धान फलाउने किसानलाई नगद

अर्जुन राजवंशी

दमक — चैते धान उत्पादन गरेबापत झापाका किसानले नगद अनुदान पाएका छन् । चैते धानको उत्पादनमा वृद्धि गरेका किसानले नगद अनुदान प्राप्त गरेका हुन् ।

धान फलाउने किसानलाई नगद

जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन इकाईले किसानलाई नगद अनुदान वितरण गरेको हो । परियोजना सञ्चालनमा आएपछि जिल्लामा चैते धानको खेती गर्नेको संख्यामा वृद्धि भएको छ ।

तीन वर्षअघि सामान्य रूपमा चैते धानको खेती गरेका किसानले परियोजना सुरु भएयता वर्षेनी खेतीको क्षेत्रफल बढाउँदै लगेका छन् । परियोजना सञ्चालन रहेको कचनकवल गाउँपालिकाको ६ सय ६९ बिघामा यस वर्ष चैते धानको खेती गरिएको थियो । सुपर जोन क्षेत्रमा चैते धान रोपेर उत्पादनमा वृद्धि गरेका ७ सय ७० जना किसानलाई नगद अनुदान वितरण गरेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले बताए ।

यस वर्ष किसानलाई प्रतिफलमा आधारित प्रोत्सहान स्वरूप ३५ लाख अनुदान वितरण गरेको तिम्सिनाले बताए । चैते धान उत्पादनका आधारमा किसानले प्रतिकट्ठा एक सय ८३ रुपैयाँ १० पैसाका दरले अनुदान प्राप्त गरेका हुन् । परियोजनामा ९३ वटा समूह र सहकारी आबद्ध छन् ।

उनीहरूमध्ये ५३ वटा समूह र सहकारीका किसानले चैते धानको खेती गरेका थिए । खेती गरेका किसानले न्यूनतम ५ सयदेखि अधिकतम २५ हजार रुपैयाँसम्म नगद अनुदान प्राप्त गरेको तिम्सिनाले बताए । ‘धान खेती गरेबापत पैंसा पाउँदा निकै खुसी लागेको छ,’ किसान मोहन राजवंशीले भने, ‘गाउँमै परियोजना सञ्चालनमा रहेकाले खेती गर्न मेसिनरी, बीउ, कृषि चुन, सिँचाइ, प्राविधिक ज्ञान पनि सहुलियतमा पाएका छौं । धान उत्पादन गरेपछि पैसा पनि पाइयो ।’

उनले नगद अनुदानले खेती गर्न हौसला थपेको बताए । उनले सिँचाइको असुविधा र उत्पादनले उचित मूल्य नपाउँदा १० वर्षदेखि चैते धानको खेती गर्न छाडेकोमा परियोजना सञ्चालनमा आएपछि पुन: सुरु गरेको बताए । परियोजनाको सहयोग र अनुदानले अगामी बर्ष थप क्षेत्रफलमा चैते धानको खेती गर्ने बताए । यस वर्ष उनले एक बिघा जमिनमा चैते धान रोपेका थिए ।

परियोजना सञ्चालनमा आएपछि किसानले धेरै कुरामा सहुलियत प्राप्त गरेका छन् । परियोजनाको ५० प्रतिशत अनुदानमा आधुनिक मेसिनरी सामग्री पाउनुका साथै प्राविधिक सहयोग नि:शुल्क प्राप्त गर्दै आएका छन् । माटोको अम्लियपन घटाउन ५० प्रतिशत अनुदानमा कृषि चुन प्राप्त गरेपछि माटोको उर्वरा शक्तिमा पनि वृद्धि भएको किसानको भनाइ ।

गत वर्ष ५.३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष वृद्धि भएर ५.६ पुगेको छ । यस वर्ष धान सुपर जोन क्षेत्रमा मात्र एक हजार ९ सय ६० मेट्रिक टन चैते धान उत्पादन भएको अधिकृत तिम्सिनाले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीका अनुसार जिल्लामा यो वर्ष २० हजार ६ सय ५० हेक्टरमा चैते धान रोपिएको थियो । जसबाट एक लाख ९ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष १ दशमलव ७२ प्रतिशतले चैते धानको उत्पादन वृद्धि भएको डाँगीले बताए ।

चैते धानको खेती गर्न सुपर जोन क्षेत्रमा जिल्लास्थित सिँचाइ डिभिजनले ७ र परियोजनाले ५ वटा सौर्य सोलार सिँचाइ पम्पसेट वितरण गरेको थियो । एक सय ४४ वटा साना सिँचाइअन्तर्गतका पम्पसेट तथा २६ वटा समूह र सहकारीलाई पावर टिलर पनि वितरण गरिएको थियो ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?