कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

प्रदीप मेन्याङबो

सुनसरी — इटहरी उपमहानगरले नि:शुल्क औषधि र उपचार सेवा उपलब्ध गराउन सुरु गरेको छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत ओपीडी सेवा सञ्चालन गरेर औषधि र उपचार नि:शुल्क उपलव्ध गराउन थालेको हो ।

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

केन्द्रले उपचार गर्न आउने बिरामीलाई उनीहरूको रोगको प्रकृतिअनुसार ल्याब टेस्ट गर्नुका साथै उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास र टाइफाइडजस्ता रोगको नि:शुल्क औषधि दिने गरेको छ । केन्द्रका अधिकृत चिकित्सक डा. गुन्जन त्रितालले भने, ‘दिनदिनै स्वास्थ्य सेवा महँगो हुँदै गइरहेको छ । हुनेखानेले निजी नर्सिङ होम वा महँगा अस्पतालमा उपचार गर्लान् तर सबैको पहुँच पुग्दैन । अस्पतालको पहुँच नभएका सर्वसाधारणलाई लक्षित गरेर इटहरी उपमहानगरले नि:शुल्क स्वास्थ्य सेवा दिइरहेको छ ।’


हाल केन्द्रमा नि:शुल्क औषधि र उपचारका लागि दैनिक ३० देखि ४० जना आइरहेका छन् । उच्च रक्तचाप र मधुमेहको औषधि खान सुरु गरेपछि जीवन भर खानुपर्ने भएकाले कम आयस्रोत भएका सहरी गरिबहरूले नियमित रूपमा किनेर खान नसक्ने भएकाले उपमहानगरले ती औषधि पनि नि:शुल्क उपलव्ध गराउन थालेको डा. त्रितालले बताए ।

उनका अनुसार सहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरूको नि:शुल्क उपचारका लागि सुरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेर नि:शुल्क स्वास्थ्य सेवा दिएको हो । केन्द्रले स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार उच्च रक्तचाप, युरिक एसिड, दम, निमोनिया र टाइडफाइडका लागि एन्टिबायोटिक एमोक्सिसिलिन, सिप्रोफ्लोक्सिन, पिसाबको संक्रमण, ज्वरो रुघाखोकीलगायतको औषधि नि:शुल्क वितरण गर्दै आएको डा त्रितालले बताए ।


उनका अनुसार ओपीडीमा पनि प्रेसर सुगर, बाथ, दम, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचापका बिरामी बढी आउने गरेका छन् । केन्द्रमा चिकित्सक, जनस्वास्थ्य अधिकृत, दुई जना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेन्टलगायत ११ जनाले सेवा दिइरहेको उनले बताए । इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले केन्द्रमार्फत ७० प्रकारका औषधि नि:शुल्क दिइने गरेको बताए ।


उनले भने, ‘सहरी जीवनशैलीका कारण उत्पन्न हुने नसर्ने रोगहरू हुन नदिन र भइहाले रोकथाम गर्नका लागि स्वास्थ्य सल्लाह, परामर्श र उपचारका लागि उपमहानगरपालिकाले नि:शुल्क उपचार सेवा र औषधि दिन थालेको हो ।’

उनले केन्द्रलाई थप सुविधा सम्पन्न बनाउन स्वीकृत कार्यक्रमअनुसार रगत जाँच, एक्सरे, डिजिटल एक्सरे र भिडियो एक्सरे, ल्याबका लागि तयारी पनि गरिएको बताए । उपमहानगरपालिकाले केन्द्रमार्फत नै नि:शुल्क खोप कार्यक्रम र नि:शुल्क ल्याब सेवा प्रदान गर्नका लागि तयारी भइरहेको जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?