विवाद मिलाउन धपेडी- प्रदेश १ - कान्तिपुर समाचार

विवाद मिलाउन धपेडी

स्थानीय तहको क्षेत्राधिकारमा परेको विवादलाई न्यायिक रुपमा निरुपण गर्नु न्यायिक समितिको जिम्मेवारी
विप्लव भट्टराई

इलाम — इलाम नगरपालिकाकी उपमेयर सुशीला नेम्बाङ न्यायिक समितिको संयोजक बनेपछि निकै धपेडीमा हुन्छिन् । मुद्दा मामला मिलाउने चटारोले बेलाबखत तनावमा पनि देखिने उनी जिम्मेवारीलाई सहज ढंगले व्यवस्थापन गर्न खोज्छिन् ।

उनलाई मुद्दा किनारा लागेपछि कार्यान्वयनमा गर्न पनि त्यतिकै चुनौती लाग्छ । ‘कतिपय मुद्दा किनारा पनि लाएका छौं’ उनले भनिन्, ‘नगरपालिकाले कार्यान्वयन नगरिदिंदा भने समस्या भएको छ ।’ इजलाश स्थापनसमेत गरेर न्याय सम्पादान गरेको इलाम नगरपालिकाको समितिले ठाडो निवेदन र कानुनी प्रक्रियाअनुसार मुद्दा लिने व्यवस्था मिलाएको छ । मुद्दा फछ्र्योटका लागि २० जना मेलमिलापकर्ता पनि राखिएका छन् । ठाडो उजुरीका २० वटालाई किनारा लगाएको र कानुनी प्रकृया अनुसारका १२ मध्ये ३ मुद्दा सकिएका छन् ।


माई नगरपालिकाकी उपमेयर विष्णुमाया रिजालले एक वर्षमा तीन सयभन्दा धेरै मुद्दा किनारा लगाइन् । अचेल श्रीमान् श्रीमतीका झगडादेखि घरजग्गाका विवाद हेर्दैमा उनको दैनिकी बित्ने गरेको छ । जिल्लाका १० वटै स्थानीय तहले न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो गर्ने अभ्यास सुरु गरे पनि अझै प्रभावकारी देखिएको छैन । स्थानीय तहको क्षेत्राधिकारमा परेको विवादलाई न्यायिक रुपमा निरुपण गर्नु न्यायिक समितिको जिम्मेवारी भए पनि न्यायिक समितिको काम अपेक्षा अनुरुप प्रभावकारी हुन सकेको छैन ।


कमजोर व्यवस्थापन र न्यायिक ज्ञानको अभावले प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । न्यायिक समितीबारे आम मानिसलाई जानकारी हुन नसक्दा पनि न्यायिक समिती प्रभावकारी बन्न नसकेको महिला अधिरकारकर्मी दिपा आर्चायको भनाई छ । न्यायिक समितिबाट न्याय सम्पादनको कार्य गरिन्छ भन्ने जानकारी आम जनता माझ व्यापक रुपमा पुग्न नसकेको अधिकांश समितिको बुझाइ छ ।


समिति बनेपछि प्रहरी कार्यलय र जिल्ला प्रसाशन कार्यलयमा मुद्दाको चाप घटेको देखिन्छ ।

तर स्थानीय तहमा दर्ता भएका मुद्दाहरू प्रहरी र प्रशासनमा जाने गरेको पाइएको छ । स्थानीय तहमा गठित न्यायिक समितिलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवाद खासगरी मेलमिलाप मार्फत निरुपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ ।


न्यायिक समितिले कानुनी प्रक्रिया र मेलमिलापको माध्यमबाट न्याय सम्पादन गरिरहेको छ । न्याय क्षेत्रमा काम गरेका कमचारी अभाव हुँदा काम गर्न असहज भएको कतिपयको गुनासो छ ।

न्यायिक समितिमा प्रक्रियाबारे जानकारी नहुनु, कानुन अभाव र धेरैजसो स्थानीय तहमा उपमेयर महिला भएकाले सबैतिरबाट सहयोग नभएकाले न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न नसेको अधिवक्ता उत्तम पौडेलको भनाइ छ ।


स्थानीय तहमा बनेका न्यायिक समितिले न्याय सम्पादन प्रभावकारी बनाउन समितिको व्यवस्थापन, कानुनका विज्ञको व्यवस्था, आवश्यक कमचारी व्यवस्थासँगै आम जनमानसमा पुग्ने गरी समितिबारे सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको सरोकारवालाको भनाइ छ ।


प्रकाशित : मंसिर ६, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशको खर्च डेढ प्रतिशतमात्रै

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा अन्त्यन्तै कम मात्र बजेट खर्च गरेको छ ।

बजेटको चालु र पुँजीगतमध्ये जम्मा डेढ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको हो । बजेट खर्चको हिस्सा चालुभन्दा पुँजीगतको कम छ ।

कुल बजेटमध्ये पहिलो चौमासिकका लागि चालुतर्फ २ अर्ब ४९ करोड २९ लाख ३२ हजार ४४ रुपैयाँ र पुँजीगततर्फ ८९ करोड २९ लाख ६१ हजार गरी ३ अर्ब ३८ करोड ५८ लाख ९३ हजार ४४ रुपैयाँको खर्च गर्ने अख्तियारी प्राप्त भएको थियो । त्यसमध्ये चालुतर्फ ३२ करोड ३२ लाख ४८ हजार ९ सय २८ र पुँजीगततर्फ २ करोड ७५ लाख ३ सय ७४ गरी जम्मा ३५ करोड ७ लाख ४९ हजार ३ सय २ रुपैयाँ मात्र खर्च भएको छ ।

‘पहिलो चौमासिकको हिसाब गर्दा चालुतर्फ १२ प्रतिशत र पुँजीगततर्फ ३ प्रतिशतमात्रै बजेट खर्च भएको छ,’ प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत श्यामराज जोशीले भने, ‘कुल बजेटको भने डेढ प्रतिशत हाराहारी हुन जान्छ ।’

उनका अनुसार प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी बजेट कास्कीमा खर्च भएको छ । मन्त्रालयदेखि अधिकांश प्रादेशिक संरचना कास्कीमा भएकाले बढी खर्च भएको देखिएको हो । अन्य जिल्लामा प्रदेशका संरचना स्थापना भए पनि कर्मचारीको तलबमात्रै गएकाले खासै खर्च भएको देखिँदैन ।

प्रदेश सरकारले गत असार १ मा चालु आवका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये ४ करोड ५३ लाख १४ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमानको रकम हो । ‘कुन मन्त्रालयले कति खर्च गर्‍यो भन्ने यकिन तथ्यांक आइसकेको छैन,’ जोशीले भने, ‘जिल्लागत खर्च विवरण हो ।’ प्रदेश सरकार गठन भएको करिब ८ महिना पुगेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव ध्रुवप्रसाद पाण्डेले प्रशासनिक बाहेक विकास निर्माण र अन्य योजनामा खर्च हुन नसकेको बताए । मन्त्रालयहरूले धमाधम कानुन र कार्यविधि बनाएर बजेट कार्यान्वयन चरणमा रहेको उनको भनाइ छ ।

‘प्रदेश सरकार गठन भएर काम थाले पनि आवश्यक कानुन, प्रादेशिक संरचना र कर्मचारीको समेत अभावले बजेट कार्यान्वयनमा ढिलाइ भएको हो,’ उनले भने, ‘प्रदेशलाई विभिन्न कार्यालय र संरचना हस्तान्तरण हुँदै आएका छन् । कर्मचारी पनि थपिँदै गएका छन् । अब विकास निर्माण र योजनाले गति लिएर बजेट कार्यान्वयन हुनेछ ।’ मन्त्रालयहरूले बजेट खर्च कार्यान्वयन कार्यविधि बनाइरहेको उनले बताए ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले पनि नयाँ प्रदेश सरकार, कर्मचारी र कार्यालयको व्यवस्थापन अभावलगायत कारणले बजेट सोचेअनुसार खर्च हुन नसकेको बताए ।

प्रकाशित : मंसिर ६, २०७५ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×