कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अन्योलमा अलैंची बजार

अलैंचीको बजार भाउ ओरालो लागेपछि कृषकले बगान नैं फाँडेका छन्
आनन्द गौतम

ताप्लेजङ — फक्तालुङ गाउँपालिका ३ लिंखिमका विरवहादुर विकले २२ रोपनिमा लगाएको अलैंची बगान फाँडिदिए । खेतका गहृामा लगाएको अलैंची सबै निकालेपछि अब विगतमै जस्तो धान खेतीको तयारीमा जुटेका छन । लहलहाउँदो बगान फाँड्नुको मुख्य कारण अहिलेको बजार मूल्य नै हो ।

अन्योलमा अलैंची बजार

लगातार मूल्य घटिरहँदा भविष्यमा विहान बेलुका भात खाने धानको समस्या हुनेभएपछि बगानै रित्याएको उनले सुनाए । अव बैशाखमा बिउ राखेर बाँझो जोत्ने र असारमा धान खेती गर्ने उनको तयारी छ ।


बिरबहादुर जस्तो अरुले बगानै फाँडेका त छैनन तर अलैंचीलाई नै निरन्तरता दिने कि नदिने दोधारमा छन् । अधिक किसानको मनसाय पेसा बदल्ने कि भन्ने देखिएको छ । अलैंचीको मूल्य छ दोब्बरसम्मले घटेपछि र त्यो क्रम नरोकिएपछि किसानमा खुल्दुली सुरु भएको हो । अहिले ताप्लेजुङका किसानले प्रतिकिलो ५ सय पाउने गरेका छन ।


अलैंचीका कारोबार मन (४० किलोको १ मन) को हिसावले हुन्छ । ठाउँ अनुसार एक मनको २० हजार सम्म मूल्य पाएका किसानले सदरमुकाम फुङलिङ पुर्‍याउँदा २२ हजार पाउँछन् । झापाको विर्तामोडमा भने २४ हजारसम्म दिने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइले बताए । विडंम्वना यही अलैंचीको मूल्य कतारमा भने प्रतिमन किलो ३६ सय रुपैयाँ छ । एक मनको १ लाख ४४ हजार रुपैया रहेको छ । वजार मूल्य अस्वाभाविक रूपले घटेपछि किसानमा निरासा पैदा भएको हो ।


किसानले अलैंची लगाएर सुक्खा पाखा र खेरगइरहेको जंगललाई हरियाली वनाएका छन । पाखा पखेरापछि लहलह धान फल्ने खेत, कोदो, मकै, गहुँजस्ता अन्नबाली उत्पादन हुने बारीसम्म मासेर अलैंची लगाए । पानी तर्काउनु पर्ने भएकाले धान फल्ने खेतका गराका आलीहरू सबै भत्काइएको छ । मूल्यको उतार चढावले किसानमात्रै नभएर कतिपय व्यापारी पनि टाठ पल्टिएका छन् ।


सरकारले दररेट निर्धारण नगरेको र अन्तर्राष्ट्रिय बजारको भर नभएकाले अलैंची मूल्य अस्थिर रहेको छ । भारतीय ब्यापारीले निर्धारण गरेको मूल्यमा नेपालको बजार चलिरहेको स्वयं ब्यापारीहरू बताउँछन् । २०४७ सालमा प्रतिमन ५ देखि ८ हजारसम्ममा कारोवार भएको अलैंची त्यसको ६ वर्षपछि २०५३ सालमा झण्डै तेब्बरले बढ्यो र प्रतिमन २० हजार पुग्यो ।


यसरी भएको बृद्धिले किसानलाइ हौस्यायो । त्यसको २० वर्षपछि २०७३ सालमा त छ दोब्बरले बढेर १ लाख २० हजार रुपैंयाँ किसानले पाए । तत्कालीन कृषि बिकास कार्यालयका प्राविधिक सहायक प्रकाश काफ्लेका अनुसार एउटै जिल्ला ताप्लेजुङले मात्रै २०६३ /०६४ मा २३ सय मेट्रिकट्रन उत्पादन गर्‍यो र जिल्लामा ७५ करोड रुपैयाँ भित्रियो । आर्थिक वर्ष २०७२/७३ मा २४ सय १० मेट्रिकटन उत्पादन हुँदा ६ अर्ब रुपैयासम्म भित्रियो ।


ठूलो बगान हुने किसान र कारोबार गर्ने ब्यापारीले ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि झापा, मोरङ, सुनसरीका मुख्य बजारहरू बिर्तामोड, दमक, उर्लाबारी, इटहरी, बिराटनगर र काठमाडौंमा घर घडेरी जोडे । थोरै अलैंची लगाएका किसानले राम्रो बजार हुनेरहेछ भनेर बगान विस्तार गरे । ६३ सालसम्म कति अलैंची उत्पादन तथा निर्यात भयो यकिन तथ्यांक नभए पनि जिल्ला कृषि विकास कार्यालयहरूले २०६४ सालदेखि तथ्यांक राख्न थालेको पाइएको छ । मूल्य बढ्दै गएपछि लगाउने जिल्ला र क्षेत्रफल पनि बढ्यो ।


आर्थिक वर्ष ०७४/७५ मा देशका ४३ पहाडी जिल्लामा अलैंची खेती विस्तार भएको अलैंची ब्यवसायी महासंघ बिर्तामोडले जनाएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार अहिले नेपालको १३ हजार हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको छ । देशभरिबाट बार्षिक ५ हजार ट्रन उत्पादन हुने गरेको छ । आफ्नो क्षेत्रमा राम्रो उत्पादन र बजार मूल्य पाएका किसानहरू समूह बनाएर पश्चिम नेपालमा पनि पुगेर खेती गरे । ताप्लेजुङबाट बाग्लुङ गएर जग्गा भाडामा लिएर खेती गर्ने किसान प्रशस्तै छन् ।


अहिलेको मूल्यले अब वाहिर गएर खेती गर्न नसकिने लक्ष्मी काफ्ले बताउँछन् । काफ्लेको टोलिले बाग्लुङमा गएर खेती गरेको छ । मजदुर र सामानको मूल्य बढेकाले प्रतिकिलो १५ सय आम्दानी भएमात्रै खेतीगर्न सकिने किसानको तर्क छ । अलैंचीलाई राम्रो बनाउन नियमित मलजल गर्नुपर्ने, सिंचाइ सुविधा पुर्‍याउनुपर्ने, गोडमेलमा ध्यान दिनुजरुरी छ । समुद्र सतहबाट ८ देखि १८ सय मिटर सम्मको उचाइमा राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म फलेको छ । बार्षिक २ हजार देखि २५ सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा यो राम्रो फस्टाएको पाइन्छ । ८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायादार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।


अलैंचीको राम्रो फल खान तीन वर्ष पर्खनुपर्छ । पहिलो वर्ष सर्ने, दोश्रो वर्ष मजवुत भएर फुल लगाउने र तेस्रो वर्ष फल दिने हुन्छ । राम्रो मलजल हुने ठाउँमा भने दुई वर्षमा पनि फल लागेको पाइन्छ । एकै खालको अलैंची नेपाल, भारत र भुटानमा मात्रै उत्पादन हुन्छ । चीन, इन्डोनेसिया जस्ता देसमापनि अलैंची उत्पादन हुने तर यी तीन देसको जस्तो गुणस्तरको नभएको ब्यवसायी संघका अध्यक्ष भट्टराईले बताए ।


नेपालमा सबभन्दा बढी उत्पादन हुने ताप्लेजुङमा ६१ मध्ये ६० वडामा अलैंची फल्ने गरेको छ । फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलामा भने अहिलेसम्म लगाइएको छैन । मन्त्रालयको तथ्यांक अनुसार ताप्लेजुङले मात्रै २ हजार ९ सय २० मेट्रिकट्रनसम्म उत्पादन गरेको छ । ताप्लेजुङभन्दा पहिला इलाममा बढी फल्ने गरेको थियो । त्यहा छिर्के फुर्के जस्ता समस्या देखिएपछि ताप्लेजुङ अगाडि आएको बरिष्ठ कृषि विकास अधिकृत बद्री दाहाल बताउँछन ।


पहिलो पटक भित्रिएको पनि पूर्व बाटै हो । भारतको सिक्किममा काम गर्न जाने नेपालीहरूले घर फर्कदा सँगै भित्र्याएको इतिहास भेटिएको छ । कृषि बिकास कार्यालयको कृषि डायरीमा उल्लेख भएअनुसार विक्रम संवत् १९८० सालतिर पहिलो पटक सिक्किमवाट इलाम भित्र्याइएको उल्लेख छ । सिक्किमसँग जोडिएकोले पूर्वका अरू जिल्लामा पनि भिक्र्याएर विस्तारगर्ने त्रम बढेको हो ।


सुरुमा ल्याइएको अलैंचीलाई करेसावारिको रुपमा लगाइएको थियो । यस्को फल चियामा लगाउने र मसलाको रूपमा प्रयोग गरिन्थ्यो । वजार खोज्नेक्रममा २०२७/२८ सालदेखि धरानमा पुर्‍याएर नुनसँग साटेने गरिएको बुढापाकाको कथन छ । ताप्लेजुङका गोपी


लिम्बूले धरानको फुस्रेमा लगेर साटेका थिए । एक बोरा अलैंचीको एकबोरा नुन लिएर फर्किएको गोपी बताउँछन । त्यो वेला नूनको मूल्य प्रतिबोरा ५० रुपैयाँ थियो । धरानबाट भारतनै निर्यात हुन्थ्यो ।


अहिलेपनि पहाडी जिल्लामा उत्पादित अलैंची प्रदेस नम्बर १ को झापा बिर्तामोड र सुनसरीको धरानमा जम्मा हुने गरेको छ । पश्चिमबाट पनि पूर्वमै आएर भारत निर्यात हुन्छ । संकलित अलैंची बिराटनगरको जोगमुनी भन्सार भएर भारत जान्छ । भारतमा जम्मा हुने ठाउँ मुम्वइमा हो ।


तराइसम्म जस्ताको तस्तै पुग्ने अलैंची दानाको त्यहाँभने झुस झार्ने पुच्छर काट्ने जस्ता काम हुन्छ । भारतले आकर्षक बोरामा प्याक गरेर खाडि राष्ट्रमा पठाउँछ । नेपाल अलैंचीको नामबाट तेश्रो खपत हुने देशमा चिनिदैन । प्याक गरिएका बोरा १० देखि ५० किलोसम्मको हुने महासंघ अध्यक्ष भट्टराई बताउँछन् ।


ठुला, साना दाना पनि छुट्याइन्छ । भारतवाट पाकिस्तान र खाडी राष्ट्रका युएइ, दुवइ, साउदी अरब कतारजस्ता देसमा निर्यात हुने यस्लाई मसला, आयुर्वेदिक औषधि, मिठाइ, बिस्कुट जस्ता खाद्य वस्तुमा प्रयोग गरिन्छ । कतिपय देसमा बोक्रा फालेर दाना मात्रैको कोसेलीको प्याक बनाउने गरिएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?