महानगरमा विस्फोटः 'पक्राउ परेकाहरुको संलग्नता देखिएन'

विनोद भण्डारी

काठमाडौँ — विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्षअघि आइतबार दिउँसो भएको बम विस्फोट कसले गरेको प्रहरीले भन्ने अझै पुष्टि गर्न सकेको छैन ।

महानगरमा विस्फोटः 'पक्राउ परेकाहरुको संलग्नता देखिएन'

विस्फोटमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएका ८ जना घटनामा संलग्न नभएको प्रहरीले बताएको छ ।


विस्फोट कसले गराएको भन्ने पुष्टि हुन नसकेको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । 'यसैले विस्फोट गराएको हो भन्ने स्थिती छैन’ उनले भने, 'घटनालगत्तै नियन्त्रणमा लिइएका ८ जना विस्फोटमा संलग्न नभएको पाइएको छ ।’ प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।


तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले आइतबार विज्ञप्ती सार्वजनिक गर्दै बिस्फोटको जिम्मेवारी लिएको थियो । एसपी केसीले भने मोर्चा वा माओवादीको विप्लप समुह कसले विस्फोट गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको बताए ।


कार्यालयको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडीको सेवाग्राही बस्ने स्थानमा भएको विस्फोटले त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढने गाडीको सिसा क्षतिग्रस्त भएको थियो ।


महानगरले नगरको उचित सुरक्षा प्रबन्ध मिलाउन स्थानीय सुरक्षा संयन्त्रसमक्ष लिखित माग गरेको छ । प्रमुख पराजुलीका अनुसार प्रमुख र उपप्रमुखको व्याक्तिगत सुरक्षा मागपनि गरिएको छ ।


आइतबारको घटनापछि जिल्ला प्रहरी कार्यालयले सोमबारदेखि महानगरको कार्यालयमा सुरक्षा तैनाथ गरेको छ । यसअघि त्यहाँ प्रहरीको सुरक्षा नभएको महानगरले जनाएको छ ।


तर सुरक्षा निकायले महानगर प्रमुख पराजुलीको भनाईलाई खण्डन गर्दै सुरक्षा चुनौती बढको स्वीकारेको छ । एसपी केसी भन्छन्, 'बिस्फोटले महानगको सुरक्षा कमजोर भएको नभई थप चुनौती थपिएको मात्र हो ।’ महानगरसहित अन्य स्थानीय निकायमा सुरक्षा व्यवस्थामा थप कडाई गर्दै कभर क्षेत्रलाई फराकिलो बनाइएको केसीले बताए ।


सेवाग्राहीको बढी भीड हुने स्थानीय निकाय र अन्य कार्यालय तथा आर्थिक कारोबार बढी हुने स्थानमा सुरक्षाको निगरानी बढाउने तयारी गरिएको उल्लेख गर्दै केसीले भने, 'महानगर, नगर प्रमुख र उपप्रमुखलाई व्याक्तिगत सुरक्षा (पीएसओ) को व्यवस्था गर्न नीतिगत रुपमा स्पष्ट भएमात्र सम्भव हुन्छ ।’ मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिका छन् ।


मोरङका केही नगरपालिका प्रमुख र उपप्रमुखले व्याक्तिगत सुरक्षाकालागि पीएसओ लिएको उल्लेख गर्दै उपप्रमुख इन्दिरा कार्कीले महानगरपालिकाका प्रमुख र उपप्रमुखले पीएसओ माग्दा सुरक्षा निकायलाई नीतिगत निर्देशन चाहिने आफैँमा अनौठो भएको बताइन् । 'सुरक्षा निकायको यो दोहोरो चरित्र हो । 'उनले भनिन्, 'नगर प्रमुखले सुरक्षा पाउने महानगर प्रमुख र उपप्रमुखले सुरक्षा नपाउने भन्ने पनि हुन्छ ।'


'अन्य नगरपालिकाका प्रमुख र उप्रमुखले आन्तरिक रुपमा व्याक्तिगत सुरक्षाको सुविधा लिएका होलान् ।ु एसपी केसीले भने, 'नीतिगत रुपमा प्रमुख र उपप्रमुखलाई पीएसओ उपलब्ध गराउन नीतिगत रुपमै प्रष्ट जरुरी छ ।'


यसैबीच, मोरङ कांग्रेसले महानगरपालिका कार्यालयमा भएको बिस्फोटको निन्दा गर्दै संलग्न पत्ता लगाएर कारबाही गर्न माग गरेको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?