खेत चहार्दै मुसा मार्दै

मुसाको दुलोभित्रमा ५/१० किलोसम्म धान/गहुँ भेटिने
सतार जातिमा मुसा मारेर खानुका साथै अन्न संकलन गर्ने पुर्ख्यौली पेसा

मोरङ — हातमा गुलेली, काँधमा कोदालो, प्लास्टिक झोला, बोरा र लाइटरलगायत सामग्री लिएर बालकदेखि युवासम्मका एक हुल खेततिर लागे । उनीहरू धनपालथान गाउँपालिका ६ कदमहाका सतार जातिका बालक तथा युवा हुन् ।

खेत चहार्दै मुसा मार्दै

उनीहरूको तयारी हेर्दा ठूलै जनावरको सिकार गर्लान् जस्तो लाग्थ्यो । तर, उनीहरूको योजना धान खेतमा रहेको मुसा मार्ने रहेछ । धान र गहुँबाली भित्र्याउने समयमा उनीहरू मुसाको सिकार गर्ने परम्परा छ । ८ जनाको उनीहरूको समूह धनपालथान ६ स्थित पिण्डेश्वर विद्यालय अगाडिको धान खेतमा पुग्यो । धानबाली काटेर पराल उठाउन बाँकी रहेको खेतमा उनीहरू छरिए । सनोज टुडुले ‘भेट्यो’ भन्ने बित्तिकै सबैजना कुद्दै एकै ठाउँमा भेला भए ।


सनोजले मुसाको प्वाल भेटेको थियो । उनीहरूमध्ये कसैले कोदालोले खन्न थाले भने कसैले नजिकै रहेको पराल ल्याई मुसाको दुलोमा आगो बाले र माथिबाट माटोले पुरे । माथिबाट दुलो बनाएर पालैपालो ३ जनाले मुखले फुक्न थाले र अन्य खेतभरि छरिएर गुलेली र कोदालो लिएर तयारीका साथ बसे । अलि पर धुवाँ लागेर अचेत भएको मुसा भेटेपछि उनीहरू हर्षित हुँदै त्यो टिपे र हिँडे ।


मुसाको बाहिर एउटै दुलो भए पनि भित्र अनेक दुला हुने गरेको सनोजले बताए । ‘मुसाको सहायक दुलो खन्न निकै सकस हुन्छ, सबै दुला पन्छाउँदै मुसा नभेटेसम्म खनिराख्नुपर्छ,’ उनले भने, ‘दुलो खन्न सुरु गरेको चाल मुसाले पाएपछि अर्को दुलोमा लुक्छ । एउटाबाट अर्काे दुलो खन्दै अन्तिम दुलोसम्म नपुग्दासम्म मुसा मार्न सकिँदैन ।’ सनोजले एउटा दुलो खनेर मुसा निकाल्न कम्तीमा आधा घण्टादेखि १ घण्टा लाग्ने गरेको बताए । ‘धान काटेको १/२ साता भएको खेतमा मुसा भेटाउने सम्भावना कम हुन्छ,’ उनले भने, ‘एउटा दुलोमा कहिले एउटा भेटिन्छ भने कहिले माउसहित ५/६ वटा बच्चा मुसा भेटिन्छन् ।’


मुसाको दुलोभित्र अन्नको भण्डार हुन्छ । धान फल्ने महिनामा धान र गहुँको सिजनमा गहुँको भण्डार हुन्छ । एउटै ददुलोमा ५/१० किलो धान/गहुँ भेट्ने गरेको शिवलाल बेसराले बताए ।

‘मुसाले धान/गहुँ जम्मा गरेर राख्ने र खानका लागि छुट्टै दुलो बनाएको हुन्छ,’ उनले भने, ‘मुसा मार्ने क्रममा एक दिनमा २/३ बोरा धान/गहुँ जम्मा गर्छौं ।’ शिवलाले दिनमा ५/७ वटा दुलो खनेर २०/३० वटा मुसा मार्नुका साथै अहिलेको सिजनमा धान पनि जम्मा गर्ने गरेको तर कुनै बेला रित्तै हात पनि फर्कन बाध्य हुने गरेको बताए ।


अल्पसंख्यक समुदायका सतार जातिमा मुसा मारेर खानुका साथै अन्न संकलन गर्ने पुख्र्यौली पेसा रहेको छ । तराईका अल्पसंख्यक समुदायका मुसहर जातिको पनि यही पेसा अपनाउँछन् ।

सतार समुदायका युवा तथा बालबालिकाले मासुको मासुका साथै रमाइलो गर्नका लागि पनि मुसाको सिकार गर्ने शिवलालले सुनाए । उनले थोरै मुसा भेटाएको बेला आगोमा पोलेर र धेरै भेटाएको बेला घर लगेर मीठो गरी पकाएर खाने गरेको बताए ।


मुसाको मासु मीठो हुने भएकाले यसको सिकार अन्य समुदायका मानिसले पनि गर्न थालेका छन् । जहदा ४ का रोशनकुमार महतोले मासु र धान संकलनका लागि मुसाको सिकार गर्न ४ जनाको समूहमा निस्केका थिए । उनले दिनमा १०/१५ किलो धान र १५/२० वटासम्म मुसा मार्ने गरेको बताए । मुसा मार्ने पुख्यौली पेसा भएका व्यक्तिले नदी, खोलामा पनि मुसा मार्न जाने गरेका छन् । धानपालथान ६ का राजु किस्कुका अनुसार खेतभन्दा खोला, नदीको मुसा ठूलो र मोटो हुने गरेकाले धेरै मासु हुने बताए । उनले खेतमा धान पनि पाउने गरेको तर खोलामा मुसामात्रै पाइने गरेको उनले सुनाए ।

प्रकाशित : मंसिर १२, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?