१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बजारमा अस्वस्थ र म्याद गुज्रेका खाद्यान्न

प्रदीप मेन्याङबो

सुनसरी — धरान उपमहानगरपालिका क्षेत्रमा रहेका मासु व्यवसायीले व्यवस्थित बधशालाको अभावमा मापदण्ड पूरा नगरी उपभोक्तालाई दूषित मासु बिक्री गरिरहेको पाइएको छ ।

बजारमा अस्वस्थ र म्याद गुज्रेका खाद्यान्न

दसैं तिहार जस्ता चाडबाडमा थप बढी मासु खपत हुने भएकाले उपममहानगरपालिको मासु पसल अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाइएको हो ।

उपभोक्तामा स्वस्थ मासु बिक्री वितरणका लागि मापदण्ड कडाइका साथ पालना गराउन उपमहानगरपालिकाले अनुगमन सुरु गरेको हो । एक साताअघिमात्र मासु पसल सञ्चालकहरूलाई भेला गराएर मापदण्डअनुसार मासु पसल सञ्चालन गर्न भनेर तालिम समेत दिएको थियो ।

उपमहनपाका वातावरण अधिकृत भेषराज घिमिरेले भने, ‘सवै मासु पसलेले उपभोक्ताको हितमा मासु पसल सञ्चालन गरेको देखिएन । वडा ३ को माछा भौडी क्षेत्र र धरान ७ को राम मिनिमार्केट समेत गरी १२ वटा मासु पसलमा अनुगमन गर्दा सरसफाइ नभएको, मासु तौलने ढक तराजुमा सामान्य त्रुटि भेटिएको छ ।

खुला ठाउँमा मासु पसल राखेको, पशु बध गर्दा उक्त पशु रोग लागे नलागेको केही परीक्षण नगरेको, जथाभावी मासु राख्ने गरेको भेटिएका थिए । अनुमगन समितिले मासु व्यवसायीहरूलाई कुनै पनि बहानामा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्न नमिल्ने चेतावनी दिएको छ । घिमिरेका अनुसार आउँदा दिनको स्थलगत अनुगमनमा मासु परीक्षण प्रयोगशाला सहित मासको मापदण्ड जाँच गरिने बताए ।

उपभोक्ताका लागि मासु तयार गर्दा पशुबधशालामा बध गरिएको हुनुपर्ने ऐनमा स्पष्ट उल्लेख छ । अनुगमन समितिका सदस्य केन्द्रीय खाद्य प्रविधि क्याम्पस हात्तिसारका सहप्राध्यापक खाद्य प्राविधिज्ञ बबिता अधिकारीले भनिन्, ‘उपभोक्ताले अहिले उपभोग गर्दै आएको आलो मासु खाने बानी स्वास्थ्यका लागि हानिकारक छ । कम्तीमा मासु काटिएको १२ घन्टा फ्रिजमा राखेर मात्र उपभोग गर्नुपर्छ । यसैअनुसार मासु व्यवसायीहरूलाई मासु फ्रिजमा राखेर मात्र बिक्री गर्न निर्देशन दिइएको छ ।’

अधिकृत घिमिरेले धरानको सवालमा भिआरसिले बाहेक अरूले मापदण्ड पुर्‍याउन नसकेको बताए । भिआरसी पसल मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले सञ्चालन गर्दै आएका छन् । उनले धरान– ११ मा पशुबधशाला समेत सञ्चालन गर्दै आएका छन् । सबै मासु पसलेका लागि एकीकृत बधशाला बनाउन ठूलै बजेट चाहिने भएकाले त्यसका लागि संघीय सरकारसँग माग गर्नुपर्ने संघका अध्यक्ष तामाङले बताए ।

राँगा बधशालाका लागि लागत बढी लाग्ने भएकाले हाल भिआरसीको जस्तो साना बधशाला नगरपालिकाले नै निर्माण गर्न सकिने उनले बताए । अनुगमनमा अधिकृत घिमिरे सहति भक्तिराज शर्मा, इलाका प्रहरीका निरीक्षक अशोककुमार जबेगु, इलाका प्रशासनका गजेन्द्र रम्तेल, खाद्य प्राविधिज्ञ अधिकारी, उद्योग वाणिज्य संघका गिरिधारी सापकोटा, उपभोक्ता मञ्चका कृष्णबहादुर ताम्राकार, मासु व्यवसायी संघ प्राविधिक मणिकलाल खड्गी वडा ३ का अध्यक्ष आशाकुमार श्रेष्ठ संलग्न थिए म्याद गुज्रेका खाद्य बस्तु फेला इटहरीका विभिन्न ठूला खाद्य पसलहरूमा म्याद गुज्रेका खाद्य पदार्थ फेला परेका छन् ।

चाडबाड नजिकिँदै गर्दा इटहरी उपमहानगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै बजार अनुगमन गर्दा म्याद गुज्रेका खाद्यबस्तु सँगै कहिले, कहाँ वनेको र कहिलेसम्म उपभोग गर्दा हुने केही पनि उल्लेख नगरिएको खाद्यपदार्थ पनि फेला परेको हो । उपमहानगरले बजार अनुगमन नियमावली बनाएर अनुगमन थालेको हो ।

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शुक्रबार खादय सामग्री बेच्ने होलसेल पसलहरूको अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका खाद्य बस्तु बिक्री वितरण गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताइन् । उनले भनिन्, ‘बजार अनुगमन गर्दा अखाद्य पदार्थ मिसावट, लेवल नभएका सामान र म्याद नाघेका खाद्य पदार्थ उपभोक्तालाई बिक्री गर्न राखेको पाइएकाले उपमहानगरले कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनेछ ।’

इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले दस महिनाअघि नै म्याद नाघेका जंक फुड, चिसो पेय पदार्थ बेच्न राखेको भेटिएको बताए ।

प्रकाशित : आश्विन २१, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?