३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रिय सहिद घोषणा परिवारले पाएनन् राहत

धनकुटा — छिन्ताङ काण्डमा हत्या गरिएकालाई सरकारले गत वर्ष राष्ट्रिय सहिद घोषणा गरे पनि प्रभावित परिवारलाई हालसम्म कुनै सुविधा उपलब्ध गराइएको छैन । २०३६ सालमा भएको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सरकारले १३ महिनाअघि राष्ट्रिय सहिद घोषणा गरेको हो ।

राष्ट्रिय सहिद घोषणा परिवारले पाएनन् राहत

राज्यले राष्ट्रिय रूपमा सम्मान गरे पनि त्यसबापत दिइनुपर्ने कुनै सुविधा हालसम्म उपलब्ध नगराएको छिन्ताङ सहिद सरोकार समाजका अध्यक्षसमेत रहेका सहिद पुत्र बलराम राईले बताए ।


‘राज्यले वर्षाैंपछि सम्मान गरे पनि त्यसबापत दिइनुपर्ने सुविधा उपलब्ध नगराइनुले दु:ख लागेको छ,’ सहिद पुत्र बलरामले भने, ‘चार दशकसम्मको पर्खाइमा राज्यले सम्बोधन गरेको खबरले खुसी तुल्याए पनि सुविधा नदिइनुले अचम्म लागेको छ ।’


पञ्चायती शासनको विरोध गर्दै वामपन्थी गुटमा लागेको भन्दै तत्कालीन सरकारले छिन्ताङ, आँखिसल्ला तथा खोकुका १६ स्थानीयको हत्या गरेको थियो । उक्त घटना छिन्ताङ हत्या काण्डका रूपमा इतिहासमा चर्चित छ । घटना भएको झन्डै चार दशकपछि राष्ट्रिय सहिद घोषणा गरिएको थियो ।


राज्यले सयौंलाई सहिदको घोषणा गरे पनि छिन्ताङ काण्डका सहिद र उसका परिवारलाई उपेक्षा गरिएको अर्का सहिदपुत्र योगेन्द्र राईले बताए । ‘यदि राज्य गम्भीर हो भने सहिदको नाममा गरिएको निर्णय किन कार्यान्वयन नभएको ?’ उनले भने, ‘घोषणामा मात्र सीमित बनाइएको छ ।’


४० वर्षसम्म राज्यले उपेक्षा गरे पनि पछिल्लो समय अझ हल्लामा मात्र सीमित पारेर आफूहरूलाई भ्रममा पारेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राईले बताए । छिन्ताङमा हत्या गरिनेमध्ये अधिकांशले तत्कालीन शासकका विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेको अवस्थामा घटना भएको थियो ।


सहिद भीमनारायण र यज्ञबहादुरको स्मृति पञ्चायतकालीन शासन व्यवस्थाको विरोधमा उत्रँदा सहिद भएका भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापाको सम्झनामा धनकुटामा शनिबार स्मृति सभा आयोजना गरिएको छ ।


धनकुटा बजारस्थित भीमनारायण चोकमा आयोजित कार्यक्रममा सहिद श्रेष्ठ पत्नी लक्ष्मीले सालिकमा माल्यार्पण गरिन् । उनले देशका खातिर ज्यान अर्पण गर्ने सहिदको सपना पूरा गर्न सबै पक्षको चासो जानुपर्ने बताइन् ।


विसं.२०३० साल चैत ३ गते तत्कालीन राजा वीरेन्द्रको सवारीका क्रममा बम विष्फोट गराएको अभियोगमा भीमनारायण पक्राउ परेका थिए । यस्तै, २०३१ मंसिर अन्तिम साता कांग्रेसले ओखलढुंगा कब्जा गर्न गठन गरेको सशस्त्र फौजका कमाण्डर क्याप्टेन थापालाई टिम्बुरबोटेमा पक्राउ गरिएको थियो ।


राज्यद्रोहको अभियोग लागेका श्रेष्ठ र थापालाई तत्कालीन पञ्चायत सरकारले काठमाडौंको गोलघरमा कठोर कारावास सजाय दियो । दुवैलाई २०३५ साल माघ २६ गते गोली हानी फाँसी दिएको थियो । श्रेष्ठको शव कोसी नदी किनार र कप्तान थापाको शव कमला नदीका किनारबाट परिवारलाई जिम्मा दिइएको थियो ।


सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा सहिद पुत्र मनोजनारायण, १ नं.प्रदेश सांसद लीला सुब्बा, आयोजक संस्था प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, कांग्रेस उपसभापति नविनकिशोर शाक्य, शिक्षक संघ १ नं.प्रदेश उपाध्यक्ष गंगा ढुंगाना, सहिद स्मृति प्रतिष्ठानका महासचिव विजयसन्तोषी राई लगायतले सहिदको योगदानबारे चर्चा गरे ।


धनकुटा घर भएका श्रेष्ठले जिल्लाबाट कांग्रेसको राजनीतिमा भूमिगत रूपमा सक्रिय थिए । त्यस्तै, जागिरको सिलसिलामा धनकुटा पुगेका थापाले जिल्लामा राजनीतिको सुरुवात गरेका थिए । दुवैलाई नेपाल सरकारले २०७२ सालमा राष्ट्रिय सहिदको सम्मान गरिसकेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?