१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

६८ लाखसहित तीन हुण्डी कारोबारी पक्राउ

सहकारी अध्यक्ष पनि पक्राउ
देवनाराण साह

मोरङ — विराटनगर महानगर क्षेत्रमा सहकारीको आडमा हुण्डी कारोबार भइरहेको रहस्य खुलेको छ । जिल्ला प्रहरी मोरङले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा यहाँका एक सहकारी संस्थाका अध्यक्ष सहित तीन जनालाई आइतबार पक्राउ परेपछि यो रहस्य खुलेको हो । प्रहरीले स्रोत नखुलेको ६८ लाख ५७ हजार ६ सय रुपैयाँ समेत सहकारीबाट बरामद गरेको छ ।

६८ लाखसहित तीन हुण्डी कारोबारी पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ३२ वर्षीय राजेश हेडा, व्यवस्थापक ४१ वर्षीय दिपक कुमार कर्ण र अर्का कर्मचारी २५ वर्षीय सुमित साहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।


‘विराटनगर ७ घर भएका अध्यक्ष हेडाको कार्यकक्षबाट स्रोत नखुलेको ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद भएको छ,’ उनले भने, ‘विराटनगर ११ घर भएका सहकारीका कर्मचारी साहले अध्यक्ष हेडाबाट बुझेर लग्न लागेको अवस्थामा ९ लाख ५० हजार बरामद भएको छ ।’


अनुसन्धानका लागि विराटनगर १२ घर भएका सहकारीका व्यवस्थापक कर्णलाई नियन्त्रणमा लिएको उनले बताए । साहले उक्त रकम कहाँ लग्न लागेको बारेमा उनीहरुले अहिले केही नभनेकोले अनुसन्धानपछि भन्न सकिने श्रेष्ठले बताए ।


प्रारम्भीक अनुसन्धानका क्रममा सहकारीका अध्यक्ष हेडाले बरामद भएको रकम हुण्डी कारोबारको रहेको स्वीकारेको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।


पक्राउ परेका मध्ये हुण्डी कारोबार गर्ने मुख्य व्यक्ति अध्यक्ष हेडा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘सहकारीको आडमा हुण्डी कारोबार गरेको देखियो,’ केसीले भने, ‘यहाँ अझै हुण्डी कारोबारको ठूलो सञ्जाल हुन सक्छ ।’ पक्राउ परेका तीनै जनालाई रकम सहित कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनायो ।


यस अघि भारतबाट विराटनगरतर्फ हुण्डीको पैसा ल्याउँदै गर्दा ३९ लाख सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : पुस २९, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?