१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म पढेको स्कुल

धनकुटा — एउटै जिल्लाबाट उपल्लो पदमा पुग्ने व्यक्तिको संख्या औंलामा गन्न सकिएला । तर एकै विद्यालयमा पढेका धेरै व्यक्ति उपल्लो पदमा पुगेको संयोग भने रोचक हो ।

प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म पढेको स्कुल

यहाँको एउटा विद्यालयमा पढेका व्यक्ति प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि शैक्षिक, भाषा, संस्कृति, कला साहित्य, स्वास्थ्य, प्रशासनिक क्षेत्रको उच्च ओहोदामा पुगेका छन् । कुरो धनकुटा नगरपालिका ५, तल्लोकोप्चेमा रहेको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय (तत्कालीन गोकुण्डेश्वर हाईस्कुल) को हो ।

यो स्कुलमा पढेकामध्ये सबैभन्दा सर्वोच्च पदमा पुग्ने व्यक्ति पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुन् । थापा उक्त विद्यालयका पूर्वछात्र हुन् । मुलुकमा पाँचपटक प्रधानमन्त्री भएका थापा जीवित रहुन्जेल उक्त विद्यालयमा नियमित जाने गर्थे । १९८९ सालमा स्थापना भएको विद्यालयमा ७ कक्षामा थापाले अध्ययन गरेको प्रधानाध्यापक दामोदर मिश्रले बताए ।

पूर्वप्रधानमन्त्रीदेखि वर्तमान अवस्थासम्म पनि शैक्षिक, प्रशासनिक, राजनीतिक लगायत क्षेत्रमा उक्त विद्यालयका छात्रछात्रा रहेको पाउँदा गर्वको महसुुुस हुने प्रधानाध्यापक मिश्र बताउँछन् । ‘यहाँ पढेका सूर्यबहादुर थापादेखि पछिल्लो पुस्तासम्म तीन दर्जनभन्दा बढी व्यक्तिले मुलुकका उच्च पद सम्हालिसकेका छन्’, उनले भने । पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठ पनि त्यहीं अध्ययन गरेका थिए । आँखाका पहिलो विशेषज्ञ डा. रामप्रसाद पोखरेलले २००९ सालमा अध्ययन गरेका थिए ।

पूर्वविद्यार्थी रहेका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. माधवप्रसाद शर्माले सोही विद्यालयबाटै वि.सं.२०१४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । संस्कृतिविद् तुलसी दिवस, पूर्वसचिव गोविन्ददास मास्के, साहित्यकार डा.दयाराम सम्भव, नाट्यकर्मी अशेष मल्ल, प्राडा तीर्थप्रसाद मिश्र, पूर्वसचिव तथा अञ्चलाधीश रामनारायण श्रेष्ठ, तत्कालीन दूरसञ्चार संस्थानका महाप्रबन्धक रघुवरलाल श्रेष्ठ, पाइलट क्याप्टेन माधवलाल सिंह, साहित्यकार खगेन्द्रकुमार प्रधानाङ्ग लगायत पूर्वविद्यार्थी नै हुन् ।

यही लहरमा पछिल्लो छिमलका पूर्वमन्त्री डा. दुर्गा पोखरेल, वातावरणविद् नरेन्द्र पोखरेल, कलाकार उपेन्द्र दु:खी, शिक्षाविद्हरू उपेन्द्र पोखरेल, जीवलाल श्रेष्ठ, नारायण जोशी, वरिष्ठ अधिवक्ता नगेन्द्रभक्त श्रेष्ठ, प्राडा. शम्भु खतिवडा, कृष्णप्रसाद वस्ती, साहित्यकार ईशदिप श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, पूर्वसांसद पदमबहादुर बस्नेत लगायत छन् ।

वि.सं.१९८९ मा तत्कालीन उत्साही युवाहरू पं. छविलाल पोखरेल, गजेन्द्रबहादुर प्रधानाङ्ग, लीलानाथ शर्मा, पूर्णलाल लप्टन, गणेशकुमार कर्माचार्य, पहलमान श्रेष्ठ, गुणराज जोशी लगायतको पहलमा विद्यालय स्थापना गरिएको थियो । यस्तै गजराम योगी, मोतीलाल श्रेष्ठ, रामभगत थेच्मी, भुवनेश्वर बौद्धाचार्य, लक्ष्मी श्रेष्ठ लगायतको योगदान पनि उल्लेखनीय थियो । विद्यालयलाई २००४ सालमा तत्कालीन राणा शासनको सरकारले सरकारी मान्यता दिएको पूर्वप्रधानाध्यापक मोहनकृष्ण श्रेष्ठले बताए । विद्यालयमा २००७ सालदेखि प्रवेशिका परीक्षा सुरु भएको थियो । २०२८ मा नयाँ शिक्षा सुरु भएपछि त्यसको एक वर्षपछि नजिकको बालमन्दिरको माथिल्लो तह समेत समावेशपछि हालको नाम कायम गरिएको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?