धान अहिलेसम्मकै महँगो

गत वर्ष एक मन धानको मूल्य ९ भएकोमा यसपालि ११ सय
भारतमा पनि धान महँगिएका कारण बिचौलियाले बढी मूल्य तोक्न बाध्य

विराटनगर — बिचौलियाले मूल्य निर्धारण गरे पनि रंगेलीका किसान खडगबहादुर बानियाँ एक मन कान्छी बाँस धानको मूल्य ११ सय रुपैयाँ पाउँदा दंग परे ।

धान अहिलेसम्मकै महँगो

यसपालिको धानको मूल्यले उत्पादन लागतमात्र असुली नभएर नाफा पनि दिएको छ । गत वर्ष त्यही एक मन धानको मूल्य ९ सयमात्र पाएको उनको भनाइ थियो ।


कानेपोखरी १ का सुरेन्द्र कार्की पनि यसपालिको धानको मूल्यले उत्पादन लागत कटाएर नाफा भएको बताउँछन् । धनले यसपालि अहिलेसम्मकै सर्वाधिक मूल्य पाएको छ । उनले भने हरेक साल यस्तै मूल्य पाउने हो भने किसानका दिन फर्कने थिए ।


मोरङका किसानले प्राय: गरी बाँस कान्छी, सोना मन्सुली, राधा बाह जातको धानको खेती गर्छन् । ती तीनवटै जातको मूल्य यसपालि प्रतिमन सरदर एघार सय छ । गत वर्ष त्यही धानको मूल्य प्रतिमन सरदर ९ सय थियो । यसपालि भारतमा पनि धानको मूल्य बढी भएकाले यताका किसानले पनि मूल्य राम्रो पाएको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र प्रमुख राजेन्द्र उप्रेतीको भनाइ छ । उनका अनुसार भारतमा मूल्य घटदा यता पनि घट्छ ।


पूर्वी तराईका किसानले हरेक वर्ष विचौलियाले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्दै आएका छन् । उप्रेतीले भने यसपालि भारतमा पनि धानको मूल्य बढी भएका कारण यहाँ पनि विचौलियाहरू बढी मूल्य तोक्न बाध्य भएका हुन् । धानको माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर विचौलियाले हरेक दिन साँझ विराटनगरको अतिथि सदन अगाडि मूल्य तय गर्छन् र उनीहरूले तोकेको मूल्यमा भोलिपल्ट धानको खरिद बिक्री हुने गर्छ ।


त्यो मूल्यमा किसानले धान बिक्री गर्दा विचौलियाको कमिसन, मिल मालिक र साना खरिद केन्दको नाफा कटाएर मात्र अन्तिम मूल्य किसानले पाउँछ । त्यो मूल्यमा किसानले धान बिक्री गर्दा विचौलियाले आफूले तोकेको मूल्यमा मिलसँग कमिसन खान्छ । बाँकी रहेको मूल्यमा मिलले आफनो नाफा राखेर साना खरिद केन्द्रलाई मूल्य दिन्छ । त्यो मूल्यमा पनि साना खरिद केन्द्रले आफनो नाफा राखेर किसानको धान खरिद गर्छ ।


यस्तोमा किसानको धानमा तिन ठाउँमा कसिन राखिन्छ । धान मात्र नभई हरेक कृषि उपजको मूल्य विचौलिया र खरिद कर्ताले तोक्ने परम्परा छ । उप्रेतीले भने खरिदकर्ताले जति मूल्य बताउँछ किसान त्यही मूल्यमा आफनो फसल बिक्री गर्न बाध्य छन् ।


सरकारले समयमा समर्थन मूल्य नतोक्दा किसानले हरेक साल मिलले तोकेको मूल्यमा धान बिक्री गर्नुपरेको उद्योग बाणिज्य महासंघका सदस्य अविनाश बोहराको भनाइ छ । मिलले स्थानीय माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर मूल्य कायम गर्छ । बोहराले भने सरकारले समर्थन मूल्य तोक्ने हो भने त्यही मूल्यको सेरोफेरोमा किसानले उचित मूल्य पाउन सक्छ ।


गत वर्षको एक दाना पनि धान स्टक छैन । भारतमा पनि धानको मूल्य राम्रो छ । यसकै कारण यसपालि किसानले धानको राम्रो मूल्य पाएका छन् । उनले भने भारतमा मूल्य बढे यहाँ पनि अझै बढ्छ । यसवर्ष प्रदेश १ मा गत वर्षको तुलनामा १३ दशमलव ८० प्रतिशतले धानको उत्पादन बढेको कृषि विकास निर्देशनालयको तथ्याङक छ ।


गत वर्ष यो प्रदेशमा ११ लाख ८६ हजार ६ सय ३१ टन धान उत्पादन भएकोमा यो वर्ष १२ लाख ६१ हजार ६ सय ६६ टन धान उत्पादन भएको छ । गत वर्ष यो प्रदेशमा ३ लाख २२ हजार १ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष ३ लाख २८ हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ७५ हजार ३५ टन बढी धान उत्पादन भएको हो ।


निर्देशनालयका कृषि प्रसार अधिकृत ह्दयराम पोखरेलका अनुसार गतवर्ष यो प्रदेशमा प्रतिहेक्टर ३ दशमलव ४४ टनले धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर ३ दशमलव ८४ टनले उत्पादन भएको छ ।


यो प्रदेशमा दशक पहिलासम्म करिव ३ लाख ५० हजार हेक्टरमा धान खेती हुँदा १४ लाख टनसम्म धान उत्पादन हुन्थ्यो । पोखरेलले भने यो प्रदेशको करिव २५ हजार हेक्टर धान खेत अहिले घडेरीमा परिणत भइसकेको अवस्था छ । उनका अनुसार प्लटिङका कारण हरेक वर्ष सरदर हजार हेक्टर धान खेत प्रदेशमा घट्दै गएको पाइएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?