१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चतरामा तारकब्रह्म महायज्ञ सुरु

मोरङ — सुनसरीको चतरामा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ सुरु भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठले आयोजना गरेको महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

चतरामा तारकब्रह्म महायज्ञ सुरु

सेनाको इटहरीस्थित पूर्वी पृतनामा शुक्रबारै आएर बसेकी उनी सिमसिम पानी परिरहेकै बेला महायज्ञ उद्घाटन गर्न बराह नगरपालिका १ स्थित चतराधाम पुगेकी थिइन् । पूर्वी पृतनालयबाट आएकी राष्ट्रपति भण्डारी सुरुमा चतराधामस्थित वृद्धाश्रममा बस्दै आएकी आमा मिथिला पाण्डेलाई भेट्न गइन् । एकछिन भलाकुसारी गरेपछि आमासँगै महायज्ञस्थलको उत्तरपट्टि श्रीरामानन्दाचार्य सेवापीठले १ सय १२ दिनमा निर्माण गरेको १ सय ३६ कोठे भवनको उद्घाटन गरिन् ।


त्यसपछि उनले महायज्ञको ९ तले मण्डपको रिबन काटेर उद्घाटन गरिन् । भारतको अयोध्याका श्रीराम छाउनी पीठका कमलनयन दास आचार्यले भगवान् बराह र कोशी नदी पौराणिककालदेखि नै पूज्य भूमिका रूपमा रहेको बताए । उनले भेदभावरहित तरिकाले यो क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।


राष्ट्रपति भण्डारीले नौ दिनसम्म सञ्चालन हुने महायज्ञले जलवायु अनुकुलनमा सार्थक हुने बताइन् । ‘प्रकृति र पर्यावरण संरक्षणका लागि हरित क्रान्ति महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘स्वच्छ वातावरण नै स्वस्थ र सुखी नेपालीको आधार हो ।’


पर्यटन र पर्यावरणको सम्बन्ध हरितसँग रहेकाले यसले पर्यटक आकर्षित गर्न सघाउ पुग्ने उनले बताइन् । १ सय २ साधकद्वारा श्रीराम तारकब्रह्म मन्त्रराजको १ अर्ब ६० करोड पूर्ण जप र १६ करोड हवनार्चनसहितको महायज्ञ हुने रामानन्दाचार्यले बताए । यो महायज्ञ मुलुकमै पहिलोपटक हुन लागेको उनको भनाइ छ । महायज्ञमा मुलुकभरका योगीसहित भारतका योगीको सहभागिता रहने उनले सुनाए ।


महायज्ञमा ६० टन तिल, ३० टन चामल, १५ टन जौ, १० टन घिउ, १० टन जडीबुटी र २ सय ४० टन समिदाको हमन गरिने बताइएको छ । महायज्ञमा १ सय ८ कुण्डमा १ हजार २ सय साधकले हवन गर्ने छन् । जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठले सुनसरी मोरङ सिँचाइ योजनाको १२ बिघा ८ कठ्ठा १९ धुर जग्गामा सेवापीठ निर्माण गरेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?