नगर प्रमुखले पक्षपात गरेको आरोप

कान्तिपुर संवाददाता

रंगेली (मोरङ) — प्रमुख र वडाध्यक्षबीच द्वन्द्वका कारण मोरङको रंगेली नगरपालिकाको र परिषद हुन सकेको छैन । असार मसान्तभित्र गरिसक्नुपर्ने परिषद साउन बित्न लाग्दा पनि अन्योलमा छ ।

नगर प्रमुखले पक्षपात गरेको आरोप

नगर प्रमुखले विकास निर्माणका काममा पक्षपातपूर्ण व्यवहार गरेका वडा अध्यक्ष र सदस्यहरूले आरोप लगाएका छन् ।


नौवटा वडा रहेको नगरका आधाभन्दा बढी वडा अध्यक्षले नगर प्रमुखले आफूखुसी योजना ल्याउने र त्यसलाई वडा अध्यक्षहरूले मान्नुपर्ने दबाब दिने गरेको आरोप लगाएका छन् ।


वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरूले सवै विकास बजेट वडालाई दिनुपर्ने अडान राखेपछि नगरपरिषद हुन नसकेको हो ।


परिषद हुन नसक्दा नगरबाट सञ्चालित करिव ३ करोडभन्दा बढीका विकासका योजना अलपत्र परेका छन् ।


वडा ३ का अध्यक्ष घनश्याम पनेरूले प्रमुखले सबै रकम नगरस्तरीय योजनामा राखेर चुनावी आश्वासन पूरा गर्दै हिँडेको आरोप लगाए ।


‘सबै नगरस्तरीय योजनाहरू आफू निकट राजनीतिक दलबाट जतेका वडाध्यक्षलाई मात्र दिने गरेका छन्,’ पनेरूले भने ‘पक्षपातपूर्ण ढंगले बजेट बाँडफाँड गर्दा र अन्य दलबाट जितेका जन प्रतिनिधिको सम्मान गर्न नसक्दा समस्या भएको हो ।’


वडा ९ का अध्यक्ष केदारचन्द राजवंशीले नगरको केन्द्रीय बजेटमा प्रमुखले काखापाखा गरेको बताए । ‘कस्तो नगर बनाउने भन्ने स्पष्ट योजनाबिनै योजना छनोट गर्नुपर्ने कुरा उचित नभएको हाम्रो भनाइ हो,’ उनले भने ।


अरू राजनीतिक दलवाट जितेका वडा अध्यक्षलाई प्रमुखले सौतेनी व्यवहार गरेको वडा ४ का अध्यक्ष भुपेन्द्र मण्डलले गुनासो गरे । ‘अरू दलबाट जितेकाको पनि सम्मान हुनुपर्छ,’ उनले भने, ‘पक्षपाती व्यवहार अन्त्य र समानुपातिक बजेट बाँडफाँड नभएसम्म नगरपरिषद हुने स्थिति छैन ।’


आफूहरूलाई कोरम पुर्‍याउन सही गर्ने माध्यम मात्र बनाइएको कार्यपालिका सदस्य शंकरप्रसाद साहले बताए ।


नगर प्रमुख दिलिपकुमार अग्रवालले वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले सबै बजेट वडामा पठाएर वडा स्तरीय योजनामात्र सञ्चालन गर्न दबाब दिएकाले समस्या भएको दाबी गरे ।


कार्यपालिकामा नेकपाको ६ कांग्रेसको ७ र संघीय समाजवादी फोरमका ६ सदस्य छन् । कार्यपालिकामा कांग्रेस र फोरमको तालमेल छ ।

प्रकाशित : श्रावण २६, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?