कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

माघे झरीले किसान उत्साहित

ताप्लेजुङ — असोजयता पानी नपर्दा किसानमा निराशा थियो । खेतीपाती सुक्न थालेका थिए । सिँचाइ गर्ने खोलानालामा पानी कम भएको थियो । माघ अन्तिमतिर भएको वर्षाले आशा त बढाएको छ, सँगै निराशा पनि ल्याएको छ ।

माघे झरीले किसान उत्साहित

‘यही अनुपातमा तीन/चार दिन पानी परिदिए बालीहरू सर्लक्कै सर्थे,’ मैवाखोला गाउँपालिका ३ फाकुम्वाका टिका प्रसाईंले भने, ‘यदि यो रहनासाथ चर्को घाम लागे त्यसले भत्याकभुतुक बनाएर कुहाउँछ ।’ अबको एक साता चर्को घाम नलागिदिए अलैंचीको उत्पादन सबैभन्दा राम्रो हुने प्रसाईं बताउँछन् ।


पेसाले शिक्षक समेत रहेका प्रसाईंका अनुसार तातेको जमिनमा चिसो पसेको छ र त्यो पनि तात्यो भने त्यसले बिगार गर्छ । यसको सबैभन्दा ठूलो जोखिम अलैंची खेतीमा हुने उनको अनुभव छ । फल निकालेपछि आफू तन्दुरुस्त बन्दै गरेको यो बेला र फल

लगाउने चैतमा मौसमी अनुकुलता अत्यन्तै महत्त्वपूर्ण हुने फक्तालुङ गाउँपालिका ३ लिंखिमका वीरेन्द्र दाहाल बताउँछन् ।


उनका अनुसार ‘चैत/बैशाखमा एक सातामात्रै घामपानी भइदिए सर्लक्कै मर्छ तर त्यही बेला घामपानी नभएर पानीको सिँचाइ गर्न सके राम्रो उत्पादन दिन्छ ।’ त्यसअघि र पछि भने खासै डर नहुने उनले बताए । यो समस्या औल क्षेत्रमा बढी हुने गरेको छ । लेकमा भने हिउँ परेको वर्ष अलैंची उत्पादन बड्छ भन्ने मान्यता रहेको अलैंची व्यवसायी संघका अध्यक्ष बालमणी बराल बताउँछन् । उनका अनुसार हिउँ पर्दा मूलहरू रसाउने र चिसो लामो समय रहने भएकाले यसले राहत प्रदान गर्छ । गहुँ, तोरी लगायतका बालीमा भने यो वर्षाले राहत पुर्‍याएको किसानको अनुभव छ ।


सुकेटारका पासाङरिता शेर्पाका अनुसार गहुँ, जहुुँ, तोरी, आलु फल्ने क्षेत्रमा भने पानीले राम्रो गरिदिएको छ । २७ सय मिटरको यो क्षेत्रमा अलिअलि हिउँ पनि परेकाले गुण भएको उनले बताए ।


लामो समय वर्षा नहुँदा अलैंची खेतीमा समस्या भएको थियो । खुला ठाउँमा रहेको अलैंची संग्रग सुकेर बगान नै मर्न थालेको थियो । पानी नपरी गर्मी पलाएपछि झुसिल लगायतका किरा देखिन थालेका थिए । किरा लगायतको प्रकोपले तरकारी तथा अन्न बालीमा समस्या हुन थालेको थियो । पानीले माटो भिजाउनुकासाथै रोगकिरा नियन्त्रणमा सहयोग पुगेको छ । ‘हाम्रो चाहनाले नहुने, हाम्रा लागि त पानी अझै परिदिए हुन्थ्यो भन्ने लागेको छ,’ फुङलिङ नगरपालिका ६ का शिवकुमार गुरुङले भने, ‘यतिले पनि केही न केही राहत पुर्‍याएको छ ।’


हिउँले खायो तरकारी

लेकाली क्षेत्रमा हिउँपर्छ भन्ने हरेक किसानलाई थाहा छ । तर, कुनै वर्ष नपरेर र कम परेर पनि मौसमले उनीहरूलाई झुक्याएको छ । यो वर्ष भने पटकपटक परेको हिउँले तरकारी बाली छपक्कै छोपेको छ । भालुगौंडेका किसान भत्तिहाङ लिम्बूका अनुसार हिउँले छोपेको सागपात, कोपी लगायतको माटो माथिका तरकारी हिउँ विलाएसँगै अब ओइलाउन थाल्छ ।


‘पहिला पात ओइलाउने र पछि बोटै मर्ने हुन्छ,’ भत्तिहाङले भने, ‘अब भएसम्म तत्काल बजारमा पुर्‍याएर बिक्री गर्नुपर्छ ।’ अस्ति परेको हिउँले पूरै बोट नमारेपछि अब भने जोगाउन नसकिने उनको अनुभव छ । ‘तातो र चिसोको समिश्रण हुने भएकाले अब जोगाउन सकिँदैन, उनले थपे । पाथीभरा क्षेत्रमा चौथो पटक हिउँ परिसकेको छ । विगतको तुलनामा बाक्लो हिउँ परेको भत्तिहाङ बताउँछन् । पछिल्ला वर्ष हिउँबाट जोगाउन किसानले टनेल बनाउने र त्यसभित्र खेती गर्ने पनि गरेका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?