१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुलुकी संहिता : जटिलतालाई संशोधन गर्नुपर्ने

धनकुटा — शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता (ऐन) को सन्दर्भमा जिल्लाका सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मुलुकी संहिता : जटिलतालाई संशोधन गर्नुपर्ने

मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर ऐन, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधिबारे यस्तो प्रतिक्रिया आएको हो । ऐनबारे जानकारी लिन जिल्ला तथा उच्च सरकारी वकिल कार्यालयले सरोकारवाला पक्षको भेला गरी प्रतिक्रिया लिएको थियो ।

१ सय ६५ वर्षपछि परिवर्तन भएको मुलुकी ऐनपछि नयाँ बनेका ऐनबारे अधिकांशले सकारात्मक धारणा राखेको छन् । कतिपयले केही दफाले पेसागत रूपमा असहज बनाएको गुनासो पोखेका छन् । खासगरी न्यायिक क्षेत्रका विज्ञले परिवर्तित कानुनले जटिलता ननिम्त्याएको बताएका छन् । तर सञ्चार क्षेत्र, सुरक्षा निकाय तथा चिकित्सकका क्षेत्रमा केही समस्या निम्तिएको प्रतिक्रिया आएको छ ।

जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलले पेसागत तथा व्यावहारिक कार्य सकारात्मक नियत गरिएको खण्डमा जटिलता नआउने दाबी गरे । उनले सञ्चारकर्मीलाई जटिलता नआउने बताए ।‘विगतमा सञ्चारमाध्यमले वीभत्स फोटो बेचेर धेरै कमाउने नियत राखेका थिए’, उनले भने, ‘अब त्यस्तालाई भने ऐनले नियन्त्रणमा ल्याउने छ ।’ कमजोरी गर्नेका लागि कानुन कडा रूपमा प्रस्तुत भए पनि सकारात्मक नियतले गरिने कार्यलाई कानुन बाधक हुन नसक्ने पोखरेलको धारणा छ । उनले परिवर्तित कानुनलाई हाउगुजीका रूपमा लिन नपर्ने तर्क राखे ।

वरिष्ठ अधिवक्ता प्राडा गोपालबहादुर भट्टराईले जटिलता निम्तिएका दफालाई संशोधनको बाटो खुला हुने बताए । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मनोजकुमार आचार्यले परिवर्तित कानुन सकारात्मक रहेको भन्दै यसलाई उत्सवका रूपमा लिनुपर्ने बताए । तर सञ्चारकर्मीले तस्बिर खिच्ने तथा समाचार संकलनका क्षेत्रमा केही दफाले जटिलता निम्तिएको बताएका छन् ।

पत्रकार महासंघ जिल्ला उपाध्यक्ष नगेन्द्र राईले जटिल देखिएका बुँदाबारे संशोधनको पहल गरिनुपर्ने जोड दिए । अधिवक्ता रोहित डाँगीले नियत सफा गरेर कार्य गर्नेलाई परिवर्तित कानुनले कुनै समस्या नपार्ने बताए ।अधिवक्ता लाखमान राईले सकारात्मक रूपबाट कानुन बने पनि कमिकमजोरी उठान भइरहेकाले त्यसमा देखिएका कमजोरी संशोधन गर्ने ठाउँ रहने उल्लेख गरे । मालपोत अधिकृत रामबहादुर कार्कीले नयाँ कानुनले कार्यालयको काममा केही समस्या सृजना भएको बताए । जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले आफूले अध्ययन गरेर प्रतिक्रिया दिए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?