सामाजिक सुरक्षा योजनाप्रति आशा

सामाजिक सुरक्षा कार्यक्रमबाट मजदुरले पेन्सन र बिमा गराउन पाउने 

मोरङ — विराटनगर जुट मिल्समा कार्यरत ५० वर्षीया सावित्री राईले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमबारे सुनेकी छन् । उनलाई यसबाट के पाइन्छ भन्ने चाहिँ थाहा छैन ।

‘मजदुरी गरेर जीवन बित्न लागेको तर त्यसबाट प्राप्त भएको ज्यालाले कहिल्यै पनि दुई छाक पेटभरी खान पुगेन,’ उनले भनिन्, ‘अब सरकारले ल्याएको नयाँ कार्यक्रमले मजदुरका लागि केही कि भन्ने आश गरेको छु ।’ मिल्सका अर्का मजदुर विराटनगर १६ का देवीप्रसाद खतिबडाको पनि भनाइ यस्तै छ ।


नलाई पनि सामाजिक सुरक्षा कार्यक्रमबाट मजदुरले के पाउँछन् भन्ने थाहा छैन । यस्तै, स्विटर र आउटर उत्पादन गर्दै आएका विराटनगरको रानीस्थित टराइकोट इन्डस्ट्रिजमा विराटनगर १५ की रीता प्रधानले सामाजिक सुरक्षा मजदुरको हितमा भएको थाहा पाएको बताइन् । ‘सामाजिक सुरक्षा कार्यक्रमबाट मजदुरले पेन्सन र बिमा गराउन पाउने सुनेकी छु,’ उनले भनिन्, ‘अरू केकस्ता सेवा सुविधा पाइन्छ भन्नेबारे बिस्तारै जानकारी हुन्छ ।’


बुढीगंगा ५ स्थित दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्समा कार्यरत फगनी राजबंशीले सामाजिक सुरक्षाले मजदुरलाई अब राम्रो हुने थाहा पाएको बताइन् । ‘साथीहरूले यो कार्यक्रमले अब जागिरबाट हटे पनि पेन्सन पाउने सुनाएका थिए,’ उनले भनिन्, ‘हामी महिलाहरूले अब प्रसूति विदामा बस्दा पनि तलब पाउने व्यवस्था सरकारले गरेको छ अरे ।’


उनीहरूजस्तै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका अधिकांश मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रमबाट मजदुरहरूले पाउने सेवा सुविधाबारे जानकारी छैन । निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबाट प्राप्त हुने सेबा, सुविधाबारे उनीहरू बेखबर छन् ।


यो कार्यक्रमअन्तर्गत मजदुरलाई प्राप्त हुने निवृत्तिभरण, स्वास्थ्योपचार, मातृत्व सुरक्षा, बिरामी बिदा, दुर्घटना वा असक्तता सुरक्षा योजना, शिक्षा, आश्रित परिवार सुरक्षा योजनालगायतको सेवा, सुविधाबारे यहाँका मजदुरहरूलाई जानकारी प्राप्त भएको छैन । उनीहरूले यसले मजदुरले पाउने सुविधाबारे सरकारी पक्षबाटै जानकारी गराउने व्यवस्था गर्नुपर्ने माग गरे ।


ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष किशोर धमलाले नेपालको इतिहासमा पहिलो पटक सुरु गरिएको योगदानमा आधारित सुरक्षा योजना कार्यक्रम मजदुर र रोजगारदाता दुबैको हितमा भएको बताए । सामाजिक सुरक्षा कार्यक्रमबाट मजदुरले पाउने सेवा, सुविधाका बारेमा जानकारीमूलक कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने उनले माग गरे । जानकारी नै नभएको सुविधा लिनबाट पछि पर्न सक्ने जोखिम रहेको उनको भनाइ थियो ।


नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कार्यक्रम पहिलोपटक भएकाले यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक भएको बताए । समाजवादी ट्रेड युनियनका उपाध्यक्ष तेजलाल कर्णले यहाँका अधिकांश उद्योगमा भारतीय मजदुर ल्याएर उद्योगीले काम गराइरहेकोमा नियमन गर्न नसकिएको बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?