जोखिम बस्तीका ७५ परिवारलाई जग्गा

१ सय १८ घर अझै जोखिममै
कान्तिपुर संवाददाता

ओखलढुंगा — चिशंखुगढी गाउँपालिका ७ की लक्ष्मी राईको घर भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍यायो । उनले पुन: अर्को घर बनाउन खोज्दा उनको जग्गा जोखिमको बस्तीमा भएको भन्दै अनुदान पाइनन् । आफ्नो नाममा भएको जग्गामा घर बनाउन नपाएकी उनले बल्ल सुरक्षित स्थानमा ९ आना जग्गा प्राप्त गरिन् । 

पुनर्निर्माण प्राधिकरणले दिने २ लाख रूपैयाँ रकमबाट उनले आइतबार जग्गा खरिद गरिन् । उनले एकीकृत बस्तीमा बस्ने भन्दै जग्गा खरिद गरेकी हुन् । उनीसँगै जोखिम बस्तीमा रहेका चिशंखुगढी ७, बाट ८ वडामा एकै ठाउँमा कुल १० रोपनी ७ आना जग्गा १५ जनाले खरिद गरे । जग्गाधनी सुनिता राईले एकमुष्ट रूपमा आफ्नो जग्गा एकीकृत बस्तीका लागि बिक्री गरेकी हुन् ।

‘एकातिर पहिरोको जोखिम, अर्कोतिर भूकम्पपछि घर बनाउन पाएका थिएनौँ ।’ जग्गाधनी पुर्जा लिएपछि पीडितमध्येकी रहरमाया राईले भनिन्, ‘अब बल्ल घर बनाउने जग्गा पाइयो । त्यसमाथि एकीकृत बस्तीमा बस्न पाउने हुँदा खुसी लागेको छ ।’

२०७२ को भूकम्पपछि जिल्लाको विभिन्न स्थानमा जम्मा १ सय ९३ घरपरिवार जोखिममा रहेको तथ्यांक प्राप्त भएको थियो । त्यसमध्ये हालसम्म ७५ जनालाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराई घर बनाउने प्रक्रिया अघि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । बाँकी जोखिमका घरपरिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको इकाईका प्रमुख विजयमुनी बज्राचार्यले बताए ।

जग्गा प्राप्त गर्नेमध्ये चम्पादेवी ९ विलन्दुमा २३ घर, मोलुङ ३ प्राप्चामा १५ घर र चिशंखुगढी ८ माम्खामा १५ घर एकीकृत बस्तीका रूपमा निर्माण हुने भएको छ । जग्गा उपलब्धिका लागि प्राविधिक सहयोग दिगो विकास परियोजना र आत्मनिर्भर सेवा केन्द्रले गर्दै आएको छ । एकीकृत बस्तीमा बस्न चाहनेका लागि त्यहीअनुसारको मापदण्ड र सेवा सुविधाका लागि प्राधिकरणले सहयोग गर्ने दिगो विकास परियोजनाका क्लस्टर संयोजक भोला बस्नेतले बताए ।

एकीकृत बस्तीका लागि आवश्यक डीपीआर तयार भइरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अन्य स्थानमा समेत एकीकृत बस्तीकै लागि पहल भइरहेका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा समेत जोखिम बस्तीमा रहेका पीडितहरूले घर बनाउन नपाउँदा उनीहरूको अवस्था दयनीय छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

२ रुपैयाँमा पनि बिकेन बन्दा

रमेशकुमार पौडेल

चितवन — नारायणगढ बजारमा आइतबार उपभोक्ताले तिर्ने बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँसम्म थियो । नारायणगढदेखि पूर्व चैनपुर ज्यामिरेमा त्यही बन्दा प्रतिकिलो १० रुपैयाँमा बिकेको थियो । पर्सा बजारमा उपभोक्ता मूल्य २० रुपैयाँसम्म थियो । ज्यामिरे र पर्साको लभगभ बीचमा छ, खैरहनी नगरपालिका ६ को तुलसीपुर गाउँ । त्यहाँका किसानको खेतको बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्न गाह्रो भएको छ ।

चितवनका किसानले बिक्री नभएपछि खेतबाट हटाएको बन्दाको थुप्रो ।  तस्बिर : रमेशकुमार/कान्तिपुर 

तुलसीपुरका पुरन महतोले डेढ बिघामा बन्दा लगाएका थिए । बिक्रीका लागि २० दिनअघि नै बन्दा तयार भएको हो । उनले अघिल्लो वर्ष पनि बन्दा लगाएका थिए । त्यो बेला प्रतिकिलो १४ देखि १७ रुपैयाँसम्म मूल्य आएको थियो । तर यो वर्ष अहिलेसम्म उनले एक किलो बन्दा बेच्न सकेका छैनन् । अब बन्दा बिक्री हुने आशा लगभग सकिएको छ । त्यसैले उनले शुक्रबार दिउँसो एक्साभेटर चलाएरै खेतबाट बन्दा हटाए ।

‘दुई रुपैयाँ किलो लैजाउ भन्दा पनि बिक्री भएन । अब बन्दा नहटाउने हो भने बोडी, करेला, घिरौंला लगाउन अबेला हुन्छ । त्यसैले हटाउनै पर्ने भयो,’ महतोले भने । हटाउन पनि खेताला नै लगाउनुपर्ने हुन्छ । बन्दा हटाउनै तीन/चार हजार रुपैयाँ थप खर्च हुने भएपछि उनी दिक्दार थिए । चाँडो हुन्छ भनेपछि एक्साभेटर चलाए । एक्साभेटरले ४० मिनेटमा हटायो, १५ सय रुपैयाँ खर्च भयो ।

‘एक गाडी बन्दा पाँच हजार रुपैयाँमा दिनुपर्‍यो भनेर फोन आएको थियो । तर काटेर हामी आफंैले गाडीमा लोड गर्दिनुपर्ने रे । त्यसो गर्दा खेताला खर्च हुन्छ । दुई हजार खेतालालाई दिनुपर्छ । एक गाडीमा तीन टन बन्दा अट्छ । हजार रुपैयाँ टन पर्न आयो,’ पुरनले भने । पाँच हजार रुपैयाँ देऊ, आफैं काटेर लैजाऊ भन्दा बन्दा बिक्री नै नभएको उनले बताए । बन्दाको बजार र भाउ बुझ्न उनी काठमाडौं कालिमाटीसम्म पुगे ।

‘माघ ४ गते म कालिमाटी पुगेँ । त्यहाँका व्यापारीले बन्दा, काउली, भ्यानन्टा त ल्याउँदै नल्याऊ भने,’ पुरनले सुनाए । कालिमाटी थोक बजार बाहिर प्रतिकिलो ३० रुपैयाँका दरले धमाधम बन्दा बिक्री भएको थियो । आफूले दुई रुपैयाँमा पठाउन खोज्दा पनि बिक्री नभएको देख्दा रुन मात्र नसकेको पुरनले सुनाए । डेढ लाख रुपैयाँ खर्च गरेर उनले डेढ बिघामा लगाएको बन्दा यो वर्ष त्यसै नोक्सान भयो ।

‘नहटाईकन बन्दामाथि नै ट्रयाक्टर लगाउँदा पछि कुहिएर अरू बालीलाई नोक्सान गर्छ । त्यसैले हटाउनै पर्छ । यो हटाउन पनि खर्च नै लाग्छ,’ पुरनले भने । गाईवस्तुलाई धेरै ख्वाए चिसो हुने हुँदा हटाउनुको विकल्प नभएको उनी बताउँछन् । बन्दा मात्रै किन यो पटक केराउको हालत पनि उस्तै छ । बजारमा प्रतिकिलो ८० रुपैयाँका दरले केराउ कोसा बिक्री हुन्छ । तुलसीपुरका किसान सोहरा महतोले प्रतिकिलो २० रुपैयाँ पाउनेभएका छन् ।

‘टिप्ने बेलामा ज्याला नै प्रतिकिलो १० रुपैयाँ खर्च हुन्छ । अरू खर्च अनगिन्ती छ, मूल्य २० रुपैयाँ पर्ने भयो,’ सोहराले भने । त्यहाँका तरकारी किसान चैनपुर ज्यामिरेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारीमा आबद्ध छन् । यो सहकारी चितवनकै प्रमुख तरकारी सहकारी हो ।

यसमा आबद्ध किसानको संख्या ३ सय ६५ घर रहेको अध्यक्ष पूर्णदत्त भुसालले बताए । यहाँको मुख्य उत्पादन नै बन्दा हो । भुसालका अनुसार अघिल्लो वर्ष एक करोड रुपैयाँको बन्दा बिक्री भएको थियो । किसानले सरदर प्रतिकिलो १३ रुपैयाँ मूल्य पाएका थिए । तर यो वर्ष बन्दा मात्रै नभएर सबै खाले तरकारीको मूल्य आएन । बजारमा उपभोक्ताले महँगो तिरे पनि किसानले मूल्य नपाएको भुसालले बताए । ‘हाम्रो केराउ पोटिलो हुन्छ, कोसामा ८/१० वटा दाना हुन्छन् । भारतीय केराउ हाम्रो भन्दा निकै सस्तो छ । तर ४/५ दाना पनि हुँदैन । बजारमा भारतीय केराउ बिक्री भइरहेको छ,’ किसान सोहराले भने ।

बिक्री नहुने भएका कारण व्यापारीले तरकारी नै नउठाउने उनले बताए । ‘रोग आए, पानी परे, हुरी आए, असिना आए हामीलाई नै मार हो । मूल्यको मार पनि हामीलाई नै हो । व्यापारीले त फाइदा भए मात्र उठाउँछ,’ उनले भने ।
कुनै बेला दुई बिघामा तरकारी खेती गर्ने उनी अहिले २५ कठ्ठामा खुम्चेका छन् । यस्तो नोक्सान हरेक वर्ष हुने गरेको सोहरा सुनाउँछन् । ‘बन्दा यो पटक मात्रै हैन यसअघि पाँच पटक मैले जोतिसकेँ । बन्दा घटाउँदै लगेर अरू लगाएको त्यसको पनि हालत उस्तै भयो,’ सोहराले भने ।

किसानले मूल्य नपाए पनि बजारमा भारतबाट तरकारीहरू नआएको नारायणगढको थोक तरकारी बजारका सञ्चालक थिरप्रसाद भुसाल बताउँछन् । ‘यही उत्पादन धेरै छ । भारतबाट बन्दा, काउली, केराउ ल्याउनु पर्दैन । अहिले बिहेको सिजनको चाप पनि छैन । चिसो पनि छ । त्यसैले बजारमाखपत नभएका कारण मूल्य नआएको हो,’ भुसालले भने ।

प्रकाशित : माघ १४, २०७५ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्