कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महानगरमा ‘फाउन्टेन इको पार्क’

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरमा दसैंको अवसर पारेर फाउन्टेन इको पार्क सर्वसाधारणका लागि खुला गरिएको छ  । महानगराभित्र कतै घुम्ने रमनीय स्थल नभएको अवस्थामा यो पार्कमा महानगरवासी रमाउन थालेका छन्  ।

महानगरमा ‘फाउन्टेन इको पार्क’

पार्कको महानगर प्रमुख भीम पराजुलीले उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो । महानगर र मोरङ व्यापार संघले सार्वजनिक निजी साझेदारी मोडेलमा पार्क निर्माण गरेको हो ।

वीरेन्द्रसभा गृहसँगै जोडिएको दक्षिणपट्टिको करिब ५ कठ्ठा जग्गामा पार्क निर्माण गरिएको छ । मुख्य बजारमा रहेको पार्क सर्वसाधारणका लागि खुला गरिएपछि आइतबार दिनभर भरिभराउ रहयो ।

पार्कबाहिर प्रवेशद्वारमा फाउण्टेन इको पार्क लेखिएको माथि पानी निस्किरहेको रमाइलो दृश्यले बाटो हिँड्नेलाई पनि आकर्षित गर्छ । पार्कभित्र प्रवेश गरेपछि गाग्रोबाट पानी झर्दै गरेको दृश्य हेर्दै अघि बढ्ने व्यवस्था मिलाइएको छ । पार्कको बीच भागमा चारैतिरबाट पानीको फोहरा त्यसको मध्यमा नागको फनामुनी रहेको देवीको मूर्तिमा पर्दै गरेको रमणीय दृश्य निर्माण गरिएको छ ।

पार्कको प्रवेशद्वारा र मूर्तिबीचमा दायाँबायाँतर्फ विभिन्न रंगको पानीको फोहरा र त्यसको दायाँबायाँ आकर्षक डिजाइनमा बसाइ व्यवस्थापन गरिएको बगैंचा पार्कभित्र निर्माण गरिएको छ । पार्कको पूर्वोत्तर कुनाको बगैंचामा कलात्मक दुईवटा पुल तरेपछि भित्तामा बनाइएका विभिन्न जनाबरको मुखबाट पानी निस्कदै गरेका आकर्षक धारा छन् ।

दक्षिणपूर्व कुनाको बगैंचाभित्र कलात्मक रूपमा गाग्रोबाट पानी निस्कँदै गरेको देख्न पाइन्छ । आगन्तुकलाई खानपिनका लागि पार्कको पूर्वपट्टि क्यान्टिन छ । पार्कको चारैतिर बालबालिकालाई लक्षित गरी मूर्तिहरू बनाइएको छ । सार्वजनिक निजी साझेदारी मोडेलमा महानगरले ८५ र व्यापार संघले १५ प्रतिशत लगानी गरेर १ करोड ८४ लाख ७ हजार रुपैयाँ खर्चेर पार्क बनाइएको हो ।

महानगरका इञ्जिनियर अनिल सिंहले पार्कभित्र बालबालिकालाई रमाउने संरचना निर्माण गर्न अझै धेरै काम बाँकी रहेको बताए । ‘सर्वसाधारणका लागि पार्क खुला गरिए पनि बालबालिकालाई रमाउने संरचना अझै निर्माण गर्न बाँकी छ,’ उनले भने, ‘चाँडै पार्कलाई बालमैत्री बनाउने काम हुन्छ ।’

तत्कालीन उपमहानगरले व्यापार संघसँग २०६९ साउन ४ मा पार्क निर्माणका लागि सम्झौता गरेको थियो । दुई वर्षभित्र पार्क निर्माण गर्ने सम्झौता गरे पनि संघले ५ वर्ष लगाएर पनि पूर्ण रूपमा निर्माण कार्य सम्पन्न गर्न सकेको छैन ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले तत्काल बाँकी कार्य पूरा गरेर पार्कलाई पूर्णता दिइने बताए । उनले तीन वर्षसम्म पार्क सञ्चालन गरेर भएको आम्दानीले अझै व्यवस्थित र आकर्षण थपिने जनाए । महानगरले पार्क सञ्चालनको जिम्मा व्यापार संघलाई तीन वर्षका लागि दिएको छ । संघले प्रतिव्यक्ति ३० रुपैयाँ पार्क प्रवेश शुल्क निर्धारण गरेको छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?