कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उखुसँगै अन्तरबाली

एकै स्थानमा बहुबाली लगाउँदा लागत कम
देवनारायण साह

मोरङ — उखु खेतीमा लागत कम गर्नका लागि कृषकहरूले अन्तरबाली खेती सुरु गरेका छन् । कृषकहरूले उखु रोपेकै खेतमा आलु, काउली, बन्दा, मटर, तोरी, गाजर, मुला, राजमा खेती गरेका हुन् । 

उखुसँगै अन्तरबाली

सुनसरीको देबानगन्ज गाउँपालिका २ सञ्जय मेहताले यस वर्ष लगाएको डेढ बिघा उखु खेतीमा अन्तरबाली खेती सुरु गरेका छन् । उनले उखुसँगै काउली, तोरी, राजमा, बन्दा, मुला र आलु लगाएका छन् ।


‘यसअघि उखु रोपेपछि अन्य बाली लगाउने गरेको थिइन तर यसपालि पहिलो चोटी अन्तरबाली खेती सुरु गरेको छु,’ उनले भने, ‘उखु रोपेपछि त्यसैमा लगाएको काउली, तोरी, राजमा, बन्दा, मुला र आलु बाली राम्रो सप्रेको छ ।’


अहिलेसम्ममा ७ क्विन्टल मुला ५/६ रुपैयाँ प्रतिकिलोका दरमा बिक्री गरिसकेको मेहताले बताए । मटर १० हजार जतिको फल्ने अवस्था रहेको छ भने आलु न्यूनतम २५ मन फल्ने उनको भनाइ थियो । ८ कठ्ठा जतिमा रहेको राजमा १६ मनभन्दा बढी फल्ने उनको अनुमान रहेको छ ।


बन्दा, काउली र बरकाउली पनि राम्रो फष्टाएकाले उखु र अन्तरबालीमा लागेको लागतभन्दा बढी आम्दानी हुने महतोको भनाइ छ ।


‘हामीलाई यसअघि अन्तरबालीबारे जानकारी नै थिएन तर यस वर्ष सुरु गर्दा राम्रो फाइदा हुने भएको छ,’ उनले भने, ‘अन्तरबालीले उखु खेतीका लागि लिएको ऋण तिर्नुका साथै घर खर्चसमेत पुग्ने गरी उत्पादन हुने भएको छ ।’ उखुबाट हुने आम्दानी आफ्ना लागि बोनस हुने उनको भनाइ छ ।


देबानगन्ज ५ का कृषक सुबोधकुमार यादवले ५ बिघा जग्गामध्ये ३ बिघामा उखुसँगै केही जग्गामा गत वर्ष राजमाको अन्तरबाली खेती लगाएका थिए । ‘अघिल्लो वर्ष परीक्षणका लागि १ बिघामा अन्तरबाली खेती लगाएको थिएँ,’ उनले भने, ‘१ बिघामा ४० मनभन्दा बढी राजमा उब्जेको थियो ।’


१ बिघामा उखु र राजमा खेतीमा एक लाख लागत लागेको थियो । अन्तरबालीमा उब्जेको राजमा थोकमा ९५ र बीउमा १ सय ५० रुपैयाँ किलोका दरमा बिक्री हुँदा एक लाख जति फाइदा भएको यादवले बताए ।

‘गत वर्ष लगाएको उखुमा अन्तरबालीले घाँस उम्रन नपाएको र गोडमेल भइरहेकाले उखु पनि राम्रो फस्टाएको छ,’ उनले भने, ‘उन्नत जातको सिओ ०२३८ जातको उखु लगाएको प्रतिकठ्ठा ५०/६० क्विन्टल उब्जिने भएको छ ।’ उनले अन्तरबालीले लागतभन्दा बढी सुरुको तीन महिनामा नै फाइदा हुने र उखु पनि राम्रो फस्टाउने भएकाले बाँकी जग्गामा पनि यस वर्ष उखुसँगै अन्तरबाली खेती गरेको बताए ।


देबानगन्ज २ का सबुल अन्सारीले उन्नत जातको उखुसँगै यति बेला ५ बिघामा अन्तरबाली खेती गरेको बताए । उनले उन्नत जातको उखुसँगै एउटै खेतमा राजमा, गोलभेडा, आलु, काउली र गाजर लगाएको बताए ।


उनले गत वर्षमा अन्तरबाली खेतीबाट राम्रो फाइदा गर्न सफल भएकाले यस वर्ष अन्तरबाली खेती बिस्तार गरेको बताए । उखु लगाएको सुरुको तीन महिनामा नै प्रतिबिघा १ लाख ५० हजार रुपैयाँ फाइदा हुने उनको अनुमान छ । ‘आफ्नो ७/८ कठ्ठा जग्गासहित भाडामा १९ बिघा जग्गा लिएर व्यावसायिक खेती गर्दै आएको छु,’ उनले भने, ‘पराम्परागत शैलीलाई छोडेर नयाँ प्रविधि अपनाएपछि खेतीमा फाइदा बढेको छ ।’


डयाङ बनाएर पाँच फिटको चौडाइको बीचमा उन्नत जातको उखु लगाएको अन्सारीले बताए । ‘उखुको लाइन छोडेर बीचमा अन्तरबाली लगाएको उनले सुनाए । सनुसरीमा एक सय र मोरङमा ५० बिघामा यस वर्ष उखुमा अन्तरबाली खेती सुरु भएको छ ।


उखु किसानले अन्तरबाली खेती गर्दा अन्य बालीबाट लगानी उठाउने भएकाले यस खेतीतर्फ कृषकको आकर्षण बढेको इस्टर्न सुगर मिलका उखु प्रबन्धक सुरेश प्रसाद मेहताले बताए । ‘उखु किसानहरूलाई हामीले अहिले अभियानका रूपमा अन्तरबाली खेती प्रणालीतर्फ अगाडि बढाएका छौं,’ उनले भने, ‘उखु लगाएको तीन महिनामा नै लागतसहित फाइदा पनि हुने भएकाले अन्तरबाली खेतीलाई अघि बढाइरहेका छौं ।’


प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले जिल्लाका किसानले सीमित जग्गाको उपयोग गर्दै अन्तरबाली खेती प्रणालीबाट राम्रो आम्दानी गरेको बताए । ‘कुन बालीसँग कुन प्रकारको अन्तरबाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान पाएपछि किसान यस्तो खेती प्रणालीमा आकर्षित भएका हुन्,’ उनले भने, ‘एउटै बाली लगाउँदा किरा लाग्ने गर्दछ तर अन्तरबाली लगाउँदा किराले आक्रमण गर्न सक्दैन ।’


उनले प्रदेश १ मा ९ लाख २७ हजार ४ सय १९ हेक्टर खेतीयोग्य जग्गामध्ये ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा उखु खेती भइरहेको बताए । उखु खेतीमध्ये २ देखि ५ प्रतिशत अन्तरबाली खेती कृषकले लगाएको उनले बताए ।

प्रकाशित : पुस १७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?