२४ दिनमा सडक निर्माण

इटहरी ४ स्थित आधारभूत बस्तीको श्रमिकमार्ग स्थानीय सहभागितामा निर्माण पूरा
गाउँले जुटे समयमै काम सकिने उदाहरण
कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको इटहरी– ४ स्थित आधारभूत बस्तीको श्रमिक मार्गका स्थानीय उपभोक्ताले जनसहभागितामा २४ दिनमै सडक निर्माण गरेका छन् । ४ सय ३१ मिटर लम्बाइको कच्ची सडकलाई ‘इन्टरलकिङ ब्लक’ प्रयोग गरेर छोटो समयमा निर्माण पूरा गरेका हुन् । 

इन्टरलकिङ ब्लक प्रयोग गरेर २४ दिनमै बनाएको इटहरीको श्रमिकमार्ग निरीक्षण गर्दै उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र उपभोक्ता समितिका पदाधिकारी ।तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

गत पुस २० देखि निर्माण थालिएको सडक माघ १४ मा निर्माण सम्पन्न गरिए पनि औपचारिक उद्घाटन शनिबार गरिएको हो । सडक निर्माण गर्नुअघि प्राविधिकले ४१ लाखको लागत इस्टिमेट र डिजाइन बनाएको थियो । तर उपभोक्ताले २८ लाख २ हजार रुपैयाँ लागतमा २४ दिनमै सडक तयार गरेर देखाएका छन् । सडक छेउका प्रत्येक उपभोक्ताले प्रतिफिट ५ सय ५० रुपैयाँका दरले आफ्नो भागमा परेको रकम संकलन गरेर उपमहानगरपालिकाले तोकेको बैंकमा जम्मा गरेका थिए ।

स्थानीय उपभोक्ताको चाहनाअनुसार स्थानीय तहले तदारुकताकासाथ चासो दिएर प्राविधिक सहयोग गरेमा रातारात सडक निर्माण गर्न सकिन्छ भनेर देखाउन सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर शर्मा पोख्रेलले बताए । सडकसँग हाल बसोबास गरेका ८८ परिवारको जमिनले छोएको छ ।

उनले भने, ‘सहरको पहिचान भनेको फराकिलो सफा सडक नै हो । सडक नै नभएपछि के सहर ? इटहरी नगरबीचको यो करिव आधा किलोमिटरको श्रमिक मार्गलाई हामीले फराकिलो र सफा सडक भएको कल्पना गर्दै आएका थियौं । हामीले त्यसका लागि आधा प्रतिशत बजेट पनि घरघरबाट संकलन गर्‍यौं ।’ उनका अनुसार स्थानीय उपभोक्ताले श्रमदान समेत गरेर इटहरी उपमहानगरपालिकाले लागतको आधा रकम अनुदान दिएपछि निर्माण सम्पन्न भएको हो ।

इटहरी– ४ का वडाध्यक्ष चन्द्र भट्टराईका अनुसार नगरपालिकाको १५ लाख रुपैयाँ अनुदानमा स्थानीय उपभोक्ताको १४ लाख ८२ हजार रुपैयाँ लागत सहभागितामा सडक निर्माण गरिएको हो । उनले भने, ‘इन्जिनियर र अन्य प्रावधिकले उक्त सडकले ८० टन भार थेग्न सक्छ भनेका छन् ।

अलकत्रा प्रयोग गरेको कालोपत्रेको सट्टा वातावरण मैत्री इन्टरलकिङ व्लकले कम्तीमा २० वर्ष नभत्किने थाम्ने भनेका छन् ।’ उनले ब्लक प्रयोग गरेको सडक कतै भत्किए त्यहाँ नयाँ ब्लक तत्कालै लगाएर जस्ताको तस्तै बनाउन सकिने भएकाले इटहरीका उपभोक्ताहरू यसै प्रविधिमा आकर्षित भएको बताए ।

स्थानीय उपभोक्ताले रातदिन नभनी लगातार निर्माण गरेको उक्त सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले शनिबार उद्घाटन गरे । उनले आफ्नो टोलमा सुन्दर सडक निर्माण गर्न जनसहभागिता जनाएर विकास र समृद्धिका लागि योगदान दिने स्थानीय उपभोक्ताको मुक्तकण्ठले प्रशंशा गर्दै भने, ‘यसरी नै इटहरीका अन्य चोक र टोलका बासिन्दा पनि जुर्मुराएमा चार वर्षमा इटहरी मुलुककै अब्बल उपमहानगर बन्नेछ ।

जनसहभागिताका लागि उपमहानगरपालिका सधैं साथ र सहयोग गर्न तयार छ ।’ निर्माण सम्पन्न सडकले रेडक्रस चोकदेखि भेटघाटचोक हुँदै मोतीदेवी मार्ग जोड्छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

माघे झरीले किसान उत्साहित

कान्तिपुर संवाददाता

ताप्लेजुङ — असोजयता पानी नपर्दा किसानमा निराशा थियो । खेतीपाती सुक्न थालेका थिए । सिँचाइ गर्ने खोलानालामा पानी कम भएको थियो । माघ अन्तिमतिर भएको वर्षाले आशा त बढाएको छ, सँगै निराशा पनि ल्याएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बूको भालुगौंडेमा हिउँले ढाकेको तरकारी खेती ।तस्बिर : आनन्द गौतम/कान्तिपुर

‘यही अनुपातमा तीन/चार दिन पानी परिदिए बालीहरू सर्लक्कै सर्थे,’ मैवाखोला गाउँपालिका ३ फाकुम्वाका टिका प्रसाईंले भने, ‘यदि यो रहनासाथ चर्को घाम लागे त्यसले भत्याकभुतुक बनाएर कुहाउँछ ।’ अबको एक साता चर्को घाम नलागिदिए अलैंचीको उत्पादन सबैभन्दा राम्रो हुने प्रसाईं बताउँछन् ।

पेसाले शिक्षक समेत रहेका प्रसाईंका अनुसार तातेको जमिनमा चिसो पसेको छ र त्यो पनि तात्यो भने त्यसले बिगार गर्छ । यसको सबैभन्दा ठूलो जोखिम अलैंची खेतीमा हुने उनको अनुभव छ । फल निकालेपछि आफू तन्दुरुस्त बन्दै गरेको यो बेला र फल
लगाउने चैतमा मौसमी अनुकुलता अत्यन्तै महत्त्वपूर्ण हुने फक्तालुङ गाउँपालिका ३ लिंखिमका वीरेन्द्र दाहाल बताउँछन् ।

उनका अनुसार ‘चैत/बैशाखमा एक सातामात्रै घामपानी भइदिए सर्लक्कै मर्छ तर त्यही बेला घामपानी नभएर पानीको सिँचाइ गर्न सके राम्रो उत्पादन दिन्छ ।’ त्यसअघि र पछि भने खासै डर नहुने उनले बताए । यो समस्या औल क्षेत्रमा बढी हुने गरेको छ । लेकमा भने हिउँ परेको वर्ष अलैंची उत्पादन बड्छ भन्ने मान्यता रहेको अलैंची व्यवसायी संघका अध्यक्ष बालमणी बराल बताउँछन् । उनका अनुसार हिउँ पर्दा मूलहरू रसाउने र चिसो लामो समय रहने भएकाले यसले राहत प्रदान गर्छ । गहुँ,तोरी लगायतका बालीमा भने यो वर्षाले राहत पुर्‍याएको किसानको अनुभव छ ।

सुकेटारका पासाङरिता शेर्पाका अनुसार गहुँ, जहुुँ, तोरी, आलु फल्ने क्षेत्रमा भने पानीले राम्रो गरिदिएको छ । २७ सय मिटरको यो क्षेत्रमा अलिअलि हिउँ पनि परेकाले गुण भएको उनले बताए ।

लामो समय वर्षा नहुँदा अलैंची खेतीमा समस्या भएको थियो । खुला ठाउँमा रहेको अलैंची संग्रग सुकेर बगान नै मर्न थालेको थियो । पानी नपरी गर्मी पलाएपछि झुसिल लगायतका किरा देखिन थालेका थिए । किरा लगायतको प्रकोपले तरकारी तथा अन्न बालीमा समस्या हुन थालेको थियो । पानीले माटो भिजाउनुकासाथै रोगकिरा नियन्त्रणमा सहयोग पुगेको छ । ‘हाम्रो चाहनाले नहुने, हाम्रा लागि त पानी अझै परिदिए हुन्थ्यो भन्ने लागेको छ,’ फुङलिङ नगरपालिका ६ का शिवकुमार गुरुङले भने, ‘यतिले पनि केही न केही राहत पुर्‍याएको छ ।’

हिउँले खायो तरकारी
लेकाली क्षेत्रमा हिउँपर्छ भन्ने हरेक किसानलाई थाहा छ । तर, कुनै वर्ष नपरेर र कम परेर पनि मौसमले उनीहरूलाई झुक्याएको छ । यो वर्ष भने पटकपटक परेको हिउँले तरकारी बाली छपक्कै छोपेको छ । भालुगौंडेका किसान भत्तिहाङ लिम्बूका अनुसार हिउँले छोपेको सागपात, कोपी लगायतको माटो माथिका तरकारी हिउँ विलाएसँगै अब ओइलाउन थाल्छ ।

‘पहिला पात ओइलाउने र पछि बोटै मर्ने हुन्छ,’ भत्तिहाङले भने, ‘अब भएसम्म तत्काल बजारमा पुर्‍याएर बिक्री गर्नुपर्छ ।’ अस्ति परेको हिउँले पूरै बोट नमारेपछि अब भने जोगाउन नसकिने उनको अनुभव छ । ‘तातो र चिसोको समिश्रण हुने भएकाले अब जोगाउन सकिँदैन, उनले थपे । पाथीभरा क्षेत्रमा चौथो पटक हिउँ परिसकेको छ । विगतको तुलनामा बाक्लो हिउँ परेको भत्तिहाङ बताउँछन् । पछिल्ला वर्ष हिउँबाट जोगाउन किसानले टनेल बनाउने र त्यसभित्र खेती गर्ने पनि गरेका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्