कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सडकमा गुणस्तरहीन सामग्रीको प्रयोग

सुनसरी — सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै बराह क्षेत्रका सरोकारवालाले आपत्ति जनाएका छन् । एसियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा निर्माणाधीन २२ किलोमिटरको लौकही–झुम्का सडकको काम गुणस्तरहीन भएको स्थानीयको गुनासो छ ।

सडकमा गुणस्तरहीन सामग्रीको प्रयोग

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग मातहतको ग्रामीण सडक संजाल सुधार आयोजनाले सुनसरीको सिगिया–रामधुनी–प्रकाशपुर–मधुवन–लौकही बोर्डरसम्म कालोपत्रेसहित सडक विस्तार गर्न पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । तर पप्पु कन्स्ट्रक्सनले पनि आफैं नबनाएर कमिसन लिएर ‘पेटी’ ठेकेदार कम्पनी भूमि कन्स्ट्रक्सनलाई दिएको खुलेको छ ।

भूमि कन्स्ट्रक्सनले सीधै सरकारबाट ठेक्का नपाएकाले सरोकारवालाले पप्पुले बदमासी गरेको आरोप लगाएका छन् । सडक निर्माणका लागि ८२ करोड ३२ लाख ५२ हजार ९ सय ५३ रुपैयाँमा ठेक्का दिइएको थियो । चार वर्ष अघिदेखि निर्माण कार्य गरिरहे पनि सडक किनारमा राखिएको बोर्डमा भने २०७५ चैत २० सम्झौता गरिएको भनेर उल्लेख छ । यो वर्षको चैत आउन बाँकी नै छ ।

५ वर्षभित्र निर्माण कार्य सकिने बताइएको उक्त सडक निर्माणको सम्झौता कहिले गरेको हो कतै खुलेको छैन । सरकारसँगको सम्झौता जे भए पनि उक्त सडक निर्माण गर्दा कन्स्ट्रक्सनले बालुवा लगाएर पहिलो चरणको फिलिङ गर्ने काम गरेकाले आपत्ति जनाएको बराह नगरपालिकाका प्रमुख निलम खनालले बताए ।

उनले भने, ‘सडक निर्माणमा पप्पुले पूरै बदमासी गरेको देखियो । माटो ल्याएर फिलिङ गर्नुभन्दा बालुवा सस्तो भएपछि बालुवा हालेको सडक भत्किन थालेका छन् । मैले यो सडकमा भरेको बालुवा सवै निकालेर माटोले फिलिङ गर्नुपर्ने नत्र काम रोकिदिने चेतावनी दिएको छु ।’

उनले बराह क्षेत्र नगरपालिका क्षेत्रमा बन्ने सडकको लागत इस्टिमेट र डिजाइन उपलव्ध गराउन पटकपटक ताकेता गर्दा पनि नटेरी आफूखुसी कमसल सामग्री प्रयोग गरेको बताए । कन्स्ट्रक्सनले कमजोर सडक बनाएको बारेमा जानकार प्राविधिक र इन्जिनियरले आफूलाई जानकारी दिएकाले पप्पुले बदमासी गरेको निष्कर्षमा पुगेको बताए ।

बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष दिपककुमार लिम्बू र १० का वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले पनि उक्त सडक कमजोर बनिरहेको बताए । उनीहरूले गुनासो निदान समिति संयोजक खेजेन्द्र मगरलगायतले सरकारका तर्फबाट विराटनगस्थित सडक डिभिजनबाट आएका इन्जिनियर सुवास राईलाई गुणस्तरहीन काम भएको जानकारी दिएका थिए । खेजेन्द्र आफैं पनि सडक निर्माण क्षेत्रका इन्जिनियर हुन् । सडकका विभिन्न ठाउँमा राखेका होमपाइप फुटेका छन् ।

प्रकाशित : माघ २८, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?