खोलाभन्दा सानो पुल !

अर्जुन राजवंशी

दमक — हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका २ स्थित सानोमाई खोलामा निर्माणाधीन पुलको लम्बाइ सानो भएको स्थानीयले बताएका छन् । खोलाले धार परिवर्तन गरेकाले पुलको लम्बाइ निकै सानो भएको हो । 

झापाको झापा गाउँपालिका २ स्थित सानोमाइ खोलामा निर्माणाधीन पुल । तस्बिर : अर्जुन

उनीहरूले पुलको लम्बाई बढाउन माग गरेका छन् । उनीहरूले लम्बाई नबढाए निर्माणाधीन पुलको प्रयोगविहिन हुने बताएका छन् । खोलामा ११ मिटर चौडाइ र ५२.४ मिटर लम्बाइको पुल निर्माणाधीन छ । पुल निर्माणको काम गत असार मसान्तमै सकिनुपर्ने थियो । तर, ठेकेदार कम्पनीले ढिलाइ गर्दा हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्थानीयले खोलाले धार निकै परिवर्तन गरेकाले अहिले निर्माण भइरहेकै जति पश्चिमपट्टि पुल थप्नुपर्ने माग गरेका छन् ।


‘अहिलेकै अवस्थामा हो भने यो पुलको कुनै काम छैन,’ स्थानीय मोहनकुमार चौलागाईंले भने, ‘पुल निर्माण गर्ने निकायले तत्काल अध्ययन गरेर पुलको लम्बाइ बढाउनुपर्छ ।’ उनले खोलाको साइजभन्दा पुलको लम्बाइ सानो भएको बताए । उनले निर्माणाधीन अवस्थामै रहेकाले पश्चिमपट्टि स्पेन थपेर पुलको लम्बाइ बढाउनुपर्ने बताए । झापा गाउँपालिका २ का वडाध्यक्ष नेत्रबहादुर खडकाले पुलको लम्बाइ थप्नेबारे मौखिक रूपमा जानकारी गराएको बताए । उनले पुलको लम्बाइ थप नभए जनता लाभान्वित हुन नसक्ने अवस्था रहेको बताए ।


‘सर्भे गर्दा खोलाको धार ठिकै ठाउँमा थियो । तर, ०७२ साउनको बाढीले खोला पूरै पश्चिम सरेको छ,’ खडकाले भने, ‘तटबन्ध गरेर पनि यति लामो खोलाको धार सोझ्याउन गाह्रो हुन्छ । भविष्यमा फेरि पनि खतरा कायमै रहने भएकाले अहिले नै पुलको लम्बाइ बढायौं भने दीर्घकालीन रूपमा समस्या समाधान हुन्छ ।’ उनले पुलको लम्बाइ बढाउने विषयमा सम्बन्धित निकायमा थप कुरा राख्ने तयारी गरिरहेको बताए ।


हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयअन्तर्गत जिल्लामा रहेको कार्यालयका अनुसार उक्त पुल लामा/बान्टी जेभीले ठेक्का लिएको हो । ०७५ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ५ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । कार्यालयका सब–इन्जिनियर सुरेन्द्र यादवले सर्बेअनुसारै काम भइरहेकाले तत्कालै पुलको लम्बाइ थप्ने अवस्था नरहेको बताए । उनले खोलाले धार परिवर्तन गर्ने क्रम चलिरहने हुँदा स्थायी तटबन्ध गरेर खोला सोझ्याउनुपर्ने बताए । ‘सुरुमा जहाँ पुल आवश्यक थियो । सर्भेअनुसार त्यही पुल निर्माण भइरहेको छ । अहिले खोला पश्चिमतिर गएको छ । तटबन्ध गरेर खोलाको धार परिवर्तन गर्नुपर्छ,’ उनले भने ।


उनले स्थानीयको माग पनि जायज भएको बताए । उनले भने, ‘स्थानीयको माग पनि जायज नै छ । अहिलेकै अवस्थामा भन्नुपर्दा पुलको लम्बाइ बढाउनुको विकल्प छैन । तर, यो कामका लागि फेरि ठूलै प्रक्रिया गर्नुपर्ने हुन्छ ।’ हाल सानोमाई खोलामा बासको पुल बनाएर स्थानीय बासिन्दा आवतजावत गरिरहेका छन् । खोला पारि ७ वटा बस्ती छन् ।


उक्त बस्तीका बासिन्दाका लागि झापा बजार मुख्य बजार हो । खोलामा पुल नभए पारिका बासिन्दा बन्धकजस्तै बन्ने अवस्था छ । खोला पारि जुडो प्राथमिक विद्यालय पनि छ । ‘पुलको लम्बाइ नबढाए खोला पारिको जुडो प्रावि र ७ बस्ती सबै डुबान र कटानको उच्च जोखिममा पर्छ,’ वडाध्यक्ष खडकाले भने ।


प्रकाशित : भाद्र २१, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । 

फाइल तस्बिर

दाहालले बिहीबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् । भारतको सुरक्षा तथा विदेश मामिलामा डोभल प्रभावशाली मानिन्छन् । शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग उनको भेट तय भएको छ । शुत्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन् । त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन् ।

यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन सेन्टरको अध्यक्ष छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको स्रोतले जानकारी दिएको छ । दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

दिल्लीस्थित विश्लेषकहरूले दाहालको भ्रमण आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गर्न र भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरेका छन् । ‘दाहाल भ्रमणको दुईवटा उद्देश्य देखिन्छ । पहिलो, नेपालको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नु, दोस्रो दिल्लीसँग सुमधुर सम्बन्ध चाहेको सन्देश दिनु हो,’ दिल्लीस्थित थिंक ट्यांक आईडीएसएका निहार नायकले भने ।

नेपालका लागि भारतका पूर्वराजनीतिक रञ्जित रेले यस किसिमको उच्चस्तरको राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी विश्वास बढाउन सघाउ पुर्‍याउने बताए । दाहालप्रति दिल्लीमा रहेको आशंकाप्रति संकेत गर्दै रेले भने, ‘हिजो के–कस्तो अविश्वास र असमझदारी थियो भन्दा पनि दाहाल नेपालका प्रभावशाली नेता रहेको कुरालाई नकार्न सकिँदैन । यस किसिमको भ्रमणले आपसी विश्वास बढाउन मद्दत गर्छ ।’


प्रकाशित : भाद्र २१, २०७५ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×