विद्यालयमा पानी बोक्न कर्मचारी- प्रदेश १ - कान्तिपुर समाचार

विद्यालयमा पानी बोक्न कर्मचारी

तुम्बेवाको सरस्वती विद्यालयमा दैनिक तीन गाग्री पानी बोकेर ल्याउने शर्तमा कर्मचारी भर्ना
पानी बोक्ने कर्मचारीलाई तलब खुवाउन चन्दा संकलन गरी १ लाखको अक्षयकोष
कान्तिपुर संवाददाता

पाँचथर — विद्यार्थीलाई पिउने पानीको समस्या भएपछि तुम्बेवा गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालयले पानी ल्याउन एक जना कर्मचारी नियुक्त गरेको छ ।

पाँचथरको कुम्मायक ५ भुल्केमा रहेको कागेश्वरी आधारभूत विद्यालय भवन ।तस्बिर : चन्द्र कार्की/कान्तिपुर

विद्यालयमा दैनिक तीन गाग्री पानी बोकेर ल्याउने शर्तमा स्थानीय चन्द्रकुमारी तामाङलाई मासिक ३ हजार तलब दिने गरी नियुक्त गरेको हो ।


कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा पानी बोक्ने कर्मचारीलाई तलब खुवाउन अभिभावकले चन्दा संकलन गरी १ लाख रूपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । सोही कोषमा राखिएको पैसाबाट पानी बोकेर ल्याउने कर्मचारीलाई तलब दिने गरिएको प्रधानाध्यापक तिलक दाहालले बताए ।


व्याजले मात्र कर्मचारीलाई तलब खुवाउन नपुग्ने भएकाले कुनै महिना ऋण खोजेर पनि पानी बोकेर विद्यार्थीलाई खुवाउने कर्मचारीलाई तलब दिने गरिएको दाहालले बताए । पिउने पानी अभावमा विद्यार्थी र शिक्षकलाई समस्या भएकाले यसो गरिएको जनाइएको छ । केही वर्ष अघिसम्म विद्यालय परिसरमै केही टाढा रहेको रजया खोलाको पानी आउथ्यो ।


तीन वर्षयता सोही मुहानमा पानी सुकेपछि विद्यार्थी र शिक्षक समेतलाई पिउने पानीको समस्या भएको प्रअ दाहालको भनाइ छ । पानीको मुहान नै सुकेपछि विद्यालय आसपासका बस्तीमा पनि अहिले पानी छैन ।


विद्यालयमा आउने पानीको मुहान सुकेको र अन्यन्त्रबाट ल्याउन अर्को पानी मुहान समेत नभएकाले पानीको ठूलो समस्या भएको विद्यालयले जनाएको छ । पानीको अभाव भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नै गत वर्षदेखि पानी बोक्ने कर्मचारी नियुक्ति गरिएको प्रअ दाहालले बताए ।


विद्यालयले पानी बोक्न नियुक्त गरिएकी कर्मचारी चन्द्रकुमारीलाई टाढा रहेको तीनधारे खोला र घिसिङ गाउँको सुक्न लागेको धाराबाट एक गाग्री पानी ल्याउन ३ घण्टा समय लाग्ने गरेको छ । विद्यालयबाट पानी लिन जाँदा ४५ मिनेट ओरालो झर्नुपर्छ ।


पानी भरेर उकालो आउँदा २ घण्टा समय लाग्ने गरेको उनले बताइन् । पानी भर्न पालोमा बस्नुपर्ने भएकाले कुनै दिन त थप समय लाग्ने गरेको उनको भनाइ छ । बोकेर भए पनि विद्यालयमा पिउने पानीको व्यवस्था गरिएपछि पठनपाठनमा केही सहज भएको विद्यालयले जनाएको छ ।


समय र खर्च गरेर टाढादेखि बोकेर ल्याएको पानी विद्यार्थीलाई एकदमै फारू गरेर पिउन दिने गरिएको छ । विद्यालयमा अध्ययनका लागि आएका विद्यार्थी पिउने पानी नपाएपछि पानी खोज्दै तल रहेको तीनधारे खोलासम्म पुग्ने गरेका थिए । तिर्खा लागेर विद्यालय नजिक रहेका गाउँका घरमा पानी माग्न जाँदा समेत नदिने गरेको कक्षा ४ मा अध्ययनरत सुनिल तामाङले बताए ।


पानी खोज्दै टाढा पुग्नु पर्दा कक्षा कोठाको पढाइ र हाजिरी समेत छुट्ने गरेको र शिक्षकले समेत पढाइ छुटाएको भन्दै पिट्ने गरेको उनले पीडा सुनाए । विद्यालयमा पिउने पानीको समस्या समाधानका लागि सम्बन्धित वडा, गाउँपालिका र जिल्ला समन्वय समिति समक्ष माग गरेको तर कुनै सुनुवाइ नभएको विद्यालयको भनाइ छ । वडाध्यक्ष मोतिराज तामाङले सरस्वती आधारभूत विद्यालय जस्तै वडामा रहेका गर्भवती आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा पनि पिउने पानीको चरम समस्या रहेको बताए ।


विद्यालयमा अहिले १ सय ७८ विद्यार्थी अध्ययनरत छन् । सवै विद्यार्थीलाई एक जनाले दैनिक बोकेको तीन गाग्री पानीले पिउन नपुग्ने गरेको विद्यालयले जनाएको छ । पानी बोक्न राखेको कर्मचारीलाई दिनमा तीन गाग्री पानी ल्याउदा रात पर्ने गरेको छ । योभन्दा बढी पानी बोकेर ल्याउन नसक्ने अवस्था रहेको स्थानीय सुदिप सम्बाहाम्फले बताए । बेंसीको यो विद्यालयमा पिउने पानी समेत नपाएपछि विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको विद्यालयले जनाएको छ ।

गाउँपालिका पानी बेच्दै

कुम्मायक गाउँपालिकाले स्थानीय बासिन्दालाई पानी बिक्री गरेर झन्डै ५ लाख रूपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाले अढाई महिनामा टयाक्टरमा जडान गरिएको ट्याङकरबाट ओसारेको पानी बेचेर ४ लाख ७५ हजार रूपैयाँ आम्दानी गरेको हो ।


गाउँपालिकाले यासोक बजार र आसपास क्षेत्रका बासिन्दालाई यो अवधिमा ६ लाख ६८ हजार लिटर पानी बिक्री गरेको जनाएको छ । गाउँपालिकाले ६० पैसा प्रतिलिटर दरमा उपभोक्तालाई पानी बिक्री गर्दै आएको छ ।


टयाक्टरमार्फत टाढाबाट ल्याइएको पानी उपभोक्ताको घरमै पुर्‍याइदिने गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बतााए । सुख्खा क्षेत्रका बासिन्दालाई पिउने पानीको समस्या भएकाले नोक्सान सहेरै भए पानी बोकेर खुवाएको अध्यक्ष चेम्जोङको भनाइ छ ।


पानी बिक्रीबाट आएको पैसाले टयाक्टर मर्मत, इन्धन तथा चालक र सहयोगी कर्मचारीका लागि समेत पैसा नपुग्ने गरेको गाउँपालिकाले जनाएको छ । स्थानीयको पानीको माग धान्न नसकेपछि गाउँपालिकाले अर्को ट्यांकर जडित टयाक्टर खरिद गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईले बताए । खरिद गर्न रकम अभाव भए भाडाको टयाक्टर भए पनि खोजेर पानी ल्याएर सुक्खा क्षेत्रका बासिन्दालाई वितरण गरिने अधिकृत भट्टराईले बताए ।


सुख्खायाम सुरु भएसँगै भएका पानीका मुहान पनि सुकेकाले अघिल्लो वर्षभन्दा यो वर्ष पानीको थप समस्या भएको गाउँपालिकाले जनाएको छ । स्थानीयले दिनहुँ पानीको माग गर्दै तोकिएको पानीको मूल्य तिरेर गाउँपालिकामा रसिद कटाउने गरेका छन् । गाउँपालिका कार्यालयमा एकैदिन १ लाख ५० हजार लिटर बढी पानीको माग गर्दै स्थानीयले तोकिएको शुल्क तिरेर निवेदन दिने गरेको गाउँपालिकाले जनाएको छ ।


पानीको मुहान टाढा भएको र पानी बोकेर ल्याउने साधन एउटा मात्र भएकाले उपभोक्ताले मागेजती पानी पुर्‍याउन समस्या भएको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए । ‘पानीको माग धान्नै नसक्ने अवस्था छ,’ अध्यक्ष चेम्जोङले भने । अध्यक्ष चेम्जोङका अनुसार गाउँपालिकाले उपभोक्तालाई प्रतिदिन २० हजार लिटर मात्र पानी ल्याएर वितरण गर्दै आएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

धान अहिलेसम्मकै महँगो

गत वर्ष एक मन धानको मूल्य ९ भएकोमा यसपालि ११ सय
भारतमा पनि धान महँगिएका कारण बिचौलियाले बढी मूल्य तोक्न बाध्य
कान्तिपुर संवाददाता

विराटनगर — बिचौलियाले मूल्य निर्धारण गरे पनि रंगेलीका किसान खडगबहादुर बानियाँ एक मन कान्छी बाँस धानको मूल्य ११ सय रुपैयाँ पाउँदा दंग परे ।

यसपालिको धानको मूल्यले उत्पादन लागतमात्र असुली नभएर नाफा पनि दिएको छ । गत वर्ष त्यही एक मन धानको मूल्य ९ सयमात्र पाएको उनको भनाइ थियो ।

कानेपोखरी १ का सुरेन्द्र कार्की पनि यसपालिको धानको मूल्यले उत्पादन लागत कटाएर नाफा भएको बताउँछन् । धनले यसपालि अहिलेसम्मकै सर्वाधिक मूल्य पाएको छ । उनले भने हरेक साल यस्तै मूल्य पाउने हो भने किसानका दिन फर्कने थिए ।

मोरङका किसानले प्राय: गरी बाँस कान्छी, सोना मन्सुली, राधा बाह जातको धानको खेती गर्छन् । ती तीनवटै जातको मूल्य यसपालि प्रतिमन सरदर एघार सय छ । गत वर्ष त्यही धानको मूल्य प्रतिमन सरदर ९ सय थियो । यसपालि भारतमा पनि धानको मूल्य बढी भएकाले यताका किसानले पनि मूल्य राम्रो पाएको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र प्रमुख राजेन्द्र उप्रेतीको भनाइ छ । उनका अनुसार भारतमा मूल्य घटदा यता पनि घट्छ ।

पूर्वी तराईका किसानले हरेक वर्ष विचौलियाले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्दै आएका छन् । उप्रेतीले भने यसपालि भारतमा पनि धानको मूल्य बढी भएका कारण यहाँ पनि विचौलियाहरू बढी मूल्य तोक्न बाध्य भएका हुन् । धानको माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर विचौलियाले हरेक दिन साँझ विराटनगरको अतिथि सदन अगाडि मूल्य तय गर्छन् र उनीहरूले तोकेको मूल्यमा भोलिपल्ट धानको खरिद बिक्री हुने गर्छ ।

त्यो मूल्यमा किसानले धान बिक्री गर्दा विचौलियाको कमिसन, मिल मालिक र साना खरिद केन्दको नाफा कटाएर मात्र अन्तिम मूल्य किसानले पाउँछ । त्यो मूल्यमा किसानले धान बिक्री गर्दा विचौलियाले आफूले तोकेको मूल्यमा मिलसँग कमिसन खान्छ । बाँकी रहेको मूल्यमा मिलले आफनो नाफा राखेर साना खरिद केन्द्रलाई मूल्य दिन्छ । त्यो मूल्यमा पनि साना खरिद केन्द्रले आफनो नाफा राखेर किसानको धान खरिद गर्छ ।

यस्तोमा किसानको धानमा तिन ठाउँमा कसिन राखिन्छ । धान मात्र नभई हरेक कृषि उपजको मूल्य विचौलिया र खरिद कर्ताले तोक्ने परम्परा छ । उप्रेतीले भने खरिदकर्ताले जति मूल्य बताउँछ किसान त्यही मूल्यमा आफनो फसल बिक्री गर्न बाध्य छन् ।

सरकारले समयमा समर्थन मूल्य नतोक्दा किसानले हरेक साल मिलले तोकेको मूल्यमा धान बिक्री गर्नुपरेको उद्योग बाणिज्य महासंघका सदस्य अविनाश बोहराको भनाइ छ । मिलले स्थानीय माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर मूल्य कायम गर्छ । बोहराले भने सरकारले समर्थन मूल्य तोक्ने हो भने त्यही मूल्यको सेरोफेरोमा किसानले उचित मूल्य पाउन सक्छ ।

गत वर्षको एक दाना पनि धान स्टक छैन । भारतमा पनि धानको मूल्य राम्रो छ । यसकै कारण यसपालि किसानले धानको राम्रो मूल्य पाएका छन् । उनले भने भारतमा मूल्य बढे यहाँ पनि अझै बढ्छ । यसवर्ष प्रदेश १ मा गत वर्षको तुलनामा १३ दशमलव ८० प्रतिशतले धानको उत्पादन बढेको कृषि विकास निर्देशनालयको तथ्याङक छ ।

गत वर्ष यो प्रदेशमा ११ लाख ८६ हजार ६ सय ३१ टन धान उत्पादन भएकोमा यो वर्ष १२ लाख ६१ हजार ६ सय ६६ टन धान उत्पादन भएको छ । गत वर्ष यो प्रदेशमा ३ लाख २२ हजार १ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष ३ लाख २८ हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ७५ हजार ३५ टन बढी धान उत्पादन भएको हो ।

निर्देशनालयका कृषि प्रसार अधिकृत ह्दयराम पोखरेलका अनुसार गतवर्ष यो प्रदेशमा प्रतिहेक्टर ३ दशमलव ४४ टनले धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर ३ दशमलव ८४ टनले उत्पादन भएको छ ।

यो प्रदेशमा दशक पहिलासम्म करिव ३ लाख ५० हजार हेक्टरमा धान खेती हुँदा १४ लाख टनसम्म धान उत्पादन हुन्थ्यो । पोखरेलले भने यो प्रदेशको करिव २५ हजार हेक्टर धान खेत अहिले घडेरीमा परिणत भइसकेको अवस्था छ । उनका अनुसार प्लटिङका कारण हरेक वर्ष सरदर हजार हेक्टर धान खेत प्रदेशमा घट्दै गएको पाइएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×