गतका ४ सभासदसहित स्थानीय तहका प्रशासकीय अधिकृत सहितको बैठकले कार्यक्रम लागू गर्ने निर्णय गरेका थिए । इँटाको गारो र जस्ताको छाना भएको घर निर्माणका लागि सम्बन्धित घरधनीले ४ किस्तामा रकम प्राप्त गर्ने छन् ।


पहिलो किस्ता जग खन्ने कार्य भएपछि २५ प्रतिशत, डीपीसी सम्पन्न भएपछि दोस्रो किस्ता ३० प्रतिशत, गारो तयार भएपछि थप ३५ प्रतिशत र सवै काम सम्पन्न भएपछि १० प्रतिशत सम्बन्धित निर्माण समितिको खातामा रकम उपलब्ध गराइनेछ । कार्यक्रमअन्तर्गत यो वर्ष जिल्लामा दलित, लेप्चा, थामी र मेचे समुदायका व्यक्तिका घर बन्ने छन् ।

प्रकाशित : चैत्र २५, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?