१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बिजुली ल्याउन गाउँले खटे

दीपेन्द्र शाक्य

संखुवासभा — सिलिचोङ गाउँपालिका २ को दांखिला गाउँका जीवन कुलुङ सिसुवाखोलाबाट निकालिएको बिजुली बाल्न पाउने भएपछि खुसी छन् । वर्षाैंदेखि धिपधिपे टुकीको उज्यालोमा बस्दै आएका गाउँवासीको बिजुली बाल्ने सपना पूरा हुन लागेको छ ।

बिजुली ल्याउन गाउँले खटे

सिलिचोङमा बिजुली बाल्न सदरमुकाम खाँदबारीसम्म टयाक्टरमा ल्याइएका सामग्री हेलिकप्टरबाट गाउँ ढुवानी गरिसकिएको छ । गएको सोमबार विद्युतका सामानहरू लिएर हेलिकप्टर सिलिचोङ २ को कोदांखिला गाउँ पुग्यो ।

हेलिकप्टरबाट सामान झार्न गाउँले लामबद्ध भएर बसेका थिए । हेलिकप्टरको पंखा रोकिनासाथ उनीहरूले टान्सफर्मर झिक्न हानाथाप गरे । बिजुली बाल्न ५० केभी क्षमताको टान्सफर्मर लगिएको छ । ‘दांखिलावासीमा खुसियाली छायो, किनकि केही महिनाभित्र नै सिंगो गाउँ अन्धकार हट्दैछ, जीवनले भने, मट्टीतेलको भरमा बसेका हामी पनि बिजुलीको उज्यालोमा बस्न पाउने भयौं । महँगोमा हेलिकप्टर चार्टर गरेर सामग्री ढुवानी गरिएको उनले बताए ।

सिसुवाखोलाबाट निकालिएको लघु जलविद्युत यसअघि छिमेकी गाउँ बालाको मुलगाउँसम्म बालिएको थियो । दांखिला र बेतेनीगाउँका स्थानीय भने अँध्यारोमा बस्दै आएका थिए । यो गाउँमा हुनेखानेले सौर्य प्रणाली जडान गरेर बत्ती बाल्दै आएका छन् । न्यून आयस्रोत भएकाहरू अझै धिपधिपे टुकी बालेर बस्छन् । वर्षौंदेखि बिजुली बाल्ने सपना देखेका गाउँले यसपटक सपना पूरा हुने भएपछि जनश्रमदानमा पनि जुट्दै आएका छन् ।

सदरमुकाम खाँदबारी टयाक्टरबाट ल्याइएका सामग्री सडक अभावले हेलिकप्टर चार्टर गरेर दांखिला लगिएको थियो । उपभोक्ताले श्रमदानको भरमा बिजुली जडानका सामान गाउँसम्म लगिसकेका छन् । भरियाले बोक्नै नसक्ने उपकरण हेलिकप्टरबाट गाउँसम्म लगिएको उनले बताए ।त्यस क्षेत्रमा सडक यातायात छैन, उनले भने, ‘सदरमुकामबाट हेलुवाबेंसीसम्म मात्रै यातायात चल्छ’, उनले भने, ‘त्यसपछि भीरको बाटो हिँडेरै जानुपर्छ ।’ बिजुलीको पोल र तार लगायतका सामग्री गाउँ लगिसकिएको छ । केही बाटोमै छन् । सदरमुकामबाट १६ कोष टाढा रहेको दांखिला र बेतेनी गाउँमा विस्तार गर्न लागिएको बिजुलीबाट थप सयभन्दा बढीलाई प्रत्यक्ष राहत मिल्नेछ । केही महिनाभित्र गाउँवासीलाई अँध्यारोबाट मुक्त पार्ने उनले बताए ।

सिलिचोङको २ नम्बर वडाको सबैभन्दा विकट दांखिला र बेतेनी मानिन्छ । सिलिचोङमा विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छैन । स्थानीय स्तरमा उत्पादित बिजुलीको भए पनि पहुँच पुर्‍याउने लक्ष्य लिएका छौं, वडाध्यक्ष मोहनसम्सेर कुलुङले भने, ‘वडाले पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।’

यो बर्ष बिजुली विस्तारका लागि ३० लाख बजेट विनियोजन गरेका छांै, सबै वडावासीको पहुँचमा पुर्‍याउँछाैं, उनले भने, ‘केन्द्रीय प्रसारण कहिले आउँने हो पत्तो छैन ।’ विनियोजित बजेटले सबै काम नभ्याउला तर ऋण खोजेर भए पनि गाउँलेको पहुँचमा बिजुली बाल्ने योजना छ । यसअघि वडा नम्बर २ मा विस्तार गरिएको विद्युतको ‘हाइटेन्सन’ लाइनको पूरै तार फेर्नुपर्ने भएकाले खर्चको बढेको उनले बताए । कमजोर तार राखिएको कारण विद्युत् प्रवाहमा खरावी आएपछि १८ हजार किलोमिटर तार फेरिएको छ । एउटा ट्रान्सफर्मर जलेकोले फेर्नु पर्दा खर्चको क्षेत्र बढेको उ नले बताए ।

सात वर्षअघि सिशुवाखोलाबाट ६० किलोवाट लघुजलविद्युत निकालिएको थियो । त्यो बेला सिलिचोङ १ को सिशुवा र २ को बालाका स्थानीयलाई वितरण गरिएको थियो । वडा नम्बर ३ ताम्कुका केही भागमा पनि बिजुली वितरण गरिएको थियो । यी गाउँका ५ सय बढीले यो बिजुली उपभोग गरिरहेका छन् । यहाँका दुर्गम क्षेत्रहरूमा सानासाना खोलाबाट लघुजलविद्युत उत्पादन गरेर गरेर सेवा लिइरहेका छन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?