कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘दिनभर खट्यो, गाँसकै समस्या’

विप्लव भट्टराई

इलाम — दिनभर हरियो चियापत्ती टिप्दा पनि छाक टार्न मुस्किल हुँदा चिया मजदुर दिक्दार देखिन्छन् । बढदो महँगी खेप्न उनीहरूको मेहनतले पुग्ने गरेको छैन । यही कारण विकल्प भेट्नेहरू एकपछि अर्को गर्दै चिया क्षेत्रबाट टाढिदै गएका छन् ।

‘दिनभर खट्यो, गाँसकै समस्या’

बल्लतल्ल सरकारले सेवा सुविधा बढाएको भए पनि सम्बन्धित कारखाना र बगानले दिएका छैनन् । ३ वर्षसम्म चुपचाप काममा लागेका मजदुर एकपटक फेरि आन्दोलनमा उत्रिएका छन् ।


सरकारले ३ सय ८५ रूपैयाँ दैनिक ज्याला राजपत्रमा तोकेको छ । यसअघि नै तोकेको दैनिक २ सय ७८ रूपैयाँ पनि कतिपय बगानमा नदिइएको मजदुरको गुनासो छ । सरकारले नै आफूहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा राखेको उनीहरूको भनाइ छ । अन्य क्षेत्रका मजदुरको दैनिक ५ सय १७ ज्याला तोकिदा चिया मजदुरको कम भएको उनीहरूको गुनासो छ ।


‘चाडपर्व आउँदैछ, एउटैको कमाइले छोराछोरीदेखि परिवार धान्नुपर्छ,’ कन्यामका मजदुर विष्णु भट्टराईले भने, ‘समस्यै समस्या भोग्नुपरेको छ ।’ कन्याम चिया बगानमै ३९ वर्ष काम गरेका भट्टराई यही कामका भरमा ९ जनासम्मको परिवार पाल्नुपर्ने बाध्यतामा छन् । परिवार चलाउनकै लागि उब्रेको समयमा अरू काम गर्नुपर्ने अवस्था अधिकांश मजदुरलाई छ ।


‘१२ घण्टा काम गर्दा पनि छाक टार्न पुग्ने रकम पाइँदैन,’ कन्यामकी हिमा काफ्लले भनिन्, ‘धुरामा बसेकाले जति पाए पनि काम गर्नैपर्छ ।’ उनी १४ वर्षदेखि बगानमा कार्यरत छिन् । पानीझरि हावाहुरी नभनी काम गर्दा पनि आफ्नो अवस्था जस्ताको तस्तै भएको उनको दुखेसो छ ।


जुन सरकार आए पनि आफ्ना माग नसुनेकोमा उनीहरूले चित्त दुखाएका छन् । २० वर्षदेखि यही पेसामा आवद्ध कन्यामका उमेश रेग्मी ४ जनाको परिवार पाल्न हम्मे परेको बताउँछन् । ‘घर ढलाई गर्नेको पनि दैनिक पारिश्रमिक ५ सयभन्दा कम छैन,’ मजदुर अगुवा रेग्मी भन्छन्, ‘हामी त्यसको आधामा मात्र काम गर्छौ, कसरी परिवारको गुजारा चल्छ ।’


इलाममा मात्र २ दर्जन ठूला र १ सयको हाराहारीमा साना चिया कारखाना छन् । सिटिसि चिया उत्पादनमा अग्रणी झापामा २७ वटा बगान र कारखाना छन् । निगमसहित विभिन्न ठूला बगान र कारखाना छन् । इलाममा कारखानामा १ हजार र बगानमा ३ हजार मजदुर रहेको अनुमान छ ।


‘सरकारले तोके बमोजिम गर्दा पनि मजदुरलाई परिवार पाल्न हम्मे छ,’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने, ‘हामीले थोरै भए पनि सरकारले तोकेको ज्यालालाई चाहिँ लागू गर मात्र भनेका छौं । तर यसमा पनि बेवास्ता गरिएपछि अब के गर्ने त ।’ उद्योगी भने सरकारले तोकेबमोजिम ज्याला दिन कठिन भएको बताउँछन् । ‘श्रमिकका माग जायज हुँदाहुँदै यही अवस्थामा सम्बोधन गर्न सक्ने अवस्था छैन,’ नेपाल चिया उत्पादक संघका भूतपूर्व अध्यक्ष चण्डी पराजुलीले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले चियाका समस्या प्याकेजमै समाधान गर्ने आश्वासन दिनुभएको छ । उहाँहरूसँग छलफलका लागि समय पर्खेर बसेका छौं ।’


देशभर मौसमी र स्थायी गरी ५० हजार चिया मजुदर कार्यरत छन् ।


सेवासुविधा कम भएको भन्दै वर्षेनी ठूला बगानमा चिया मजदुर विस्थापित हुने क्रम पनि बढदै गएको छ । इलाममा निगमअन्तर्गतका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट बगान र केही साना ठूला अन्य बगान छन् । अर्थोडक्स चिया धेरै उत्पादन गर्ने यो जिल्लामा अधिकांश साना ठूला कारखाना कृषकबाट हरियो चियापत्ती खरिद गरेर सञ्चालन हुने गरेका छन् ।


मजदुरको संख्या पनि झापामा धेरै छ । पाँचथर, धनकुटा र तेह्रथुममा रहेका कारखानाले अर्थोडक्स चिया उत्पादन गर्छन् । आन्दोलन गर्नु बाध्यता भएको मजदुरहरूको भनाइ थियो । आफूले पारिश्रमिक नतोकेको तर सरकारले व्यवस्थाअनुसार उद्योगले गर्नुपर्छ भन्ने मात्र माग रहेको उनीहरूको भनाइ छ ।


डेढ दशकअघि विदेशबाट चिया निर्यात गर्नुपर्ने मुलुकले यति ठूलो रकम नेपाल भित्र्याउँदा राज्यको नजर नपर्नु नै दुर्भाग्य ठान्छन् सरोकारवाला । मुलुकभर २७ हजार ६ सय ८८ हेक्टरमा चिया खेती हुन्छ । यसमा ५८ लाख १३ सय १२ किलो अर्थोडक्स र एक करोड ८४ लाख केजि सिटिसी तयारी चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?