कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘निर्माणमा ढिला गर्नेलाई कारबाही’

मोरङ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कतिपय ठेकेदारको लापरबाही पाइएको जनाए । 

‘निर्माणमा ढिला गर्नेलाई कारबाही’

‘साइट क्लियरेन्स नभएर र अन्य कुनै अवरोधका कारण निर्माण ढिलाइ भएको अवस्थामा कारबाही हुँदैन,’ उनले भने, ‘साइड क्लियरेन्स भएको र जानाजान निर्माण काममा ढिलाइ गर्नेलाई कारबाही हुन्छ ।’


उनले विकास निर्माणको काममा गुणस्तरहीन काम भएको पाइएको अवस्था कर्मचारी र ठेक्केदार दुबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । योजना प्रमुखदेखि साइड इञ्चार्ज र फिल्ड सुपरभिजन गर्ने कर्मचारीको मिलेमतोबिना गुणस्तरहिन काम हुन नसक्ने उनले सुनाए ।


उनले आउँदो ३/४ वर्षमा हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण गर्नुका साथै पूर्व पश्चिम राजमार्गलाई समेत ४ लेनमा स्तरोन्नति गरिसक्ने सुनाए । ‘महेन्द्र राजमार्गलाई ४ लेन बनाउन पहिलो प्याकेजको आइतबार टेन्डर भइसक्यो,’ उनले भने, ‘दोस्रो प्याकेजमा कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको टेन्डर हुन्छ ।’ कञ्चनपुरदेखि ४ किलोमिटर उत्तरबाट कोसीमा अर्को पुल निर्माण गरेर काँकडभिट्टासम्म जोड्न डीपीआर निर्माणको काम भइरहेको मन्त्री महाशेठले बताए ।

प्रदेश १ संसदका सभामुख प्रदिपकुमार भण्डारीले केही निर्माण व्यवसायीहरूको कामले समग्र निर्माण व्यवसाय पेसा नै अमर्यादित भएको बताए । उनले निर्माण व्यवसाय पेसालाई मर्यादित बनाउन प्रदेश १ निर्माण व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताए ।


प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियैतले मुलुकी र फौजदारी संहिता दोस्रो संविधानसभाका ६ सय १ सांसदले निर्माण गरेकाले अहिलेको सरकारको विरोधमा आन्दोलन गरेर समय खेर नफाल्न सबैलाई आग्रह गरे ।


निर्माण व्यवसायी मोरङका अध्यक्ष सन्तोषकुमार ढुंगानाले निर्माण व्यवसायीलाई फौजदारी संहिता ऐन ल्याएर अप्ठयारो पार्ने काम भएकाले त्यसमा सुधार गर्न आवश्यक भएको बताए । उनले स्थानीय तहहरूले निर्माण सामग्री ढुवानीमा लगाएको जथाभावी करले काम गर्न समस्या भएको गुनासो पोखे ।


प्रकाशित : भाद्र १९, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?