बुबाबाट बलात्कृत बालिकालाई क्यान्सर भएको शंका, कुर्ने मान्छेसम्म छैनन्

कुम्भराज राई

ओखलढुंगा — जन्म दिने आमाले छाडेर गएपछि उनी आफ्नै बुबाबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमा बितिन् । त्यसपछि उनका पिताले पुन: बलात्कार गरे ।दोस्रोपटकको बलात्कार सहन नसकेपछि भने उनले उजुरी गरिन् । प्रहरीमा उजुरी गरेसँगै राक्षसरूपी बुबा जेल चलान भए ।

बुबाबाट बलात्कृत बालिकालाई क्यान्सर भएको शंका, कुर्ने मान्छेसम्म छैनन्

गत भदौ १० गते बुबाबाटै बलात्कृत भएकी उनको दाहिने खुट्टामा क्यान्सरको लक्षण देखिएको छ । उनी भक्तपुर क्यान्सर अस्पतालमा छिन् । अवस्था यतिसम्म दयनीय छ कि उनलाई कुर्ने कुरुवासम्म कोही छैन । २ भाइ सानै छन् । गाउँलेले ती भाइहरूको अवस्था देखेर, ‘बिचरा’ भन्ने गर्छन् तर उनलाई बिचरा भन्नेसम्म कोही रहेनन् । सुनकोसी गाउँपालिकाकी १३ वर्षीया एक बालिकाको दयनीय कथा हो यो ।


बलात्कृत भएपछि जिल्लाकै परिवर्तनशील महिला सामुदायिक संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृहमा बस्दै आएकी थिइन् । कक्षा ५ मा पढ्दै गरेकी उनको पढाइ राम्रो थियो । अझै पढ्ने चाहना पूरा गर्न उनलाई गत मंसिर १७ गते महिला सशक्तीकरण ग्रामीण नेपालको गरिबी निवारण भन्ने संस्थामा पठाइयो । संस्थाले पालनपोषण र पठनपाठन सबै बेहोर्ने सर्तमा उनलाई रेफर गरियो ।


उनी जिल्लामै हुँदा आफ्नो दाहिने खुट्टा सुन्निने र दुख्ने गरेको सुनाउँथिन् । सानैमा खुट्टा भाँचिएकाले चिसाले दुखेको हुन सक्ने अनुमान थियो । जब काठमाडौं गइन्, त्यहाँ खुट्टा चल्नै छोडेपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरियो । शिक्षण अस्पतालमा अल्ट्रासाउन्ड, रक्तपरीक्षण र एमआरआई गरी हेर्दा उनमा क्यान्सरको लक्षण देखियो । उनलाई तत्कालै भक्तपुर क्यान्सर अस्पताल रेफर गरियो ।


भक्तपुर अस्पतालमा उपचाररत उनको रोग क्यान्सर हो/होइन, रिपोर्ट आउन समय लाग्ने बताइएको छ । उनलाई त्यहाँ पुर्‍याउने संस्थाले आफन्तको खोजी गर्‍यो । त्यसपछि २ वर्षअघि दोस्रो विवाह गरेकी आमा केही दिन कुरुवाका रूपमा आइन् । दोस्रो पतिले अघिल्लो पतितर्फकै छोरी स्याहार्ने हो भने सम्बन्धविच्छेद गर्ने भनेपछि आमाले पनि छाडेर गइन् । उनका अन्य आफन्तको खोजी गरियो तर कोही पाइएन ।


‘गाउँमा उनका काका छन् । आर्थिक अवस्था कमजोर छ । सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले भनिन्, ‘उनका फुपूहरू काठमाडौंमा छन् भन्ने सुनेर सम्पर्कको प्रयास गर्दा सफल हुन सकेनौँ ।’


प्रकाशित : माघ १५, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?