कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोकिए गौरवका आयोजना

उत्तर–दक्षिण लोकमार्ग आयोजना, तमोर करिडोर, ताप्लेजुङ–तेह्रथुमको वसन्तपुर हुँदै धरान जोड्ने मदन भण्डारी राजमार्ग रेडबुकबाटै हटाइयो
आनन्द गौतम

ताप्लेजुङ — गौरवको आयोजनाका रूपमा रहेका जिल्लाका मुख्य सडकलाई सरकारले रातो किताबबाट हटाइदिएको छ ।

रोकिए गौरवका आयोजना

सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला हुँदै तिब्बत जोड्ने उत्तरदक्षिण लोकमार्ग आयोजना, सुनसरीको चतराबाट धनकुटाको लेगुवाघाट तेह्रथुमको आठराई पाँचथरको फिदिम नगरपालिका हुँदै ताप्लेजुङ दोभानबाट सदरमुकाम जोड्ने तमोर करिडोरमा सरकारले रातो किताबबाट हटाएको छ ।

यी योजना गत वर्षसम्म केन्द्रीय सरकारअन्तर्गत थिए । सरकारले मदन भण्डारी राजमार्गलाई प्राथमिकताबाट पन्छाएको छ । धरान–धनकुटा–तेह्रथुमको बसन्तपुरबाट ताप्लेजुङको मैवाखोला हुँदै दोभान जोड्ने मदनभण्डारी राजमार्ग पनि रातो कितावमा नपरेको निवर्तमान सांसद डमवरध्वज तुम्वाहाम्फेले बताए ।

केन्द्रबाट प्रदेश सरकार हुँदै आएको बजेटमा सबैभन्दा बढी रकम सुकेटारदेखि पाथीभरा जोड्ने सडकमा देखिएको छ । त्यो पनि २ करोड ५३ लाख । यति रकमले दुई किलोमिटर सडक पनि कालोपत्रे गर्न हम्मे पर्ने ठेक्कापट्टाको काम गरिरहेका ठेकदारहरू बताउँछन् ।

चाँगे–ढुङगेसाँघु–हुँदै गुफा–वसन्तपुर मदनभण्डारी राजमार्गका लागि २ करोड छुट्याइएको छ । उत्तर दक्षिण लोकमार्ग, तमोर करिडोर, मदनभण्डारी राजमार्ग र पाथीभरा सडकको नारा दिएर राजनीतिक दलका उम्मेदवारले स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भोट मागेका थिएए । चुनावमा उम्मेदवारले यी सडक यसै आर्थिक वर्षदेखि कालोपत्रे गर्ने नारा लगाएका थिए ।

केन्द्रीय कार्यक्रमबाट योजना काटिएपछि सदरमुकाम फुङलिङमा रहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाको कार्यालय नै उठ्ने आशंका पूर्वसांसद डम्वरध्वज तुम्वाहाम्फेको छ । उनले प्रश्न गर्दै भने, ‘बजेट नै नभएपछि सरकारले किन राख्छ र कार्यालय ?’ यो कार्यालय तिब्बतसँग सडक जोड्नकै लागि स्थापना गरिएको थियो । स्थापनाको पहिलो वर्ष ८ करोड विनियोजन गरिएको थियो । गत वर्ष बहुवर्षीय ठेक्कामा लगाइएको सडक विस्तारको काम फक्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीमा पुगेको छ । करिव ३७ करोडको लागतमा भइरहेको विस्तार सुकेपानीसम्म पुगे त्यसपछिको काम ठप्प हुने अवस्था सृजना भएको छ ।

यो सडकको विस्तारमा निकै चासो राखेका पूर्वसभासद सञ्चपाल मादेन यो आर्थिक वर्षमा कम्तीमा ओलाङचुङगोला जोड्ने ट्रयाक निर्माणका लागि पुग्ने बजेट र तमोर नदीमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन भए राहत हुने तर सरकारले बेवास्ता गरेको बताउँछन् ।‘रातो कितावमै उल्लेख नभएपछि स्वभावैले सडक अलपत्र अवस्थामा पुग्छ,’ उनले भने, ‘सरकारले यो सडकलाई प्राथमिकतामा राखेको पाइँदैन ।’ पूर्वसांसद तुम्वाहाम्फे वर्तमान सांसदले लविङ गर्न सक्नुपर्ने बताउँछन् । उनले थपे, ‘मैले अगाडि पनि पटपटक भनेको हुँ र अहिले पनि भनिरहेको छु, कर्मचारीदेखि सरकारसम्ममा लविङ गर्नुपर्छ ।’ ठूला तीनैवटा आयोजना काटिनु जिल्लाका लागि दुर्भाग्यपूर्ण भएको गुनासो उनले गरे । ‘मैले बजेट बनाउनेहरूसँग तपाईंहरूले ताप्लेजुङलाई अपमान गर्नुभयो भनेको छु,’ तुम्वाहाम्फेले
भने, ‘यसलाई गम्भीरताका साथ हामीले आवाज उठाउनुपर्छ ।’

तत्कालीन एमाले सचीव योगेश भट्टराईले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका र पार्टीमा पहुँच राख्ने टंक आङवोहाङले प्रदेश सदस्य तथा एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले निर्वाचन जितेकै बेला ठूला आयोजना काटिएपछि प्रतिपक्षीलाई दोस लगाउने राम्रो अवसर मिलेको छ ।कांग्रेस सभापती लिलादेवी वोखिम तिब्बज जोड्ने सडकमा कम्युनिस्ट सरकारले नभएर कांग्रेसले पहल गरेको बताउँछिन् । ‘यो हामीले आरोप लगाएको होइन यथार्थ हो,’ वोखिमले थपिन्, ‘केपी ओली प्रधानमन्त्री हुँदै तिब्बतबाट सडक खन्ने अनुमति पटकपटक मागिएको हो, उहाँले दिनुभएन, पछि कांग्रेसको सरकार आएपछि दिइएको हो ।’

यसको फाइल बोकेर हिँडेका सांसद तुम्वाहाम्फेलाई यथार्थ थाहा भएको बोखिम बताउँछिन् । प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा चाइनिज दूतावासमा लिखत सम्झौता गरेर चीनले स्काइभेटर मेसिन उपलब्ध गराउने सम्झौता भएको र तिब्बतबाट ओलाङचुङगोलासम्म सडकको ट्रयाक खुलेको तत्कालीन क्याबिनेट मन्त्री गगन थापा बताउँछन् ।तमोर करिडोर आठराई त्रिबेणीको फूलवारी रमिते छेउसम्म पुगेको छ भने मदनभण्डारी राजमार्ग ट्रयाकले जोडिए पनि नियमित यातायात सञ्चालनका लागि कठिन छ । सडक राम्रो भए दोभानको तमोर नदीमाथिको पुल निर्माणसँगै यी सडक चल्ने हुन् । पुल भने भदौ २० सम्ममा सक्ने ठेकदार कम्पनीले बताउँदै आएका छन् । तर सडक भने जोडिइसकेका छैनन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?