कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

प्रदीप मेन्याङबो

सुनसरी — इटहरी उपमहानगरले नि:शुल्क औषधि र उपचार सेवा उपलव्ध गराउन सुरु गरेको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत ओपिडी सेवा संचालन गरेर औषधि र उपचार निशुल्क उपलव्ध गराउन थालेको हो ।

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

केन्द्रले उपचार गर्न आउने विरामीलाई उनीहरुको रोगको प्रकृति अनुसार निशुल्क ल्याब टेस्ट गर्नुकासाथै उच्च रक्तचाप, मधुमेह, स्वाप्रस्वास र टाइफाइड जस्ता रोगको निशुल्क औषधि दिने गरेको छ ।

केन्द्रका अधिकृत चिकित्सक डा गुन्जन त्रितालले भने, ‘दिनदिनै स्वास्थ्य सेवा महङ्गो हुँदै गइरहेको छ । हुनेखानेले निजी नर्सिङ होम वा महंगा अस्पतालमा उपचार गर्लान् तर सबैको पहुँच पुग्दैन । अस्पतालको पहुँच नभएका सर्वसाधारणलाई लक्षित गरेर इटहरी उपमहानगरले नि:शुल्क स्वास्थ्य सेवा दिइरहेको छ ।’

हाल केन्द्रमा निशुल्क औषधि र उपचारकालागि दैनिक ३० देखि ४० जना आइरहेका छन् । उच्च रक्तचाप र मधुमेहको औषधि खान सुरु गरेपछि जीवन भर खानु पर्ने भएकाले कम आयश्रोत भएका शहरी गरिबहरुले नियमित रुपमा किनेर खान नसक्ने भएकाले उपमहानगरले ती औषधि पनि नि:शुल्क उपलव्ध गराउन थालेको डा. त्रितालले बताए । उनका अनुसार शहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरुको निशुल्क उपचारका लागि सुरु शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन गरेर नि:शुल्क स्वास्थ्य सेवा दिएको हो ।

केन्द्रले स्वास्थ्य परीक्षण पछि आवश्यकता अनुसार उच्च रक्तचाप, युरिक एसिड, दम, निमोनिया र टाइडफाइडकालागि एण्टिबायोटिक एमोक्सिसिलिन, सिप्रोफ्लोक्सिन, पिसाबको संक्रमण, ज्वरो रुघा खोकीलगायतको औषधि नि:शुल्क वितरण गर्दै आएको डा त्रितालले बताए । उनकाअनुसार ओपिडीमा पनि प्रेसर सुगर, वाथ, दम, थाइराइड, मोटोपन, मधुमेह, उच्चरक्तचापका बिरामी बढी आउने गरेका छन् ।

केन्द्रमा चिकित्सक, जनस्वास्थ्य अधिकृत, दुईजना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेण्ट लगायत ११ जनाले सेवा दिइरहेको उनले बताए । इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत छवि रिजालले केन्द्रमार्फत ७० प्रकारका औषधि नि:शुल्क दिइने गरेको बताए ।

उनले भने, ‘शहरी जीवनशैलीका कारण उत्पन्न हुने नसर्ने रोगहरु हुन नदिन र भइहाले रोकथाम गर्नका लागि स्वास्थ्य सल्लाह, परामर्श र उपचारकालागि उपमहानगरपालिकाले निशुल्क उपचार सेवा र औषधि दिन थालेको हो ।’ उनले केन्द्रलाई थप सुविधा सम्पन्न बनाउन स्वीकृत कार्यक्रम अनुसार रगत जाँच, एक्सरे, डिजिटल एक्सरे र भिडियो एक्सरे, ल्याबकालागि तयारी पनि गरिएको बताए ।

उपमहानगरपालिकाले केन्द्रमार्फत नै नि:शुल्क खोप कार्यक्रम र नि:शुल्क ल्याब सेवा प्रदान गर्नका लागि तयारी भइरहेको जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?