कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भेडेटारमा खाना महोत्सव

धनकुटा — पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा सोमबार तीन दिने सातौं खाना महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा महोत्सव आयोजना गरिएको हो ।

भेडेटारमा खाना महोत्सव

महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । होटल एसोसिएसन भेडेटारको आयोजनामा थालिएको महोत्सवमा स्थानीय मौलिक परिकार मुख्य आकर्षण रहेको महोत्सवका संयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए ।


यसैगरी लिम्बू, मगर, याखा, राई लगायत जातिको मौलिक सांस्कृतिक झाँकी, हस्तकलाका सामग्री लगायत समावेश गरिएको छ । आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटल व्यापार व्यवसाय, होमस्टे, कृषि तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव फलदायी हुने एसोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीको भनाइ छ ।


महोत्सवमा सहभागी हुन स्वदेशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट पर्यटक आउन सुरु भइसकेको छ । भेडेटारका अधिकांश होटल अग्रिम बुकिङ भइसकेका छन् । ४० स्टल र आसपासका होटललाई समेत थप स्टलका रूपमा समावेश गरिएको छ ।


भेडेटार, नाम्जे, थुम्की, होमस्टे, नमस्ते झरना, राजारानी ताल लगायत स्थानको अवलोकन गर्न अन्य बेला उल्लेख्य चहलपहल हुने भए पनि महोत्सवले थप ऊर्जा थपिने आयोजकको दाबी छ । फेस्टिवलमा एक करोडको कारोबार तथा कम्तीमा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।


राष्ट्रिय र स्थानीय स्तरका कलाकारको सांगीतिक प्रस्तुति समेत रहनेछ । खाना महोत्सवमा आउने आगन्तुकलाई प्याराग्याइडिङ, माउन्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ । यसैगरी हेलिकप्टरबाट आसपासका स्थान अवलोकन गराउन थालिएको छ ।

प्रकाशित : पुस १७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?