२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बेमौसमी तरकारीले बढायो आम्दानी

तेह्रथुम — बेमौसमी तरकारी खेतीबाट किसानले राम्रो आम्दानी गरिरहेका छन् । छिमेकी जिल्ला धनकुटा, संखुवासभा र तेह्रथुमका हजारौं किसान यसमा लागेका छन् । 

किसानको जीवनस्तर उकास्न सहयोगी बनेको यो खेती विस्तार गर्ने अगुवाका रूपमा चिनिएका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका परेवादिनका मेघेन्द्र गुरूङ । २०४७ सालतिर उनी भारतको झारखण्ड गएका थिए । त्यहाँका किसानले आफ्नो बारीमा खेती गरेको बेमौसमी तरकारीले मनग्य आम्दानी गरेको र धेरै किसानको जीवनस्तर सुधारिएको उनले पाए ।


‘त्यसपछि हामीकहाँ पनि यस्तो गर्न सकिन्छ भन्ने लाग्यो,’ गुरङले भने, ‘अचेल त यहाँ बेमौसमी खेती गर्ने किसान धेरै छन्, राम्रो कमाइ भइरहेको छ ।’ त्यस बेला वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसारण, विकास केन्द्रका तत्कालीन आयोजना संयोजक रामानन्दप्रसाद गुप्ताले तयार पारेको महिला कृषकको आयमुलक परियोजना धरान बसन्तपुर सडक खण्ड आसपास गाउँमा सञ्चालन हुने तरखर थियो ।


भारतको झारखण्डमा समेत यस्तै परियोजनामार्फत किसानले व्यावसायिक बेमौसमी तरकारी खेतीबाट उन्नति गरेको देखेका गुरुङले यसैमा आफ्नो र आसपासका ३०ं हजारभन्दा बढी किसानको भविष्य देखे र यतै लागे ।


‘एकल खेती सामूहिक व्यवस्थापन’ नारासाथ सहकारीको अवधारणा अनुसार धनकुटा, संखुवासभा र तेह्रथुमका किसानलाई संगठित गरी बेमौसमी तरकारी खेती गर्न प्रोत्साहित गर्दै कृषि उद्यममा लागेका गुरुङले पाएको सफलता लोभलाग्दो छ । पूर्वका धेरै जिल्लाका किसानका खेतबारीमै पुगेर बेमौसमी तरकारी खेती, अर्गानिक तरकारी उत्पादन, रोग किरा नियन्त्रण, बजार व्यवस्थापन, न्यून लागतमा बढी उत्पादन गर्ने सीप र तरिका उनले सिकाइसकेका छन् ।


‘हामीले अनुसरण गरेको तरिका संसारमा निकै सफल मानिएको तरिका रहेछ,’ गुरुङले भने । किसानलाई संगठित गरी बेमौसमी तरकारी खेतीको विकास र विस्तार गर्न त्यसताका नै सिंधुवा बजारमा खोलिएको सिंधुवा बहुउद्देशीय सहकारी संस्था लिमिटेड र सिंधुवा कृषि भण्डार अहिले पनि पूर्वकै नाम चलेका किसानका संस्थाका रूपमा गनिन्छन् ।


गुरुङ यी संस्थाको प्रमुख बजार व्यवस्थाक र प्रबन्ध निर्देशकका रूपमा काम गर्छन् । यिनै संस्थामार्फत वर्षेनी ४० देखि ४५ करोड भारतीय रुपैयाँ बराबरको तरकारी यस क्षेत्रका किसानले भारतीय बजारमा निर्यात गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी भारतको जोगबनी, सिलगुढी, पानीट्यांकी, कोलकातालगायत बजारसम्म पुग्ने गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?