कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

प्रदीप मेन्याङ्बो

सुनसरी — यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुर्नमूल्याङ्कन गर्न धरान उपमहानगरपालिकामा आइतबार बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।

धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

कार्यदलले वृद्धि भएको करलाई केही प्रतिशत घटाएर सर्वसाधारणले तिर्न सक्ने वातावरण बनाउने गरी एकसातासम्ममा प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।


कर विरुद्ध आन्दोलनकारी र धरान उपमहानगरपालिकाबीच वार्ता गर्ने सहमति भएपछि धरान उपमहानगरपालिकाको तर्फबाट उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रसाशकीय अधिकृत सुमन घिमिरे र कर सम्बन्धि अन्य कर्मचारी रहेका थिए भने आन्दोलनकारीका तर्फबाट कांग्रेसका नगरसभापति तिलक राई, श्याम पोखरेल लगायतबीच वार्ता भएको थियो ।


कांग्रेस धरानका सभापति तिलक राईको नेतृत्वमा कर विरुद्ध एक सातादेखि धरान उपमहानगरपालिका प्रवेशद्वार अगाडि दैनिक दुई घण्टा धर्ना बसेका थिए । लगातारको विरोधपछि उपमहानगरपालिकाले वार्ता आह्वान गरेको थियो ।


वार्तापछि कांग्रेसका अनिल श्रेष्ठ, श्याम पोखरेल र संघीय लिम्बूवानका संजुहाङ पालुङ्वा र धरान उपमहानगरपालिकाका तर्फबाट वडा २० क अध्यक्ष तथा प्रवत्ता मणिराम राई, वडा १५ का अध्यक्ष नरेश इङ्वारम र वडा १७ का अध्यक्ष मनोज भट्टराईको कार्यदल बनाइएको छ ।

कार्यदलमा कर विज्ञका रुपमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा अशोककुमार झा रहेका छन् । कार्यदलका सदस्य श्याम पोखरेलले भने, ‘जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेकाले हामी आन्दोलित भएका हौँ । तर हामीले कर नतिर्ने भनेका छैनौँ । नगरपालिका पनि चल्ने र जनताले पनि तिर्न सक्ने कर निर्धारण गरौँ भन्ने हाम्रो मुद्दा हो ।’


धरान उपमहानगरपालिकाले घरबहाल कर, सम्पत्ति कर, व्यवसायिक कर लगायतमा अत्यधिक वृद्धि गरेकाले कार्यदलले दिएको प्रतिवेदन राजनीतिक दल र सर्वसाधारणले अनुमोदन गरेपछि नगरपालिकामा बुझाउने र सोही अनुसार करको दर निर्धारण गर्ने सहमति भएको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?