१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दृष्टि फर्किएसँगै खुसी

ज्येष्ठ नागरिकले शल्यक्रियापछि आँखा खोल्दा हर्षका आँसु झारे
दीपेन्द्र शाक्य

संखुवासभा — भोजपुर षडानन्द नगरपालिका १३ की लीलामाया तामाङले संसार नदेखेको दुई वर्ष भएको थियो । अब उनी देख्न सक्ने भएकी छन् ।

दृष्टि फर्किएसँगै खुसी

संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले आयोजना गरेको शिविरमा उनको आँखाको मोतिविन्दुको शल्यक्रिया सफल भयो । त्यसपछि उनले संसार देखिन् । खाँदबारी आउँदा बोकेर ल्याइएकी उनी दृष्टि फर्केपछि हिँडेर घर फर्किइन् । उनलाई छोराहरूले दिङ्लाबाट खाँदबारीसम्म बोकेर ल्याएका थिए ।

तामाङले शल्यक्रियापछि आँखाको पट्टी खोल्दा हर्षका आँसु झारिन् । ‘मलाई संसार देखाउने डाक्टरहरूलाई धन्यवाद’ उनले भनिन्, ‘बुढेसकालमा मेरो आँखाको अप्रेसन गरेर संसार देखाउने डाक्टर मेरा लागि भगवान् बने ।’

एक वर्षदेखि दृष्टि गुमाएकी खाँदबारी नगरपालिका ९ तुम्लिङटारकी मनमाया नेपालीको पनि दुबै आँखाको शल्यक्रिया भयो । उनी देख्न सक्ने भएर घर फर्किइन् । उनले गत चैतमा एउटा आँखा विराटनगरमा उपचार गराएर देख्न सक्ने भए पनि अर्को नदेख्ने भएपछि उपचार गराउन आएको बताइन् । अहिले दुबै आँखा देख्न भएको उनले बताइन् ।

सिलिचोङ गाउँपालिका ताम्कुकी ८१ वर्षीया माइती जिमी राईको पनि दुबै आँखाको मोतियाविन्दुको अप्रेसन गरियो । बुढेशकालमा आँखा देख्न सक्ने भए पनि उनी खुसी हुँदै घर फर्किइन् ।

धरान–विराटनगर जानआउन पैसा अभाव भएकाले उपचार नगरी बसेको उनले बताइन् । यहाँ नि:शुल्क शिविर आएको थाहा पाएर आएको, आँखा पनि देख्न सक्ने भए । १० वर्ष पछि दुवै आँखा देख्ने भएपछि परिवारका सदस्यसँग खुसी साटासाट गरिरहेका थिए । खाँदबारी ७ का रत्नबहादुर आले सदरमुकाम नजिकैको गाउँमा बसे पनि उनको दुबै आँखामा मोतिविन्दु भएको थियो ।

छिमेकीले खाँदबारीमै नि:शुल्क शिविर आएको जानकारी दिएपछि उपचारका लागि आएको बताए । ‘१० वर्षदेखि चश्मा लगाउँदा र औषधि खाँदा निको नभएको आँखा, अप्रेसनपछि देख्ने भएँ’, उनले भने, ‘हिँड्डुल गर्न सक्दिन थिएँ, अब एउटै कोठामा बस्नु नपर्ने भयो ।’ १० वर्षपछि पुन: संसार हेर्न पाउँदा निक्कै खुसी भएको पनि उनले बताए । उनको दुवै आँखामा मोतिबिन्दु भएको थियो ।

शिविरमा योपटक ५८ जनाको मोति विन्दुको आँखाको अप्रेसन गरिएको क्लिनिक इन्चार्ज क्षितिज बरालले बताए । उनका अनुसार २ सय ९५ ले सामान्य उपचार सेवा पाएका थिए । नेत्र ज्योती संघ, तेजरत्न आँखा उपचार केन्द्र र इटहरी आँखा अस्पतालको आयोजनामा भएको शिविरमा संखुवासभा, धनकुटा, भोजपुर र तेह्रथुमका आँखाका रोगीले सेवा पाएका छन् ।

शिविरमा वृद्धवृद्धा, किशोर, लगायत बालबालिकाको उपचार गरिएको बरालले बताए । शिविरमा इटहरी आँखा अस्पतालका डा. ईसा विष्टको नेतृत्वमा आएको १० सदस्यीय टोली, खाँदबारी र चैनपुर आँखा अस्पतालका कर्मचारीको समेत सहयोग थियो ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?