सुख्खा क्षेत्रमा खानेपानी योजना

चन्द्र कार्की

तेह्रथुम — सरकारले पाँचथरको सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वडाका २२ हजार ७० जनसंख्यालाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । 

पाँचथरको कुम्मायक गाउँपालिकाको भुल्के गाउँमा तमोर नदीको पानी लिफ्टिङ प्रविधिबाट पठाएर जम्मा गर्न बनाइएको ट्यांकी । तस्बिर : चन्द्र/कान्तिपुर

दुबै स्थानीय तहमा रहेका स्थायी पानीका मुहानसमेत सुकेर पिउने पानीको हाहाकार हुन थालेपछि सरकारले यति धेरै रकम खर्च गरेर खानोपानी आयोजना सञ्चालनको तयारी थालेको हो । सरकारले कुम्मायक र तुम्बेवा गाउँपालिकामा ठुला लिफटिङ र पम्पिङ आयोजना संचालन गरिरहेको छ ।

दुबै ठूला आयोजना अहिले निर्माणको चरणमा छन् । खानेपानीको संकट भोगिरहेका सात वडाका स्थानीयको जनसंख्या जिल्लाको कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी रहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

कुम्मायक गाउँपालिका केन्द्र यासोकमा निर्माण भैरहेको यासोक खानेपानी आयोजना निर्माणको चरणमा छ । ०७४ पुस १५ भित्रमा निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने आयोजनाको काम परामर्शदाताको ढिलाइका कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र पानीको मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा ढिलाइ भएको अध्यक्ष चेम्जोङले बताए । ०७२ पुस १६ गते सुरु आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने समय बितिसक्दा पनि निर्माणाधीन अवस्थामै छ ।

यो आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८ सय ४० जना लाभान्वित हुनेछन् । तमोर नदीको लोरिपा दोभानमा मुल ट्याङकी निर्माण गरी विद्युतीय पम्पिङ प्रविधिबाट माथि रहेका सात वटा लिफ्टिङ ट्याङकीमा पानी पठाइने आयोजनाका इन्जीनियर रविन्द्र रायले बताए । प्रेरा स्वामी नारायण जेभी ललितपुरले प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ ।

वितरण लाइनको काम कन्काई(महादेव खिम्ती(स्वामी नारायण जेभी सुनसरीले लिएको छ । ०७३ फागुन ६ गते सम्झौता गरेको कम्पनीले आगामी फागुन ५ सम्ममा पाइप वितरण लाइनको काम सम्पन्न गर्नुपर्ने समयसीमा छ तर निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले बताए । पाइप लाइन विस्तारको काम २० प्रतिशत बाँकी नै रहेको छ । आगामी वैशाख महिनासम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी काम भइरहेको थापाले बताए ।

सरकारले २०६८ सालमा साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या समाधानका लागि दुबै क्षेत्रमा अर्को खानेपानी आयोजनाको निर्माण भइरहेको छ । यो आयोजनाबाट तुम्बेवा गाउँपालिकाको वडा १, २ र ३ का १ हजार ६ सय ४ घरधुरीका ८ हजार २ सय ३० जनालाई स्वच्छ खानेपानी सुविधा पुग्ने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

आयोजना निर्माणको जिम्मा कन्काई(प्रेरा जेभी काठमाडौंले पाएको छ । ०७३ असार २५ गते निर्माण सम्झौता गरेको कम्पनीले ०७६ पुस २५ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने समयसीमा पाएको छ । सात वटा लिफटिङ ट्याङकीमार्फत विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङकीबाट अर्को ट्याङकीसम्म पानी पुर्‍याइने आयोजनाले जनाएको छ । यो आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले बताए ।

पानी जम्मा हुने पाँच वटा लिफटिङ रिजर्भट्याङकीको निर्माण कार्य सम्पन्न भएको र अन्य सवै ट्याङकीसम्म पहुँच सडकसमेत पुर्‍याई सकिएको छ । यो क्षेत्रमा १ लाख २१ हजार ८ सय ९१ मिटर लामो पाइपलाइन बिछ्याइने आयोजनाले जनाएको छ । आगामी फागुन महिनाभित्र आ

योजना विस्तारका लागि चाहिने आवश्यक विद्युत् विस्तारको काम पनि सम्पन्न गरिसक्ने अध्यक्ष खत्रीले बताए ।निर्माण भइरहेका दुबै आयोजनासँग गाउँबाट भैरहेको बसाई सराइलाई रोक्नुपर्ने जिम्मेवारी रहेको स्थानीयवासीसमेत रहेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बताए ।

आयोजना संचालन गर्नुको मुख्य लक्ष्य नै गाउँबाट भैरहेको बसाइँसराइ रोक्नु रहेको आङ्बोको भनाइ छ । यहाँका बस्तीबाट भइरहेको बढ्दो बसाइँसराइ दर रोक्नकै लागि प्रदेश सरकारसमेतको लगानीमा खानेपानीका योजना संचालन भैरहेका छन् ।

पानी आएपछि खुसी
कुम्मायक गाउँपालिकाको रानीगाउँका ८१ वर्षीय तिलकबहादुर सम्बाहाम्फे बुढेसकालमै भए पनि डिप बोरिङ प्रविधिबाट निकालिएको पानी पिउन पाएपछि दङग छन् । ढल्किँदो उमेरमै भए पनि घर आँगनमै आएको पानी पेटभरि खान पाएको उनले बताए । कुम्मायक–१ की सोममायाँ लावती पनि सुख्खा डाँडामा जमिन मुनिबाट निकालिएको पानी खान पाएपछि निकै खुसी छिन् ।

स्थानीय इन्द्रमाने बरछेउको मल्लिडेमा डिप बोरिङ प्रविधिबाट निकालिएको पानी उनको घरसम्म पुगेको छ । यो डाँडाबाट निकालिएको पानी गाउँका दुर्गम क्षेत्रका बासिन्दाका घर आंगनमै पुर्‍याइएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

कुम्मायक–४ को उत्तिसेमा निकालिएको अर्को डिप बोरिङ प्रविधिको पानी यासोक बजारवासीले गत पुस २ देखि उपभोग गरिरहेका छन् । ‘जमिनमुनीबाट निकालिएको पानीले ठुलो राहत मिलेको छ,’ यासोक बजारमा झम्के गुलेली होटल सञ्चालन गर्दै आएकी पार्वती बिमलीले पानी पाएको खुसी व्यक्त गरिन् । कुम्मायक गाउँपालिकाको उत्तिसे, मल्लीडे र निगालेमा डिप बोरिङ प्रविधिमार्फत पानी निकालिएको छ ।

सुख्खा क्षेत्रका तिङदेन बजार, देवल क्षेत्र र गैरी कुवामा पनि पानी निकाल्न प्रदेश १ सरकारले अध्ययन गरिरहेको छ । पानी निकालिएको ठाउँमा २ सय देखि २ सय ४० मिटर गहिराइसम्ममा पानीको स्रोत भेटिएको छ । यी स्थानमा पानी निकाल्न प्रदेश १ सरकारले १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको मन्त्री आङबोले बताए । यस्तै फाल्गुनन्द गाउँपालिकाको सुक्खाग्रस्त नवमी डाँडाको तल्लो क्षेत्रमा पनि पानी निकालिने तयारी भैरहेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निजी वनमा आकर्षण बढ्दै

कान्तिपुर संवाददाता

धनकुटा — चारैतिर हरियाली वन छ । थरिथरिका रहर लाग्दा बोटबिरुवा र घाँसे चौरमा रमाउँदै जरायो, खरायोलगायत पशुपन्छी चरिरहेका देखिन्छन् । कतिपय खेती गर्न छाडेर रुखो भएका पाखा छिचोल्दै पुगिने पाख्रिबास नगरपालिका १, सान्नेमा रहेको छिन्ताङदेवी कृषि फर्मअन्तर्गत निजी वनमा उक्त दृश्य नियाल्न सकिन्छ ।

धनकुटाको पाख्रिबास १ सान्नेको छिन्ताङदेवी कृषि फर्मबाट सञ्चालित नमुना निजी वन नियाल्दै सर्वसाधारण । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर

पछिल्लो समय निजी वनतर्फ सर्वसाधारणको चासो बढ्दै गएको अवस्थामा उक्त वन उदाहरणीय बन्दै छ । एक सय रोपनी क्षेत्रफलमा दर्जनौं प्रजातिका सयौं वनस्पति रहेको उक्त वन जिल्लाकै नमुना बनेको छ ।

निजी वनमा उत्कृष्ट कहलाएको वन नियाल्ने जोकोहीलाई आकर्षित गर्छ । वर्षौं पहिले आफैंले बिक्री गरेको जग्गा पुनः खरिद गरेर निजी वनको सुरुवात गरेको कृषि फर्मका सञ्चालक नवीन दाहालले बताए । उनले चौबिसे गाउँपालिका ८ वसन्तटारका तिलक कार्कीको सहकार्यमा वन व्यवस्थापन गर्दै आएका छन् ।

३ वर्ष पहिले सुरु गरेको वन व्यवस्थापन छोटै अवधिमा रहरलाग्दो अवस्थामा छ । १ सय रोपनी क्षेत्रफलमा रहेको वनमा रुद्राक्ष, पाउलियनिया, मलेसियन सखुवा, अस्ट्रेलियन टिकका रुख रहेको सञ्चालक दाहालले जानकारी दिए । यसैगरी साढे २० हजार कफीको बिरुवा समेटिएको छ । सयौं बोट मलेसियन सखुवा, टिक र २५ हजार पाउलिनिया, ५ सय रुद्राक्ष वनमा रहेको छ । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन स्थानीयले जोड दिँदै आएका छन् ।

निजी वनबाटै स्थानीयलाई समेत कफीको बिरुवा वितरण गरिँदै आएको छ । ‘हामीलेआफ्नो व्यक्तिगत फाइदा मात्र नहेरी समग्र यस क्षेत्रको विकासका लागि पकेट क्षेत्रको माग गर्दै आएका हौं,’ दाहालले भने, ‘उपयुक्त हावापानी र भूगोलका कारण कफीको पकेट क्षेत्र घोषणा गरिदिन सके खेर गएका जमिनको सदुपयोग हुने ठानेका छौं ।’ हालसम्म १ करोड रुपैयाँ लगानी रहेको अर्का सञ्चालक कार्कीले जानकारी दिए । निजी वनका लागि राज्यबाट सहुलियत दरमा कृषि ऋण पाउन नसकेको उनले गुनासो पोखे ।

१० वर्षमा प्रतिफल मिल्ने गरी हाल लगानी मात्र गर्दै आएको सञ्चालक बताउँछन् । वन क्षेत्रमा १ हजार बकाइनोको बोट रोपेर १ सय उन्नत जातको खसीबाख्रा पालन गर्ने सोचमा रहेको कार्कीले बताए । निजी वनमा सर्वसाधारणको आकर्षण बढ्न सके खेर गएका जमिन सदुपयोग हुने प्रदेश सांसद निरन राईले प्रतिक्रिया दिए । जिल्लामा पछिल्लो समय निजी वनमा सर्वसाधारणको आकर्षण बढ्दै गएको वन कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT