१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मनकामना धाममा खानेपानी अभाव

अरुण नदीको धमिलो पानी पिउन बाध्य
दर खुवाउन गएका प्रतिनिधिलाई वृद्धवृद्धाले समस्याको चाङ देखाए

संखुवासभा — मनकामना धामको वृद्धाश्रममा बस्दै आएकी गायत्रीनन्द गिरीले तीजको दर खुवाउन पुगेका स्थानीय तहका प्रमुख, नेता र आयोजकलाई पिउने पानी र सञ्चार समस्या भएको गुनासो राखिन् ।

मनकामना धाममा खानेपानी अभाव

शुद्ध पिउने पानी नहुँदा अरुण नदीको धमिलो पानीले काम चलाइरहेको उनले बताइन् । सृजनशील सामुदायिक विकास केन्द्र खाँदबारीले आयोजना गरेको तीजको दर खुवाउने कार्यक्रममा अधिकांश वृद्धवृद्धाले समस्याका चाङ राखे ।

धमिलो पानीको समस्या राखे लगत्तै उनले टेलिफोन सेवा पनि नभएको बताइन् । ‘सञ्चारको सुविधा नहुँदा बिरामी पर्दा फोन सम्पर्क गर्न समस्या छ,’ उनले भनिन्, ‘चिनजानकालाई फोन गरेर औषधि मगाउन गाह्रो भयो, त्यसको पनि केही व्यवस्थापन गरिदिनुपर्छ ।’

उनले बिजुलीको व्यवस्था भए पनि टेलिभिजन नहुँदा मुलुकमा के भइरहेको छ भन्ने कुराको जानकारी नभएको समस्या पनि राखिन् । ‘मुलुकमा कानुन परिवर्तनदेखि धेरै कुरा भएको गफ गरेको सुन्छौं तर वास्तविकता केहो भन्ने हामीलाई पत्तो छैन,’ उनले भनिन् ।

वृद्धाश्रममा ४० बढी वृद्धवृद्धा बस्दै आएका छन् । चर्को घाममा दिन कटाउनु परेको पनि उनले गुनासो सुनाइन् । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले मनकामना गुरुयोजना निर्माण गरेर समस्या समाधान गर्ने बताए ।

‘हामीलाई यहाँको समस्याका बारेमा पूर्ण जानकारी छ,’ उनले भने, ‘योपटक खाँदबारी नगरपालिकामार्फत बजेट आएको छ, त्यो बजेटले केही व्यवस्थापन हुनेछ ।’ नगरमा मनकामनाको विकासका लागि ५० लाख आएको पनि उनले बताए । यी बृद्धवृद्धालाई खाना र आवासको व्यवस्थापनका लागि अमेरिकामा बस्दै आएका संखुवासभावासी जुटिरहेको उनले सुनाए ।

कांग्रेस सभापति दीपनकुमार श्रेष्ठ सबै मिलेर मनकामना धामको विकासमा लाग्नुपर्ने बताउँछन् । परिवार छाडेर बस्दै आएका वृद्धवृद्धाका लागि केही गर्न नसकेकोमा दु:खेसो राख्दै उनले अब मनकामनालाई धार्मिक पर्यटकको हिसाले प्रचार गर्नु पर्नेमा जोड दिए । खाँदबारीका दिनेश श्रेष्ठले टेलिभिजन र सञ्चारका लागि टेलिफोनको यवस्था गरिदिने आश्वासन दिएका छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?