१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पुल निर्माणमा ढिलासुस्ती

चन्द्र कार्की

तेह्रथुम — मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–संक्रान्ती सडक खण्डका दुई खोलामा ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगर्दा सदरमुकाम आउजाउमा समस्या भएको छ । खोरुंगा र कोया खोलामा पुन बनाउने ठेक्का सम्झौता भए पनि हालसम्म नबनेको हो ।

पुल निर्माणमा ढिलासुस्ती

हिउँदमा खोला बीचबाटै सवारी आउजाउ गर्छन् । पानी पर्नासाथ खोला बढेर यातायात अवरुद्ध हुने गरेको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मध्यपहाडी सडक खण्डका दुई निर्माण व्यवसायीले लामो समयसम्म काम नथाल्दा समस्या भएको स्थानीय बमबहादुर लिम्बूले बताए ।


पुल नहुँदा आठराई र फेदाप गाउँपालिकावासीको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । दुबै खोलामा सामान्य वर्षा हुनासाथ बाढी आउने गरेकाले सदरमुकामबाट खाद्यान्नलगायत वस्तु बोकेर फेदापतर्फ गएका ट्याक्टर र अरु साना सवारी खोलावारि रोकिएका छन् ।


जेठयता सवारीसाधन चल्न कठिनाइ भएको म्याङलुङ्ग बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए । ‘खोलामा पुल छैन, पानी पर्नासाथ खोला बढेर तर्नै समस्या हुन्छ,’ उनले भने । उपभोग्य सामान ढुवानी हुन नसक्दा मूल्य अकासिएको र अभावसमेत हुन थालेको फेदाप गाउँपालिका केन्द्र पोक्लाबाङ बजारका होटल व्यवसायी चन्द्र श्रेष्ठले बताए ।


कामै सुरु भएन
खोरुंगा खोलामा पुल निर्माणका लागि कोसी एन्ड न्यौपाने निर्माण सेवाले ०७३ सालमै ठेक्का सम्झौता गरेको थियो । ०७४ पुस मसान्तभित्रै काम सक्ने जिम्मा पाएको कम्पनीले अझै काम सुरु गरेको छैन । खोलामा पिलर राख्न खाडल खनेर अलपत्र छाडिएको छ ।


म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका जोड्ने खोरुङगा खोलामा पुल निर्माणका लागि आयोजनाले ५ करोड ९० लाख १ हजार रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । कोसी एन्ड न्यौपाने निर्माण सेवाले ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी सम्झौता गरेको थियो । तर कम्पनीले काम सुरु नगरेको मध्य पहाडी लोकमार्ग पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए ।


महिनाअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालसहितको टोली खोरुङगा खोला पुगेर पुल निर्माणबारे अवलोकन गरेको थियो । अनुगमन क्रममा काम सन्तोषजनक नपाइएपछि प्रजिअ खनालले कम्पनीलाई कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाएका थिए तर त्यसयता पनि केही काम भएको छैन ।


यही खण्डको संक्रान्ती–देउराली खण्डमा पर्ने कोयाखोलाको पुल निर्माण पनि सुस्त छ । ०७२ सालमै काम सुरु गरेर एक वर्षभित्रै सक्ने गरी सम्झौता गरेको एसबीए निर्माण सेवाले ४० प्रतिशत पनि काम सम्पन्न गरेको छैन । ५ करोड ३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण सेवाको ०७४ जेठ ३० गते म्याद समाप्त भएपछि म्याद थपिएको थियो । थपिएको अवधिमा पनि कुनै काम नभएको इन्जिनियर तुम्बाहाम्फेले बताए ।


जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने र बीचैमा अलपत्र अवस्थामा छाड्ने निर्माण कम्पनीलाई कारबाहीका लागि आयोजनाले पटकपटक पत्राचार गरेको जनाएको छ । आयोजनाले यस्ता निर्माण कम्पनीको सूची सार्वजनिक गर्दै काममा ढिलाइ हुनुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सूचित गरेको थियो ।

प्रकाशित : भाद्र २८, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?